रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

एएफपी

मस्को — रुसी राजधानी मस्कोमा गैरकानुनी विरोध प्रदर्शन गरेको आरोपमा ४ साताअघि पक्राउ परेका विपक्षी नेता एलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन् ।

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका नाभाल्नीले पत्रकारहरूसँग कुरा गर्दै आफू ३० दिनदेखि थुनिएको घटनाले ‘राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्ण रूपमा पतनको स्थितिमा पुगेको’ दाबी गरे ।


नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको बताए । उनले भने,‘देशमा पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको छ ।’ उनले रुसको राजनीतिमा आफूलाई कसैले तर्साउन नसक्ने बताए । नाभाल्नीले भने,‘कोहीले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापी सम्भव छैन ।’


नाभाल्नीलाई सत्ताको विरोधमा गरिएको प्रदर्शनको अगुवाइ गरेको अभियोगमा गत सेप्टेम्बरमा ३० दिन थुनामा राखिएको थियो । तर, थुनामुक्त भएलगत्तै अर्को प्रदर्शनको अभियोगमा प्रहरीले उनलाई पुन: गिरफ्तार गरेको थियो । अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो ।


रुसी राष्ट्रपतिका पछिल्ला कार्यक्रम र नीतिप्रति आमजनतामा व्यापक असन्तुष्टि रहनुका साथै लोकप्रियतासमेत खस्किएको जनाइएको छ । गत महिना रुसमा सम्पन्न दुईवटा क्षेत्रीय चुनावमा समेत सत्तारूढ युनाइटेड रसिया पार्टी पराजित भएको थियो ।


रुसी अधिकारीले नाभाल्नीमाथि फौजदारी मुद्दा लगाउन सक्ने उनका समर्थकहरूले आशंका गरेका छन् । यस्तो अवस्थामा नाभाल्नीमाथि लामो काराबास सजाय हुन सक्नेछ ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले ‘नाभाल्नी आस्थाका बन्दी रहेको तथा उनले कुनै पनि अपराध नगरेको’ जनाएको छ । नाभाल्नी सन् २०११ र २०१२ मा राष्ट्रपति पुटिनको विरोधमा देशव्यापी विरोध प्रदर्शन गरेपछि चर्चामा आएका थिए ।


नाभाल्नीले संसदीय चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । साथै उनले रुसमा भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका छन् । अभियानमा युवाहरूको व्यापक सक्रियता र समर्थन छ ।


उनलाई थुनामा राखिएपछि उनकी १७ वर्षीया छोरी डारियाले युट्युबमा सञ्चालन गरेको ‘मेरो पिंढीको आवाज’ नामक कार्यक्रम लोकप्रिय बन्दै गएको छ । गत मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनविरुद्धमा उठ्न नाभाल्नीलाई रोक लगाइएको थियो ।


पुटिनको राष्ट्रपति पदका लागि चौथो कार्यकालका लागि शपथग्रहण हुँदा समेत उनले विरोध प्रदर्शन गरेका थिए । नाभाल्नीले अमेरिकाको येल विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका हुन् । छोटो समयमा प्रमुख विपक्षी नेताको रूपमा उदाएका नाभाल्नी लोकप्रियता बढ्दै गएपछि सत्तापक्षले एकपछि अर्को आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : आश्विन २८, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?