दुबईमा रामसार सम्मेलन सुरु 

अब्दुल्लाह मियाँ

दुबई, यूएई — रामसारसम्बन्धी महासन्धिका पक्ष मुलुकहरुको १३ औं सम्मेलन (कोप १३) यूएईको दुबईमा सुरु भएको छ । 'सहरको दिगो विकासका लागि सिमसार' भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईलगायत सहभागी छन् ।

दुबईमा रामसार सम्मेलन सुरु 

इरानको रामसार भन्ने सहरमा सन् १९७१ को फेब्रुअरी २ मा पहिलो बैठक सम्मेलन गरी महासन्धिमा हस्ताक्षर भएकाले यसको नाम रामसार रहेको हो । विश्वभरका सिमसारको संरक्षण गर्न यो महासन्धि आएको हो । नेपालले सन् १९८८ देदि यो महासन्धिलाई कार्यान्वयन गरेको हो ।


हरेक तीन वर्षमा पक्ष मुलुकहरुको सम्मेलन हुने गरेको छ । अघिल्लो सम्मेलन तीन वर्षअघि उरुग्वेमा भएको थियो । रामसारमा नेपालका १० स्थान सुचीकृत भएका छन् । दुई वर्षअघि पोखराको फेवा, बेगनास, रुपालगायत ९ वटा ताल रामसारमा सूचीकृत भएको हो । यसअघि रसुवाको गोसाइँकुण्ड, चितवनको बिसहजारी, कैलालीको घोडाघोडी, सोलुखुम्बुको गोक्यो, कपिलवस्तुको जगदीशपुर, इलामको माईपोखरी, मुगुको रारा र डोल्पाको फोक्सुन्डो ताल रामसारमा सूचीकृत भएका थिए ।


एक सय ७० देश यसका सदस्य मुलुक छन् । यीनले ६० हजार ५ सय ६१ हेक्टर ओगटेको छ । ती देशका २ हजार ३ सय ३१ स्थान रामसारमा सूचीकृत छन् । बेलायतमा सबभन्दा बढी स्थान सूचीकृत छन् । सम्मेलनमा विश्वभर भएका सिमसारको संरक्षणमा देखा परेका चुनौती, तीनेका उपादेयता र दिगो संरक्षणबारे छलफल भइरहेको छ । जीपिकोपार्जनका कार्यक्रम अघि बढाउन, पर्यापर्यटन प्रवर्द्धन गर्न तथा वन्यजन्तु र चराचुरुंगीको विचरण र संरक्षणका लागि सिमसारले महत्वपूर्ण भूमिका खेलेका छन् ।

प्रकाशित : कार्तिक ४, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?