बाल यौन दुराचार प्रकरण : अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पीडितसँग राष्ट्रिय रुपमा क्षमायाचना

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार यौन दुराचारबाट पीडित बनेका नागरिकहरु समक्ष राष्ट्रिय रुपमा सार्वजनिक क्षमा मागेका छन् । अष्ट्रेलियामा दशकौंअघि बिद्यालय, चर्च लगायतका संस्थाहरुमा भएका यौन दुराचारको घटनालाई लिएर पीडित समक्ष प्रधानमन्त्री मरिसनले राष्ट्रको तर्फबाट क्षमा मागेका हुन् ।

बाल यौन दुराचार प्रकरण : अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पीडितसँग राष्ट्रिय रुपमा क्षमायाचना

क्यानबेरामा रहेको संसद भवनमा पीडितहरु समेत सहभागी कार्यक्रममा मरिसनले आफूहरुले पीडितहरुको पीडा सुन्न, विश्वास गर्न र न्याय दिन असफल भएको बताउँदै क्षमा गरिदिन आग्रह गरेका थिए ।


उक्त कार्यक्रममा विपक्षी दलका लेबरका नेता बिल सर्टनले समेत पीडितहरु समक्ष सार्वजनिक रुपमा माफी मागेका थिए । मााफी माग्ने क्रममा प्रधानमन्त्रीका साथै अन्य नेताहरु भावुक समेत बनेका थिए ।


अष्ट्रेलियामा रहेका यस्ता संस्थाहरुमा बालिबालिकाहरुलाई यौन दुराचार भएको पीडितहरुले सार्वजनिक गरेपछि सरकारले रोयल कमिसन स्थापना गरेको थियो । रोयल कमिसनले लामो समयको अध्ययन र अनुसन्धानपछि सरकारलाई बिभिन्न सुझावहरु दिएको थियो ।


सोही सुझावका आधारमा राष्ट्रको तर्फबाट प्रधानमन्त्रीले क्षमा मागेका हुन् । अनुसन्धानका क्रममा कमिसनले २५ हजार बढी पत्र र ४० हजार बढी फोनकल पीडितहरुबाट प्राप्त गरेको थियो । अनुसन्धानपछि कमिसनले दिएको १ सय २२ वटा सुझावहरुमध्ये सरकारले १ सय ४ वटा सुझावलाई स्वीकार गरेको थियो ।


अष्ट्रेलियाले बालयौन दुराचारबाट पीडित भएकाहरुलाई न्याय दिलाउने उद्देश्यले केही महिनाअघि नै ‘नेशनल रिड्रेस स्किम’ नै लागु गरेको छ । उक्त योजनाबाट पीडितहरुलाई न्याय दिलाउनुका साथै त्यस्ता संस्थाहरुलाई जिम्मेवार तुल्याउने उद्देश्य राखेको छ । १० वर्षसम्म चल्ने यस योजनाबाट पीडितहरुलाई आर्थिकका साथै विभिन्न सहयोगहरु पुर्‍याउने बताइएको छ । अष्ट्रेलियामा विभिन्न संस्थाहरुबाट यौन दुराचारबाट पीडित बनेका र दुराचारबाट बाँच्न सफल भएका हजारौं रहेको तथ्यांक छ ।


अष्ट्रेलियाको संसदमा नियमित हुने प्रश्नसत्र समेत बालयौन दुराचारबाट पीडित तथा बाँच्न सफल भएकाहरुको सम्मानमा आज स्थगित गरिएको छ । यस पहिले पनि वर्षौं अघि यहाँका आदिवासी जनताहरुको चोरी गरिएका पीढीहरुसँग तत्कालिन प्रधानमन्त्री केभिन रडले करिब एक दशकअघि यसरी नै राष्ट्रिय रुपमा माफी मागेका थिए ।


तस्बिर स्रोत: एबिसी


प्रकाशित : कार्तिक ५, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?