वायु प्रदुषणले बर्सेनि ६ लाख बालबालिकाको मृत्यु
जेनेभा — हरेक वर्ष विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदुषणका कारण हरेक वर्ष १५ वर्षमुनिका ६ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।
संगठनका अनुसार पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या हुने गरेको छ ।
प्रदुषणका कारण वार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्यांक सन् २०१६ को भएको समाचारमा जनाइएको छ ।
'यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ श्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,' डब्लुएचओले भनेको छ ।
तथ्यांक अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित श्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक वर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुने गरेको छ ।
वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।
वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
–––
प्रकाशित : कार्तिक १३, २०७५ १०:४३