कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किन हराए गोर्खाल्यान्डका विमल गुरुङ ? 

लोकसभा चुनावअघि दार्जिलिङ उकाल्ने भाजपा योजना
पर्वत पाेर्तेल

सिलगढी, भारत — पश्चिम बंगालको हिमाली जिल्ला दार्जिलिङलाई अलग प्रान्त बनाउने माग उठेको शताब्दी अघिदेखि नै हो । कुनै समय दिवंगत नेता सुवास घिसिङले ‘गोर्खाल्याड’ नामकरण गरेर आन्दोलनको अगुवाइ गरेका थिए । 

किन हराए गोर्खाल्यान्डका विमल गुरुङ ? 

दशकयता गोर्खा जनमुक्ति नामको पार्टी बनाएरै विमल गुरुङले यो आन्दोलनको नेतृत्व गरेका थिए । तर, करिब दुई वर्षयता विमल आन्दोलनको मोर्चामा त छैनन् नै, आफैं पनि बेपत्ता छन् । विमलको स्थान उनकै निकट मानिने विनय तामाङको कब्जामा छ ।


त्यस भए विमलचाहिँ कहाँ होलान् ? बन्दी पो बनाएर राखेको छ कि ? यस्ता तमाम जिज्ञासा उब्जिएका छन् । विमलको अवस्थाबारे दार्जिलिङवासी तथा गोर्खाल्याडका समर्थक बेखबर छन् । दिल्लीमा छन् कि भन्ने पनि अनुमान पनि छ । नेपालमा लुकेर बसेको हल्ला पनि फैलियो । पश्चिम बंगाल सरकारको गुप्तचर विभागले चाहिँ विमलसहितका अगुवा नेता दिल्लीमा रहेको दाबी गरेको छ ।


लामो समय पूर्णरूपमा ‘भूमिगत’ बनेका विमल गएको महिना दिनयता भने सञ्चारमाध्यमहरुमा आउन थालेका छन् । गत वर्ष प्रहरी हिरासतमा मारिएका कालिम्पोङ नगरपालिकाका पार्षद वरुण भुजेलको वार्षिकीको सन्दर्भमा गोप्य स्थानमा आयोजित श्रद्धाञ्जली सभामा उनी देखा परे । विभिन्न सञ्चारमाध्यमहरुलाई यति बेला उनले अडियो, भिडियो क्लिप तथा विज्ञप्तिहरु पठाइरहेका छन् । गुप्चतर स्रोत भन्छ, ‘विमलसहितका नेता सत्तारूढ भाजपाको संरक्षणमा छन् ।’


केही समयअघि दार्जिलिङका भाजपा सांसद सुरिन्दर सिंह आहलुवालियाले विमललाई राज्य सरकारले ‘हत्या’ प्रयास गरिरहेको आरोप लगाएका थिए । उनको यो आरोपपछि राज्य सरकारले विमल केन्द्र सरकारकै संरक्षण रहेको अनुमान गरेको थियो ।


किन हराए विमल ?

पश्चिम बंगाल सरकारले कक्षा १ देखि १० सम्म राज्यका सबै शैक्षिक संस्थामा बंगला भाषा अनिवार्य गर्ने निर्णय गरेपछि ८ जुन २०१६, बाट दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएको थियो । आन्दोलनको नेतृत्व गोर्खा जनमुक्ति मोर्चा र यसका अध्यक्ष विमलले गरेका थिए । करिब १ सय ४ दिनसम्म चर्किएका आन्दोलनमा १२ जना जति सर्वसाधारणले ज्यान गुमाउनुपर्‍यो ।


यो विरोध सभालाई अग्रमोर्चामा रहेर नेतृत्व गरेका विमल त्यसपछि लगातार चर्किएको हिंसात्मक आन्दोलनपछि भने प्राय: बेपत्ता बनेका थिए । खासमा राज्य सरकारले उनलाई मदन तामाङ हत्या काण्डदेखि दार्जिलिङको लेप्चाबस्ती घटना र त्यसमा मारिएका प्रहरीको मुद्दा लगाएको छ ।


जसका कारण आन्दोलनकै समय उनी पक्राउ पर्ने सम्भावना थियो । आफू पक्राउ पर्ने डरले यिनी सिक्किममा आश्रय लिएर बसे । त्यही पुगेर प्रहरीले पक्राउ गर्न खोज्यो । तर, उम्किए ।


एकाथरी समर्थकले आन्दोलनको मोर्चा छाडेर विमल भागेको आरोप लगाए । यी आरोपीहरुको नेतृत्वकर्ता थिए, विमलकै विश्वासपात्र मानिने विनय तामाङ । विमल आन्दोलन छाडेर भागेको भन्दै उनले राज्य सरकारसँग घुँडा टेकेका थिए ।


‘राज्य सरकारले विमललाई लखेटिरह्यो, उनका विश्वासपात्रलाई हातमा लिएर आन्दोलन नै समाप्त पारिदियो,’ गोर्खाल्यान्ड आन्दोलनलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक सीके श्रेष्ठले भने ।


स्वार्थ चुनावको

राज्य सरकारले आगामी लोकसभा चुनावलाई लक्षित गर्दै विमललाई योजनाबद्ध ढंगबाट लखेटेको विश्लेषकहरुको भनाइ छ । राज्यबाट लखेटिएका उनलाई केन्द्रले संरक्षणमा राखेको छ । केन्द्रको स्वार्थ पनि उही छ, चुनाव । विमललाई दार्जिलिङमा पुन:स्थापित गर्ने योजनामा केन्द्र सरकार छ ।


किनभने आगामी वर्ष हुने निर्वाचनमा भाजपाले दार्जिलिङ हत्याउनु छ । दार्जिलिङ विगतदेखि नै भाजपाको ‘सेफ सिट’ हो । जशवन्त सिंह र आहलवालियाले मोर्चाको समर्थनमा जितेका थिए । रोचक के भने जुन सुकै केन्द्रीय दललाई सिट हत्याउन दार्जिलिङका दलहरुको समर्थन अनिवार्य नै हुन्छ ।


खासगरी गोजमुमोको मत निर्णायक हुने गरेको छ । सुवास घिसिङ पुत्र मनले नेतृत्व गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विगतदेखि नै राज्यसँग निकट सम्वन्ध राख्दै आएको छ । उसले ममता वेनर्जीको दल तृणमूल कंग्रेसलाई समर्थक गर्ने पक्का छ । मोर्चाले सधैं भाजपाको पक्ष लिँदै आएको छ । गोर्खाल्यान्ड मागप्रति भाजपा सकारात्मक रहेको नेताहरु बताउँछन् । यद्यपि दार्जिलिङबाट जितेर जाने सांसदहरुले अहिलेसम्म गोखाल्यान्डको पक्षमा कुनै ठोस पहलकदमी गरेको देखिन्न ।


यसपटक दार्जिलिङको राजनीतिक माहोल अलि जटिल छ, विगतजस्तो सहज छैन विगतमा गोजमुमो एक ढिक्का थियो । अलि टुक्रिएको छ । विनय तामाङ, अनित थापालगायतले एउटा गुट नेतृत्व गरेका छन् ।


यही गुटले गोर्खाल्यान्ड टेरेटोरियल एडमनिस्ट्रेसनको समेत कुर्सी सम्हालिरहेको छ । संस्थापन गुटमा विमल, रोशन गिरी, रमेश आले, लोपसाङ लामा आदि नेता छन् । राज्य सरकारले विनयकै गुटलाई मोर्चाको आधिकारिक दल ठानेको छ । राज्य सरकारको प्रहरी सूचीमा विमलसहितका यी नेता फरार सूचीमा छन् ।


सिलगढीवाट प्रकाशित हुने विभिन्न नेपाली अखबारहरुका अनुसार भाजपाले चुनावअघि नै विमललाई दार्जिलिङ चढाउने योजना बुनेको छ । भाजपाका दार्जिलिङ अध्यक्ष मनोज देवानका अनुसार भाजपाले विमल गुटको मोर्चासँग मिलेर चुनाव लड्ने निश्चित छ । ‘विमल गुटसँग अर्को गुटको भन्दा समर्थक बढी छन्,’ देवानले भने, ‘त्यही भएर उनीहरुकै समर्थनमा भाजपाले चुनाव लड्छ ।’

प्रकाशित : कार्तिक १३, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?