फेरि चर्किंदै गोर्खाल्यान्ड

लामो समयदेखि भूमिगत विमल गुरुङ सञ्चारमाध्यममा आउन थालेपछि आन्दोलन चर्काउने तयारी
पर्वत पोर्तेल

सिलगढी, भारत — पश्चिम बंगालको हिमाली जिल्ला दार्जिलिङलाई अलग प्रान्त बनाउने माग उठेको शताब्दी अघिदेखि नै हो । कुनै समय दिवंगत नेता सुवास घिसिङले ‘गोर्खाल्यान्ड’ नामकरण गरेर आन्दोलनको अगुवाइ गरेका थिए  ।

फेरि चर्किंदै गोर्खाल्यान्ड

दशकयता गोर्खा जनमुक्ति नामको पार्टी बनाएरै विमल गुरुङले यो आन्दोलनको नेतृत्व गरेका थिए । तर, करिब दुई वर्षयता विमल आन्दोलनको मोर्चामा त छैनन् नै, आफैं पनि बेपत्ता छन् । विमलको स्थान उनकै निकट मानिने विनय तामाङको कब्जामा छ ।

त्यसो भए विमलचाहिँ कहाँ होलान् ? बन्दी पो बनाएर राखेको छ कि ? यस्ता तमाम जिज्ञासा उब्जिएका छन् । विमलको अवस्थाबारे दार्जिलिङवासी तथा गोर्खाल्यान्डका समर्थक बेखबर छन् । दिल्लीमा छन् कि भन्ने अनुमान पनि छ । नेपालमा लुकेर बसेको हल्ला पनि फैलियो । पश्चिम बंगाल सरकारको गुप्तचर विभागले चाहिँ विमलसहितका अगुवा नेता दिल्लीमा रहेको दाबी गरेको छ ।

लामो समय पूर्णरूपमा ‘भूमिगत’ बनेका विमल गएको महिना दिनयता भने सञ्चारमाध्यमहरूमा आउन थालेका छन् । गत वर्ष प्रहरी हिरासतमा मारिएका कालिम्पोङ नगरपालिकाका पार्षद वरुण भुजेलको वार्षिकीको सन्दर्भमा गोप्य स्थानमा आयोजित श्रद्धाञ्जली सभामा उनी देखा परे ।

विभिन्न सञ्चारमाध्यमहरूलाई यति बेला उनले अडियो, भिडियो क्लिप तथा विज्ञप्तिहरू पठाइरहेका छन् । गुप्चतर स्रोत भन्छ, ‘विमलसहितका नेता सत्तारूढ भाजपाको संरक्षणमा छन् ।’

केही समयअघि दार्जिलिङका भाजपा सांसद सुरिन्दर सिंह आहलुवालियाले विमललाई राज्य सरकारले ‘हत्या’ प्रयास गरिरहेको आरोप लगाएका थिए । उनको यो आरोपपछि राज्य सरकारले विमल केन्द्र सरकारकै संरक्षणमा रहेको अनुमान गरेको थियो ।

किन हराए विमल ?
पश्चिम बंगाल सरकारले कक्षा १ देखि १० सम्म राज्यका सबै शैक्षिक संस्थामा बंगला भाषा अनिवार्य गर्ने निर्णय गरेपछि ८ जुन २०१६, बाट दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएको थियो । आन्दोलनको नेतृत्व गोर्खा जनमुक्ति मोर्चा र यसका अध्यक्ष विमलले गरेका थिए । करिब १ सय ४ दिनसम्म चर्किएको आन्दोलनमा १२ जना जति सर्वसाधारणले ज्यान गुमाउनुपर्‍यो । यो विरोध सभालाई अग्रमोर्चामा रहेर नेतृत्व गरेका विमल त्यसपछि लगातार चर्किएको हिंसात्मक आन्दोलनपछि भने प्राय: बेपत्ता बनेका थिए । खासमा राज्य सरकारले उनलाई मदन तामाङ हत्या काण्डदेखि दार्जिलिङको लेप्चाबस्ती घटना र त्यसमा मारिएका प्रहरीको मुद्दा लगाएको छ ।

एकाथरी समर्थकले आन्दोलनको मोर्चा छाडेर विमल भागेको आरोप लगाए । यी आरोपीहरूको नेतृत्वकर्ता थिए, विमलकै विश्वासपात्र मानिने विनय तामाङ । विमल आन्दोलन छाडेर भागेको भन्दै उनले राज्य सरकारसँग घुँडा टेकेका थिए । ‘राज्य सरकारले विमललाई लखेटिरह्यो, उनका विश्वासपात्रलाई हातमा लिएर आन्दोलन नै समाप्त पारिदियो,’ गोर्खाल्यान्ड आन्दोलनलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक सीके श्रेष्ठले भने ।

स्वार्थ चुनावको
राज्य सरकारले आगामी लोकसभा चुनावलाई लक्षित गर्दै विमललाई योजनाबद्ध ढंगबाट लखेटेको विश्लेषकहरूको भनाइ छ । राज्यबाट लखेटिएका उनलाई केन्द्रले संरक्षणमा राखेको छ । केन्द्रको स्वार्थ पनि उही छ, चुनाव । विमललाई दार्जिलिङमा पुन:स्थापित गर्ने योजनामा केन्द्र सरकार छ । दार्जिलिङ विगतदेखि नै भाजपाको ‘सेफ सिट’ हो । जशवन्त सिंह र आहलवालियाले मोर्चाको समर्थनमा जितेका थिए । रोचक के भने जुन सुकै केन्द्रीय दललाई सिट हत्याउन दार्जिलिङका दलहरूको समर्थन अनिवार्य नै हुन्छ ।

खासगरी गोजमुमोको मत निर्णायक हुने गरेको छ । सुवास घिसिङ पुत्र मनले नेतृत्व गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विगतदेखि नै राज्यसँग निकट सम्वन्ध राख्दै आएको छ । उसले ममता वेनर्जीको दल तृणमूल कंग्रेसलाई समर्थक गर्ने पक्का छ । मोर्चाले सधैं भाजपाको पक्ष लिँदै आएको छ । गोर्खाल्यान्ड मागप्रति भाजपा सकारात्मक रहेको नेताहरू बताउँछन् ।

यसपटक दार्जिलिङको राजनीतिक माहोल अलि जटिल छ, विगतजस्तो सहज छैन विगतमा गोजमुमो एक ढिक्का थियो । अलि टुक्रिएको छ । विनय तामाङ, अनित थापालगायतले एउटा गुट नेतृत्व गरेका छन् । यही गुटले गोर्खाल्यान्ड टेरेटोरियल एड्मिनिस्ट्रेसनको समेत कुर्सी सम्हालिरहेको छ । संस्थापन गुटमा विमल, रोशन गिरी, रमेश आले, लोपसाङ लामा आदि नेता छन् ।

प्रकाशित : कार्तिक १४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?