अस्पतालमै बिरामी बन्धक

उपचारपछि डिस्चार्ज गर्न योग्य भइसके पनि बिल नतिर्ने बिरामीलाई अस्पतालभित्रै थुन्ने, सशस्त्र सुरक्षाकर्मीको निगरानीमा राख्ने र कतिपय अवस्थामा साङ्लोसमेत लगाइदिने गरेको पाइएको छ  । कतिसम्म भने, बिरामीको मृत्यु हुँदासमेत शव लैजान पाइन्न  ।
एपी

नैरोबी — पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो अस्पताल हो केन्याको केन्याट्टा नेसनल हस्पिटल । यहाँ अन्तर्राष्ट्रिय दाताको सहयोगमा दर्जनौं परियोजना सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि यो अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ भनेको छ ।

अस्पतालमै बिरामी बन्धक

अस्पतालको वेबसाइटमा गर्वका साथ भनिएको छ, ‘हामी सुन्दछौं ...हामी तपाईंको सेवामा छौं ।’ वेबसाइटमा मुस्कुराइरहेका चिकित्सक, खोप अभियान र पुरस्कार वितरण समारोहमा सुनौला ट्रफी उचालेका कर्मचारीका तस्बिर राखिएका छन् ।

तर, यी तस्बिरमा एक वर्षअघि लुटपाटको घटनामा गोली लागेर पक्षाघात भएका रबर्ट वान्योन्यीको तस्बिर छैन । केन्याट्टाले रबर्टलाई अस्पताल छाड्न दिएको छैन किनभने उनले अस्पतालको बिल करिब ४० लाख केन्याली सिलिङ (३९ लाख ५ सय ७० अमेरिकी डलर) तिर्न सकेका छैनन् । उनी चौथो तलाको शय्यामा बन्धक बनाइएका छन् । भारतीय डाक्टरले आफूलाई निको पार्न सक्ने आशा उनमा छ । तर निस्कन पाएका छैनन् ।

उपचारपछि डिस्चार्ज गर्न योग्य भइसके पनि बिल नतिर्ने बिरामीलाई अस्पतालभित्रै थुन्ने, सशस्त्र सुरक्षाकर्मीको निगरानीमा राख्ने र कतिपय अवस्थामा साङ्लोसमेत लगाइदिने गरेको पाइएको छ । कतिपय अवस्थामा आमा र बालबच्चालाई अलग्याइने गरिएको पाइन्छ ।

कतिसम्म भने, बिरामीको मृत्यु हुँदासमेत शव लैजान पाइन्न । केन्याली अस्पताल र शवगृहमा त्यस्ता सयौं शव अलपत्र छन् । सरकारी अधिकारीका अनुसार, अस्पतालको बिल भुक्तानी नगर्दासम्म ती शव परिवारले लैजान पाउँदैनन् ।

दर्जनौं चिकित्सक, नर्स, स्वास्थ्य क्षेत्रका विज्ञ, बिरामी र अस्पतालका प्रशासकले विश्वका कम्तीमा ३० वटा मुलुकमा यस्तो निकृष्ट प्रचलन रहेको एपीलाई बताए । नाइजेरिया, कंगो, चीन, थाइल्यान्ड, लिथुआनिया र बुल्गेरियासहित दक्षिण अमेरिका र मध्यपूर्वका अस्पतालमा बिरामीलाई बन्धक बनाउने गरेको पाइएको छ । अनुसन्धानका क्रममा एसिया र उप–सहारा अफ्रिकाका १४ देशमा बिरामीलाई कब्जामा राखिएका ६० भन्दा बढी समाचार प्रकाशन भएको पाइएको थियो ।

हार्भर्ड ग्लोबल हेल्थ इन्स्टिच्यटका निर्देशक डा. आशिष झाले यो संवेदनशील विषयमा जति गहिरो रूपमा अध्ययन गर्‍यो त्यति बढी समस्या देखिने गरेको बताए । यो समस्याबाट विश्वभर लाखौं मानिस प्रभावित भइरहेको उनको भनाइ छ । झाले भने, ‘यो समस्या थोरै मुलुकमा मात्र भइरहेको भन्ने हैन, यसलाई कसैले पनि राम्रोसँग ध्यान दिएकै छैन र सार्वजनिक जनस्वास्थ्यको राडारबाट यो विषय छुटेको छ ।’

केन्याट्टा नेसनल हस्पिटलमा एपीका संवाददाता पटकपटक भ्रमण गर्दा सैनिक पोसाकका सशस्त्र सुरक्षाकर्मी बिरामीनजिक उभिएको पाइएको थियो । कतिपय बिरामी सुरक्षा घेराभित्र भुइँमै ओछ्यान लगाएर सुतेका थिए । एकजना बाबुलाई आफ्नो छोरा भेट्नसमेत गार्डले रोकेका थिए । केही वर्षअघि अदालतले बिरामीलाई बन्धक बनाउनु गैरकानुनी भनी आदेश दिए पनि यहाँ त्यो कार्यान्वयन भएको छैन ।

स्वास्थ्य विज्ञले अस्पतालले बिरामी बन्धक बनाउनु मानवअधिकारको उल्लंघन रहेको बताएका छन् । तैपनि संयुक्त राष्ट्रसंघ, अमेरिका र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था, दाता र परोपकारी संस्थाहरू सबै यो मामिलामा चुपचाप छन् । यी संस्थाले स्वास्थ्य प्रणालीमा सुधार ल्याउन वा एड्स र औलोजस्ता रोगको प्रकोप हुन नदिन अर्बौं डलर खर्च गरे पनि यी विषयमा पर्याप्त ध्यान पुगेको छैन ।

क्विन म्यारी विश्वविद्यालय, लन्डनमा कार्यरत सोफी हार्मनले यो प्रवृत्ति स्वास्थ्य क्षेत्रकै जघन्य कुकर्म भएको उल्लेख गर्दै यस बारेमा कोही पनि कुरा गर्न तयार नरहेको बताइन् । ‘बिरामीलाई कैदीझैं राखिएको कुरा मानिसलाई थाहा हुन्छ, तर उनीहरू नि:सहाय हुन्छन्, उनीहरूमा लड्ने क्षमता हुन्न । त्यसैले उनीहरू जेजस्तो पनि सहन बाध्य हुन्छन्,’ उनले भनिन् ।

कतिपय विज्ञको तर्क छ, दशकौंअघि विश्व बैंक, विश्व स्वास्थ्य संगठन, युनिसेफ र अरू निकायले विकासशील मुलुकलाई ऋण दिँदा राखेका सर्तका कारण यस्तो समस्या आएको हो । उनीहरूले मेडिकल सेवाका लागि बिरामीसँग पैसा उठाउनुपर्ने सर्त राखेका थिए । गरिब जनताको स्वास्थ्य सुरक्षामा पर्याप्त बन्दोबस्त नै नगरी अघि सारिएको यो नीतिको आडमा बिरामीबाट जति पनि रकम असुल्न सकिने स्थिति उत्पन्न भएको उनीहरूको भनाइ छ ।

यो अभ्यास कमजोर र स्वास्थ्यमा कम लगानी गरिरहेका मुलुकमा बढी देखिन्छ । तर यो समस्या धनी राष्ट्रमा पनि देखिन थालेको छ । भारत, थाइल्यान्ड, चीन र इरानसमेतका कतिपय देशमा बिरामीलाई अस्पतालले बन्धक बनाउने क्रम बढेको छ ।

धेरै मुलुकमा स्वास्थ्य सेवाबापतको रकम तिर्न नसक्ने बिरामीलाई सरकारी अस्पतालमा पठाइन्छ । क्यामरुनसहितका केही देशका अस्पतालमा अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था छ । बिरामीलाई बन्धक बनाउँदा यो लाभकारी हुँदैन भन्ने कुरा अस्पताललाई राम्रैसँग थाहा छ । तर यो विधिले केही रकम उठेको सम्बन्धित अस्पताल व्यवस्थापनको भनाइ छ ।

विकसित मुलुकका अस्पतालझैं अफ्रिकाका अस्पतालले बिरामीलाई खाना, कपडा वा बेड दिंँदैनन् । त्यसैले बिरामीलाई बन्धक बनाउँदा पनि अस्पतालको खासै खर्च हुँदैन । बन्धक बनाइएका बिरामीलाई उनीहरूका आफन्तले नै खुवाउनुपर्छ । परिवारका सदस्य नभएका बिरामीले भने कर्मचारी वा अरू बिरामीसँग भीख माग्नुको विकल्प हुँदैन ।

नैरोबीबाट करिब ३०० किमि टाढाको मोई शिक्षण अस्पतालमा कार्यरत डा. फेस्टस एन्जुगुनाले आफ्नो अस्पतालले क्यान्सर पीडित बालबालिकालाई उपचारपछि पनि लामो समय राख्ने गरेको बताए । उनका अनुसार बाबुआमाले उपचार खर्च भुक्तानी गर्न नसकेको अवस्थामा बच्चालाई महिनौंसम्म अस्पतालमा राख्ने गरिएको छ ।

कतिपय अधिकारीले खुलेरै यो अभ्यासको समर्थन गरेका छन् । ‘पैसा भुक्तानी नगरी बिरामीलाई छाड्न सकिन्न,’ कंगोको काटुबु रिफरेन्स अस्पतालका प्रशासक लिडी न्येम्बो–मुगालुले भने । बिरामीलाई पैसा भुक्तानी नगर्दासम्म अस्पतालमा राखिरहनु मानवअधिकारको विषय नै होइन भन्दै उनले यो एक प्रकारको व्यवसाय पनि रहेको उल्लेख गरे ।

केन्याट्टासमेतका धेरै केन्याली अस्पतालका अधिकारी कोरिडोरमा राइफल बोकेर बिरामीको निगरानी गरिरहेका हुन्छन् । अस्पतालको प्रवेशद्वारमा हतियारधारी सुरक्षाकर्मी हुन्छन् । बिरामीले बाहिर निस्कँदा अस्पतालका सुरक्षाकर्मीलाई डिस्चार्ज कागजात देखाउनुपर्छ । कतिपय अवस्थामा बिरामी भेट्न आउने व्यक्तिले समेत आफ्नो परिचयपत्र सुरक्षाकर्मीलाई बुझाउनुपर्छ ।

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?