कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आसिया बिबी मुद्दा : फैसलापछि तात्यो पाकिस्तान

एजेन्सी

इस्लामाबाद — पाकिस्तानको एक अदालतले इस्लाम धर्मको निन्दा गरेको ठहर गर्दै २०१० मा एक इशाई महिलालाई मृत्युदण्डको फैसला सुनायो  । अदालतले आसिया बिबीलाई झुन्डाएर मृत्युदण्ड दिने आदेश दिएको थियो  ।

आसिया बिबी मुद्दा : फैसलापछि तात्यो पाकिस्तान

तर पाकिस्तानको सर्वोच्च अदालतले गत बुधबार उनीविरुद्ध प्रमाण नपुगेको भन्दै सफाइ दिएपछि पाकिस्तानमा आन्दोलन सुरु भएको छ । उनको सन् २००९ मा सहकर्मी मुस्लिम महिलामाथि विवाद भएको थियो । बिबीले मुस्लिम महिलाको पानीको कप छोएको निहुँमा झगडा भएपछि उनीविरुद्ध प्रोफेट मोहम्मदलाई अपमान गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।


पाकिस्तानको इस्लामिक राजनीतिक संगठन ‘तहरिक–ए–लब्बैक’ ले राजधानी लगायतका विभिन्न स्थानमा ३ दिनदेखिको विरोध प्रदर्शन थप चर्काएको छ । प्रदर्शनकारीहरूले पाकिस्तानका मुख्यमुख्य सहरमा यातायात अवरुद्ध पारेका छन् ।


तहरिक–ए–लब्बैकले गुप्तचर संस्था आईएसआईसँगको वार्ता असफल भएको शुक्रबार जनाएको छ । नेता खादिम हुसेन रिजभीले ट्वीटमार्फत ‘वार्ता पूर्णरूपमा असफल भएको’ उल्लेख गरेका छन् ।


पाकिस्तानको पन्जाब प्रान्तमा बलियो मानिने संगठनले शुक्रबार लाहोर र इस्लामाबादमा यातायात सेवा ठप्प पारिदिएको छ । कराँचीमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरी टेन्ट लगाएर भाषण सुन्दै बसेको रोयटर्सले जनाएको छ ।

फैजबाद जक्सनमा सवारीसाधन अवरुद्ध पार्दै गरिएको प्रदर्शन ।तस्बिर : रोयटर्स


संगठनले पाकिस्तानको सर्वोच्च अदालतले आफ्नो फैसला नसच्याएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको छ । आन्दोलन चर्कदै गएपछि सरकारले देशका प्रमुख सहरमा शुक्रबार दिनभरजसो मोबाइल फोन सेवा बन्द गरेको थियोृ । लाहोर, कराँची र इस्लामाबादलगायत सहरका अधिकांश विद्यालय बन्द छन् । तहरिक–ए–लब्बैकका प्रमुख खादिम हुसेनले भनेका छन्, ‘आसियाले सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार गरिसकेकी थिइन् । तर उनलाई ९ वर्षपछि सर्वोच्च अदालतले निर्दोष सावित गरी रिहा गर्नु गलत हो ।’ उनले उक्त मुद्दाले पाकिस्तानी न्यायिक व्यवस्थामाथि नै प्रश्न खडा भएको दाबी गरे । उनले भने, ‘अदालतको फैसला नसच्चिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’


को हुन् खादिम हुसेन ?
तहरिक–ए–लब्बैकका प्रमुख रहेका खादिम हुसेन रिजभी यसका संस्थापक हुन् । आफूलाई एक धार्मिक आन्दोलनकारी बताउने उनीबारे केही वर्षअघिसम्म धेरैजसो मानिस जानकार थिएनन् । उनी सन् १९६६ मा पाकिस्तानको पन्जाबमा जन्मिएका हुन् । सन् २००६ मा गाडीको चालक निदाएपछि भएको दुर्घटनापछि उनी हीलचेयरको सहयतामा हिँडडुल गर्छन् ।


गत मार्चमा पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तानी खुफिया संस्था आईएसआईलाई खादिम हुसेनबारे प्रस्ट पार्न आग्रह गरेको थियो । अदालतले ‘उनको व्यवसाय, आर्थिक हैसियत र चन्दा रकमको स्रोतबारे किन कसैसँग जानकारी छैन’ भन्दै प्रश्न गरेको थियो ।


सन् २०१७ मा उनले १९८४ मा जारी कानुन संशोधनका लागि लाहोरदेखि इस्लामाबादसम्मको र्‍यालीको नेतृत्व गरेका थिए । त्यसताका उनी लाहोरको एक मस्जिदमा धार्मिक उपदेशक थिए । खादिममाथि असहिष्णुताको विजारोपण गरेको आरोप लाग्ने गरेको छ ।


‘फैजाबाद धर्ना’ तत्कालीन प्रधानमन्त्री साहिद खकान अब्बासीको निर्देशनमा गरिएको मानिन्छ । उक्त आन्दोलनमा पाकिस्तानको सेनाले समेत समर्थन जनाएको दाबी छ । यद्यपी, सेनाले उक्त आरोप अस्वीकार गर्दै आएको छ । तर अब आयिसा बिबीको रिहाइसँगै तहरिक–ए–लब्बैकले गरेका विरोध प्रदर्शनपछि पाकिस्तानी अदालतले उसको आर्थिक हैसियतबारे फेरि प्रश्न सोधेको छ ।


‘गभर्नर हत्या उचित’
यसअघि सन् २०११ मा पन्जाब प्रान्तमा मारिएका गभर्नर सलमान तासिरको हत्यारा मुमताज क्वादरीलाई रिहाइका लागि दबाब दिन उनी निकै सक्रिय थिए । तासिरले आसिया बिबीलाई पनि माफी दिनुपर्ने बताएका थिए ।


तासिरले ईश्वर निन्दासम्बन्धी कानुनको आलोचक भएकाले हत्या गरेको क्वादरीले जनाएका थिए । तासिरको अंगरक्षकको टोलीमा रहेका क्वादरीलाई इस्लामाबादको उच्च अदालतबाट मृत्युदण्डको सजाय सुनाएको थियो । उनलाई २०१६ को जनवरीका झुन्डाएर मृत्युदण्ड दिइएको हो ।


ईश्वर निन्दासम्बन्धी कानुनलाई ‘कालो कानुन’ बताएकाले तासिरको हत्या उचित भएको रिजभीले प्रतिक्रिया दिएका थिए । उक्त अभिव्यक्तिपछि उनलाई सरकारी सेवाबाट बर्खास्त गरिएको थियो । पाकिस्तानमा आम मानिस उनलाई ईश्वर निन्दासम्बन्धी विवादित कानुनको हिमायती मान्छन् ।


उनले त्यसैको आडमा २०१७ मा तहरिक–ए–लब्बैकको स्थापना गरे र लाहोरमा एक सिटका लागि भएको उपचुनावमा समेत भाग लिए । राजनीतिक विश्लेषकहरूले क्वादरीलाई मृत्युदण्ड दिइएपछि पाकिस्तानमा बरेलवी मुस्लिम समुदाय बढी सक्रिय भएको जनाउँछन् ।


२०१२ यता पाकिस्तानमा सुन्नी समुदायअन्तर्गतका देवोबन्दी र बरेलवी मुस्लिमबीचको लडाइँ चर्केको हो । पाकिस्तानमा ईश्वर निन्दासम्बन्धी कानुनअनुसार १९९० यता ६९ जनालाई मृत्युदण्ड दिइसकिएको छ । तर खादिम हुसेनले उक्त कानुनको अपव्याख्या हुनेमा विश्वास राख्दैनन् । खादिम हुसेन आफूलाई पैगम्बर मोहम्मदको चौकीदार बताउने गर्छन् । उनको वाक् क्षमताका कारण उनले समर्थकहरूलाई सडकसम्म ल्याउन सफल भए ।

इमरानले के भने ?
इस्लामाबाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आसिया बिबीको मुद्दालाई विपक्षीहरूले ‘राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गरिरहेको’ प्रतिक्रिया दिएका छन् । उनले त्यस्ता व्यक्तिहरूले ‘इस्लामप्रति कुनै सेवा नगरको’ दाबी गरे ।


एक टेलिभिजन सन्देशमा इमरानले कट्टर मुसलमानलाई राज्यसँग भिडन्तमा नउत्रन आग्रह गरे । ‘म प्रदर्शनकारीलाई राज्यसँग मुठभेडमा नआउन आग्रह गर्छु,’ उनले भने, ‘यदि उक्त कार्य रोकिएन भने सरकारले आफ्नो दायित्व निर्वाह गर्छ ।’ उनले अदालतको आदेशको विरोधका क्रममा गरिएको चक्काजाम र प्रदर्शनले मानिसको दैनिकी प्रभावित भएको जनाए । उनले सरकारले जनता र सार्वजनिक सम्पत्तिको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने चेतावनीसमेत दिए ।


उनले प्रश्न गरे, ‘यदि सर्वोच्च अदालतले कसैको इच्छाअनुसार फैसला गरेन भने सडकमा आउने ?’ उनले सर्वसाधारणहरू शान्त रहन तथा कानुनी शासन व्यवस्थाको विरुद्धमा नउत्रन आग्रहसमेत गरे ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?