अमेरिकामा मध्यावधि निर्वाचन सुरु : ट्रम्प शासन माथिको जनमत संग्रह

दिनेशजंग शाह

न्यूयोर्क — मंगलबार बिहानै अमेरिकामा मध्यावधि निर्वाचन सुरु भएको छ। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेट एवम् तल्लो सदन ‘हाउस अफ रिप्रिन्टेट्भिस’ का अतिरिक्त स्थानीय निकायमा प्रतिनिधि चुनिंदै छन् ।

एक सय संख्या रहेको माथिल्लो सदन सिनेटमा ३५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ भने तल्लो सदन हाउसको सबै चार सय ३५ सिटमा प्रतिस्पर्धा हुदैछ । त्यसैगरी मंगलबार नै ३६ राज्य गर्भनरहरु चुनिदैछन् ।

Yamaha

छ वर्षे पदावधि रहेको सिनेट प्रतिस्पर्धामा दुई स्वतन्त्र सहित २४ बहालवाला डेमोक्रयाट् सिनेटरहरु प्रतिस्पर्धामा छन् भने नौं रिपब्लिकन पार्टी सम्बद्ध सिनेटर पुन निर्वाचनका लागि मैदानमा छन् । बिशेषत कंग्रेसको तल्लो र माथिल्लो सदनको निर्वाचनलाई प्रमुखताका साथ हेरिएको छ । यसले ट्रम्प प्रशासनको शासन पद्वतीको शक्ति सन्तुलनलाई प्रभावित पार्नेछ । अहिले हवाईट हाउस र कंग्रेसको दुवै सदन रिपब्लिकन पार्टीको िनयन्त्रणमा छ ।
मंगलबारको मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको झण्डै दुई वर्षे शासनकालको जनमत संग्रहको रुपमा पनि बिश्लेषण गरिएको छ । निर्वाचन जितेयता लगातार आलोचित बन्दै आएका ट्रम्पको रवैया, मुलत आफनो ‘कोर’ सर्मथकहरुको स्वार्थ र भावनाप्रति समर्पित छ । एकिकृत भन्दा विभाजित राजनीतिलाई अंगाल्दै आएका ट्रम्पको लागि मंगलबारको नतिजा अनुकुल भए, उनका महत्वाकांक्षी भावी योजनाले मुर्तरुप पाउने छ। जस्तो कि, आप्रबासी सम्बन्धी कडा नीतिलाई कानुनीरुप दिने, भोटिङ अधिकारलाई थप कडाई गरिने, हेल्थ केयरको नयाँ संरचना एवम् वेलफेयर स्टेटको संरचनालाई भत्काउने उनका प्रमुख योजनाहरु छन् ।

ट्रम्प, आप्रबासीप्रति कडा छन् । उनको प्रशासनले ओबामा हेल्थ केयरलाई निस्तेज पार्न अनेकौं व्यवधानहरु ल्याएको छ । कर नीतिमा व्यापक परिवर्तन गरिएको छ । परम्परागत विदेश नीति, ‘अमेरिका फस्ट’ नीतिको ओझेलमा परेको छ । केवल नीति बनेका छन्, यद्यपी यी पक्षले वैधानिकता पाएका छैनन् । मध्यावधिले ट्रम्पलाई यो वैधानिकता दिलाउन सक्छ । सबैभन्दा महत्वपर्ण पक्ष, अर्थतन्त्रमा आएको उल्लेखीय सुधारलाई ट्रम्प र रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा आफनो मुख्य शस्त्रको रुपमा अगाडी सारेको छ । बेरोजगारी दर तीन दशमलब ७० प्रतिशतमा मा झरेको छ, जसलाई पछिल्लो ५० बर्षकै सबैभन्दा न्युन आंकडा बताईएको छ ।

अर्कातर्फ ट्रम्पको कार्यशैलीमाथि प्रहार गर्दै आएका विपक्षी पार्टी डेमोक्रयाट्ले ओबामा हेल्थ केयरलाई प्रमख एजेण्डाको रुपमा उठाएको छ । जसले उनीहरुको तल्लो सदन हाउस कब्जा गर्ने अभियानलाई मुर्तरुप दिने बिश्लेषकहरुको राय छ । बिभिन्न अध्ययन एवम् सर्वेक्षणले तल्लो सदन हाउसमा डेमोक्रयाट पार्टीले बहुमत प्राप्त गर्ने देखाएको छ भने माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले आफनो वर्चश्व कायमै राख्ने देखाएको छ । यद्यपी गत राष्ट्रपतीय निर्वाचनमा सर्वेक्षणहरु असफल भएको पृष्ठभमिमा, यसको स्पष्ट चित्रका लागि भने मंगलबार रातीसम्म कुर्नुपर्ने छ ।

प्रकाशित : कार्तिक २०, २०७५ २०:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्तले शव बुझेनन्

मानव अधिकार आयोगमा उजुरी दर्ता 
प्रहरी भन्छ : जाहेरी दर्ता भइसकेको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ।

आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन्।

‘घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी भाइलाई मोटरसाइकलमा हालेर लगेका रहेछन्,’ मृतकका दाइ शेरबहादुर ढुंगानाले कान्तिपुरसित भने, ‘भोलिपल्ट प्रहरी परिसरबाट भाइकी श्रीमती (अन्नपूर्ण थापा ढुंगाना) लाई श्रीमान् वीर अस्पतालमा हुनुहुन्छ, भेट्न आउनु भनी फोन आयो। ११ बजे अस्पताल पुगेकामा दुई घण्टापछि भाइको मृत्यु भयो।’

भाइलाई लिएर गएकै दिन राति ११ बजे सई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको शेरबहादुरको दाबी छ। रवीन्द्रको शव हाल टिचिङ अस्पताल महाराजगन्जमा छ।

प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने मृतक ढुंगानासँग सई कार्कीले ५ लाख रुपैयाँ लिएको र उक्त रकमको चेक बाउन्स भएपछि सोही मुद्दामा बालाजु वृत्तले नियन्त्रणमा लिएको बताए। एसएसपी थापाले भने, ‘परिवारले भनेजस्तो सई कार्कीले पक्राउ गरेको नभई उनी घर देखाउन त्यहाँ पुगेका हुन्। उनलाई वृत्तबाटै खटिएको टोलीले पक्राउ गरेको हो।’

एसएसपी लामाले भने बालाजु वृत्तले पक्राउपछि ढुंगानालाई प्रहरी परिसर टेकु लगी स्वास्थ्य परीक्षण गराएर थुनामा राखेको बताए। लामाले ढुंगाना छारे रोगका बिरामी रहेको उल्लेख गर्दै भने, ‘बिहानपख अप्ठ्यारो भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याएर परिवारलाई खबर गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो।’

मृतकका आफन्तका अनुसार, सोमबार भेट्दा रवीन्द्रको अवस्था गम्भीर भइसकेको थियो। उनको अनुहारमा चोट छ भने मुखबाट रगत बगेको देखिएको उनका दाइ शेरबहादुरले दाबी गरे। ५२ वर्षीय ढुंगानाले केही समयअघि ट्याक्सी किनेर चलाउँदै आएका थिए।

आफन्तका अनुसार, केही वर्षअघि सई कार्कीसित रवीन्द्रकी श्रीमती थापाले ऋण लिएकी थिइन्। ऋण फिर्ता गरिसक्दासमेत कार्कीले बाँकी रहेको रकम फिर्ता गर्नुपर्ने भन्दै बारम्बार धम्क्याउने गरेको मृतकका परिवार बताउँछन्। सोही दिनसमेत कार्कीले ५ लाख लिनुपर्ने भन्दै रवीन्द्रसँग चेक काटेर लगेका थिए।

प्रहरीले सईलाई जोगाउन खोजेको र जाहेरी नलिएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन्। जाहेरी बुझाउन खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीहरूले अस्वीकार गरेको मृतकका दाइ शेरबहादुरले बताए।

‘आफूलाई प्रवक्ता बताउने एसपीले संगठनको प्रहरीले भाइ मार्‍यो भनेर जाहेरी दर्ता गर्न खोजेकाले हामीले दर्ता गर्दैनौं भनेर फर्काएँ,’ उनले भने, ‘प्रहरीले जाहेरी नलिएपछि हामीले मानव अधिकार आयोगमा उजुरी दिएका छौं।’ उनीहरूले मंगलबार मानव अधिकार आयोगमा उजुरीसमेत दर्ता गरेका छन्। तर एसएसपी लामाले भने जाहेरी दर्ता नगरिएको दाबीको खण्डन गर्दै भने, ‘जाहेरी दर्ता भइसकेको छ।’

प्रकाशित : कार्तिक २०, २०७५ २०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT