१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अमेरिकी मध्यावधि निर्वाचन: ट्रम्प शासनको जनमतसंग्रह

दिनेशजंग शाह

न्युयोर्क — अमेरिकामा मंगलबार मध्यावधि निर्वाचन भएको छ । अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेट 
एवं तल्लो सदन ‘हाउस अफ रेप्रिन्जेटिभ्स’ का अतिरिक्त स्थानीय निकायमा प्रतिनिधि चुनिँदै छन् ।

अमेरिकी मध्यावधि निर्वाचन: ट्रम्प शासनको जनमतसंग्रह

अमेरिकाकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा रिचमन्डस्थित केन्द्रमा मतदान गरेपछि आफ्नी छोरीलाई चुम्बन गर्दै भर्जिनियास्थित सेभेन्थ डिस्ट्रिककी डेमोक्रयाट उम्मेदवार ग्लेन अलेन । तस्बिर : एएफपी



एक सय सिटको माथिल्लो सदन सिनेटमा ३५ सिटका लागि तथा हाउस अफ रेप्रिजेन्जेटिभ्सको सबै ४ सय ३५ सिटमा प्रतिस्पर्धा भएको हो । त्यसैगरी मंगलबारको चुनावबाट ३६ राज्यमा गभर्नर पनि चुनिँदै छन् ।

६ वर्षे पदावधि रहेको सिनेट प्रतिस्पर्धामा २ स्वतन्त्रसहित २४ बहालवाला डेमोक्रयाट सिनेटर प्रतिस्पर्धामा छन् भने ९ रिपब्लिकन पार्टी सम्बद्ध सिनेटर पुन: निर्वाचनको मैदानमा छन् । विशेषत: कंग्रेसको तल्लो र माथिल्लो सदनको निर्वाचनलाई प्रमुखताका साथ हेरिएको छ । यसले ट्रम्प प्रशासनको शासन पद्धतिको शक्ति सन्तुलनलाई प्रभावित पार्नेछ । अहिले ह्वाइटहाउस तथा कंग्रेसको दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ ।


निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको झन्डै २ वर्ष लामो शासनकालको जनमत संग्रहको रूपमा पनि विश्लेषण गरिएको छ । निर्वाचन जितेयता लगातार आलोचित बन्दै आएका ट्रम्पको रबैया, मूलत: आफ्नो ‘कोर’ समर्थकहरूको स्वार्थ र भावनाप्रति समर्पित छ ।


एकीकृतभन्दा विभाजित राजनीतिलाई अँगाल्दै आएका ट्रम्पको लागि मंगलबारको नतिजाअनुकूल भए, उनका महत्त्वाकांक्षी भावी योजनाले मूर्तरूप पाउने ठानिएको छ । जस्तो कि, आप्रवासी कडा नीतिलाई कानुनी रूप दिने, भोटिङ अधिकारलाई थप कडाइ गरिने, हेल्थ केयर एवं वेलफेयर स्टेटको संरचना भत्काउने उनका प्रमुख योजना छन् ।


ट्रम्पले आप्रवासीप्रति निकै कडा नीति अख्तियार गर्दै आएका छन् । उनको प्रशासनले ओबामा हेल्थ केयरलाई निष्तेज पार्न अनेकौं व्यवधान ल्याएको छ । कर नीतिमा व्यापक परिवर्तन गरिएको छ । परम्परागत विदेश नीति, ‘अमेरिका फस्ट’ नीतिको ओझेलमा परेको छ ।

केवल नीति बनेका छन््, यद्यपि यी पक्षले वैधानिकता पाएका छैनन् । मध्यावधिले ट्रम्पलाई यो वैधानिकता दिलाउन सक्छ । सबभन्दा महत्त्वपूर्ण पक्ष, अर्थतन्त्रमा आएको उल्लेखीय सुधारलाई टम्प र रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा आफ्नो मुख्य शस्त्रका रूपमा अगाडि सारेको छ । बेरोजगारी दर तीन दशमलब ७० मा झरेको छ, जसलाई पछिल्लो ५० वर्षकै सबभन्दा न्युन आँकडा बताइएको छ ।


अर्कातर्फ ट्रम्पको कार्यशैलीमाथि प्रहार गर्दै आएको विपक्षी पार्टी डेमोक्रयाटले ओबामा हेल्थ केयरलाई प्रमख एजेन्डाका रूपमा उठाएको छ । जसले उनीहरूको तल्लो सदन हाउसमा बहुमत प्राप्त गर्ने अभियानलाई मूर्तरूप दिने विश्लेषकहरूको राय छ ।


विभिन्न अध्ययन एवं सर्वेक्षणले तल्लो सदन हाउसमा डेमोक्रयाट पार्टीले बहुमत प्राप्त गर्ने देखाएको छ भने माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले आफ्नो वर्चस्व कायमै राख्ने तथ्यांक छ । यद्यपि, गत राष्ट्रपतीय निर्वाचनमा सर्वेक्षणहरू असफल भएको पृष्ठभूमिमा यसको स्पष्ट चित्रका लागि भने मंगलबार रातिसम्म कुर्नुपर्नेछ ।

प्रकाशित : कार्तिक २१, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?