१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पलाई धक्का

हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीको बहुमत
एजेन्सी

वासिङटन — अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा नियन्त्रण गुमाएको छ ।

डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ । उनलाई अब बिना अड्चन आफ्ना एजेन्डा अघि बढाउन समस्या पर्नेछ ।


हाउसमा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिकले नेपाली समयअनुसार बुधबार साँझसम्म २२१ सिट हासिल गरेको छ भने रिपब्लिकनले १९९ सिट प्राप्त गरेको छ ।


हाउसको ४३५ सिटका लागि चुनाव भएको थियो । रिपब्लिकन पार्टीले सिनेटमा भने बहुमत हासिल गरेको छ । सिनेटको १ सय स्थानमध्ये ३५ सिटमा चुनाव भएको हो । चुनावी नतिजापछि सिनेटमा डेमोक्रेटिकको ४५ सिट र रिपब्लिकनको ५१ सिट रहनेछ ।


मंगलबारको मध्यावधि निर्वाचन राष्ट्रपति ट्रम्पको दुई वर्षको कार्यकालको ‘जनमत संग्रह’ का रूपमा लिइएको थियो । सिनेटमा सत्तारूढ रिपब्लिकन पार्टीलाई बहुमतको अर्थ हो, ट्रम्पको कार्यकारी र न्यायिक नियुक्तिले चुनौतीको सामना गर्नुपर्ने छैन । तर हाउसमा डेमोक्रेटिकको बहुमत हुँदा ट्रम्पको नीति पारित हुन विभिन्न अवरोध सामना गर्नुपर्नेछ ।


डेमोक्रेटिक पार्टीले भर्जिनिया, इलिनोइस र फ्लोरिडामा जित हासिल गरेको छ । यस्तै, डेमोक्रेटिक पार्टीकी २९ वर्षीया अलेक्जेन्ड्रिया कोर्टेज अमेरिकी कांग्रेसमा निर्वाचित हुने सबैभन्दा कम उमेरकी प्रतिनिधि बनेकी छन् । यस्तै सोही पार्टीबाट दुई मुस्लिम महिला चुनिएका छन् । जसमा इल्हान उमर र राशिदा तालिब छन् । हाउसमा २ मुस्लिम महिलासहित ८९ महिला निर्वाचित भएका छन् । यसअघि ८४ महिला चुनिएका थिए ।


डेमोक्रेटिककी हाउस नेता न्यान्सी पेलोसीले विजयपछि वासिङटनमा सम्बोधनका क्रममा मतदातालाई धन्यवाद दिँदै अब नयाँ अमेरिका हुने बताएकी छन् । मध्यावधि चुनावको परिणामका विषयमा राष्ट्रपति ट्रम्पले शृंखलाबद्ध ट्विट गरेका छन् । एक ट्विटमा उनले भनेका छन्, ‘१०५ वर्षको इतिहासमा पहिलो पटक राष्ट्रपतिको पार्टीबाट सिनेटमा बहुमत हासिल भएको छ । ट्रम्पसँग जादु छ । जब पूरै मिडिया मेरोविरुद्ध थियो, हरेक दिन तिनीहरूले आक्रमण गर्थे, तर पनि ट्रम्पको जादु चल्यो ।’


यस्तै, ५० गभर्नरमध्ये ३६ का लागि चुनाव भएकोमा मिसिगन, इलिनोइस र कान्ससमा डेमोक्रेटिक पार्टी विजयी भएको छ । अमेरिकाको यो मध्यावधि निर्वाचनमा ५० वर्षयता सबैभन्दा बढी मतदान भएको थियो । यसअघि अमेरिकी नागरिक यस चुनावलाई राष्ट्रपति चुनावजति गम्भीर रूपमा लिँदैनथे ।


अमेरिकी कांग्रेसको यो निर्वाचन हरेक ४ वर्षमा नोभेम्बर महिनामा हुन्छ । राष्ट्रपतिको कार्यकालको बीच समयमा हुने भएकाले यसलाई मध्यावधि (मिड–टर्म) निर्वाचन भनिन्छ । यही चुनावले राष्ट्रपतिको बाँकी कार्यकाल कस्तो हुन्छ भन्ने तय गर्छ ।

प्रकाशित : कार्तिक २२, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?