क्यालिफोर्नियामा आगलागी, कम्तीमा ९ को मृत्यु

एपी

लस एन्जलस — अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ । राज्यको उत्तर र दक्षिणी क्षेत्रबाट तीब्र गतिमा फैलिएको आगलागीका कारण हालसम्म ७५ हजार घरधुरीका २ लाख ५० हजार मानिस विस्थापित भएका छन् ।

क्यालिफोर्नियामा आगलागी, कम्तीमा ९ को मृत्यु

अधिकारीका अनुसार ३५ जना हराईरहेका छन् । डढेलो करिब १४ हजार १ सय ५० हेक्टर क्षेत्रमा फैलिएको छ । मध्य लस एन्जलसदेखि ६४ किलोमिटर उत्तर–पश्चिममा पर्ने थाउजण्ड ओक्स क्षेत्रबाट उक्त डढेलो शुरू भएको हो । क्याम्प क्रीकबाट शुरू भएको ‘क्याम्प फायर’ नामक आगलागीका कारण टाउन अफ प्याराडाइज ध्वस्त भएको छ ।


लस एन्जलसको पश्चिमी क्षेत्रमा लागेको ‘वूल्जी फायर’ नामक डढेलो एउटा प्रमुख राजमार्ग र तटीय क्षेत्रतर्फ फैलिरहेको छ । शक्तिशाली आँधीसँगै दुवै डढेलो तीव्र रूपमा फैलिरहेका छन् । डढेलो रातारात फैलिएर लस एन्जलसदेखि पश्चिममा पर्ने हाइवे १०१ सम्म पुगेको हो । थाउजण्ड ओक्सदेखि पश्चिमका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।


आगलागी क्यालिफोनिर्याको दक्षिणी क्षेत्रको मालिबु रिसोर्टतर्फ बढिरहेको जनाइएको छ । उक्त क्षेत्रमा कतिपय हलिउड कलाकारहरुको घर रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जंगल व्यवस्थापनमा भएको कमजोरीका कारण आगलागी फैलिएको भन्दै बजेट कटौती गर्ने चेतावनी दिएका छन् ।


क्यालिफोर्नियाको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिको सवारी साधनलाई आगोले छोएपछि गाडीमा रहेका ५ ज्यान गएको हो ।

क्यालिफोर्निको घना जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ ।


आगलागी नियन्त्रणका लागि उद्धारकर्मीलाई खटाइएको भएपनि तीब्र गतिको हावाका कारण सम्भव हुन सकिरहेको छैन । क्यालिफोर्नियाको राजधानीबाट करिब १३० किलोमिटर उत्तरको जंगलमा लागेको आगो शुक्रबार देखि फैलिएको हो ।


अधिकारीहरुले घटनाको छानबीनका लागि टोली गठन गरिएको बताएका छन् । हालसम्म क्यालिफोर्नियाको वन विभागले भने कुनै थप सूचना दिएको छैन ।

प्रकाशित : कार्तिक २४, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?