कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रथम विश्वयुद्ध अन्त्यको सम्झनामा विश्वनेता

बीबीसी

पेरिस — प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनाका लागि विश्व नेताहरू फ्रान्सको राजधानी पेरिसमा गरिएको कार्यक्रममा भेला भएका छन् । 

प्रथम विश्वयुद्ध अन्त्यको सम्झनामा विश्वनेता

उपस्थित हुनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन पनि छन् । कार्यक्रममा ७० जना विश्वका नेताहरूको उपस्थिति रहेको छ ।


फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले ‘विश्व शान्तिका लागि संयुक्त पहल गर्नु आजको आवश्यकता भएको’ बताए । उनले भने, ‘एक–आपसमा डरत्रासको खेलभन्दा विश्वशान्तिका लागि हामी सबैको आशाको बाटो निर्माण गरौं । यसका लागि संयुक्त पहलको थालनी गरौं ।’


प्रथम विश्वयुद्ध समाप्त भएको अवसरमा फ्रान्सको पेरिसस्थित ‘आर्क डे ट्रिओम्फे’ मा विश्वका नेताहरू जम्मा भई निराश विश्वको आशा जगाएको दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई विश्वका प्रमुख नेताले सम्बोधन गर्नेछन् ।


फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रों र जर्मन चान्सलर एन्जेला मर्केलले प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनास्वरूप ट्रेनमा बसी स्मृति पुस्तिकामा हस्ताक्षर गरे । सन् १९१८ मा युद्ध अन्त्यको सम्झौता एक रेलमा गरिएको थियो ।


सन् २०१४ देखि ४ वर्षसम्म चलेको युद्धमा परी ९७ लाख सैनिक तथा १ करोड सर्वसाधारणले ज्यान गुमाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सस्थित एउटा अमेरिकी चिहानस्थलको पूर्वनिर्धारित भ्रमण रद्द गरेपछि विवाद सिर्जना भएको छ । ट्रम्पको विरोधमा करिब ५० अधिकारवादी संगठनले विरोध प्रदर्शनको तयारी गरेको जनाएका थिए ।


अमेरिकी राष्ट्रपति कार्यालय हवाइटहाउसले खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसकेको तथा सुरक्षाका कारण राष्ट्रपतिले भ्रमण रद्द गरेको जनाएको छ ।


त्यसअघि युरोपेली मुलुकहरूको प्रतिरक्षासम्बन्धी विषयलाई लिएर ट्रम्प र म्याक्रोंबीच विवाद भएको थियो । म्याक्रोंले रुससँग गरेको एक निरस्त्रीकरण सन्धिबाट अमेरिका अलग्गिन लागेको भन्दै युरोपेली संघलाई संयुक्त सेनाको आवश्यकता पर्ने बताएका थिए । ट्रम्पले म्याक्रोंको भनाइ अपमानजनक भएको भन्दै युरोपले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) लाई आफ्नो आर्थिक हिस्सा चुकाउनुपर्ने चेतावनी दिएका थिए ।


फ्रान्सेली राष्ट्रपतिको निवासमा ट्रम्पसँगको बैठकपछि म्याक्रोंले नेटोलाई युरोपले थप रकम तिर्नुपर्नेमा सहमति भएको बताए । प्रथम विश्वयुद्ध अन्त्यको सम्झौतामा हस्ताक्षर गरिएको फ्रान्सको कम्पेनिया सहरदेखि नजिकै पुग्ने मर्केल द्वितीय विश्वयुद्धपछिको पहिलो जर्मन नेता हुन् ।


मर्केल र म्याक्रोंले दुई देशबीच मेलमिलाप दर्साउने शिलालेखको अनावरण समेत गरे । अज्ञात सैनिकहरूको चिहान रहेको स्थानमा गरिएको कार्यक्रमको नेतृत्व फ्रान्सेली राष्ट्रपति म्याक्रोंले गरेका हुन् ।


त्यसैगरी विभिन्न देशमा विश्वयुद्ध अन्त्यको सम्झना गरिएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेसनल वार म्युजियममा कार्यक्रम गरियो । प्रधानमन्त्री स्कट मरिसनले ‘हाम्रो भविष्यका लागि र आगामी पुस्ताका लागि विगतबाट पाठ सिक्नुपर्ने बताए ।’ न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा १ सय सलामी अर्पण गरियो ।


भारतमा भारतले युद्धमा मारिएका आफ्ना ७४ हजार सेनाको सम्झनामा कार्यक्रम गरेको छ । त्यसैगरी बेलायतले विभिन्न कार्यक्रम गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत शान्तिका लागि मात्र युद्धमा संलग्न भएको जनाए । उनले टवीटरमार्फत भनेका छन्, ‘यो युद्धमा भारत प्रत्यक्ष रूपमा सहभागी भएको थिएन तर पनि शान्तिका खातिर हाम्रा सैनिकहरू लडेका हुन् ।’

प्रकाशित : कार्तिक २५, २०७५ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?