गाजापट्टीको भिडन्तमा हमास कमान्डर मारिए

बीबीसी

गाजा — इजरायलले गाजापट्टीमा सोमबार गरेको कारबाहीमा हमास कमान्डरसहित ८ जना प्यालेस्टाइनीको ज्यान गएको छ । 

विशेष फौजले गरेको आक्रमणमा आफ्ना एक सैनिकको ज्यान जानुका साथै अर्का एक घाइते भएको इजरायली सेनाले जनाएको छ । गाजापट्टीको दक्षिणमा पर्ने खान युनिसदेखि पूर्वमा भिडन्त भएको हो ।

प्यालेस्टाइनी अधिकारीका अनुसार एक जिपमा सवार इजरायली सेनाको इकाईले हमास कमान्डरमाथि आक्रमण गरेका हुन् । हमलामा खान युनिसस्थित इज्जेदिन अल कसाम ब्रिगेडका कमान्डर शेख नुर बराकेहको ज्यान गएको हो । त्यसपछि भिडन्त सुरु भएको हो । इजरायलले टयाकहरूले घेरा हालेर हवाई हमला गरेको जनाइएको छ ।


त्यसलगत्तै गाजा क्षेत्रबाट रकेट प्रहार गरिएका चेतावनीयुक्त साइरन दक्षिणी इजरेलमा सुनिएको थियो । तीमध्ये अधिकांशलाई खसालिएको थियो । गाजा क्षेत्रमा पकड जमाएको हमासका प्रवक्ताले घटनालाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिएका छन् ।


इजारायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो फ्रान्स भ्रमण छोटयाई स्वदेश फर्कने निर्णय गरेका छन् । प्रथम विश्वयुद्ध अन्त्य भएको शतवार्षिकीका अवसरमा पेरिसमा आयोजित कार्यक्रमका लागि उनी त्यहाँ गएका हुन् ।


हमलाबारे इजरायली सेनाले विस्तृत विवरण सार्वजनिक गरेको छैन । तर इजारायली सेना भने उक्त स्थानबाट फर्किसकेको छ । इजरायली सेनाले एक वक्तव्य जारी गर्दै आफ्नो प्रतिरक्षा फौज र विशेष सुरक्षा बल गाजापट्टीमा एक गोली हानाहानको घटनामा संलग्न भएको उल्लेख गरेको छ ।


घटनामा प्रतिरक्षा फौजका एक सदस्य मारिएको र अर्का एक घाइते भएको उसले जनाएको छ । पछिल्ला महिना इजरायल र हमास समूहबीच तनाव चर्किँदै गएको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?