कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतको पहिलो राष्ट्रिय जलमार्ग सुरु

नेपालसम्म जोडिने आशा
सुरेशराज न्यौपाने

नयाँदिल्ली — वनारसको गंगा नदी तटमा निर्माण गरिएको मल्टिमोडल टर्मिनलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेसँगै भारतको पहिलो राष्ट्रिय जलमार्ग एक औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

भारतको पहिलो राष्ट्रिय जलमार्ग सुरु

पेप्सी इन्डियाको सामान बोकेर १२ दिनअघि कोलकाताबाट छुटेको मालबाहक पानी जहाज रवीन्द्रनाथ टैगोरलाई सोमबार एक औपचारिक कार्यक्रमका बीच मोदीले भारतकै पहिलो ‘इनल्यान्ड वाटर टर्मिनल’ मा स्वागत गरेका हुन् । अन्तरदेशीय जलमार्ग विकास परियोजनाअन्तर्गतको भारु करिब २०६ करोड लागतमा यो टर्मिनल बनाइएको हो ।

टर्मिनल सञ्चालनमा आएपछि सामुद्रिक मार्गबाट कोलकातासम्म आइपुगेका सामान सिधै जलमार्ग हुँदै वनारससम्म आइपुग्नेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार हल्दिया–प्रयागराज जलमार्गको शिलान्यास पहिलो पटक १९८६ मै भए पनि काम भने सन् २०१४ देखि मात्र सुरु भएको हो ।

हल्दियादेखि वनासरसम्मको गंगा नदीमा निर्माणाधीन राष्ट्रिय जलमार्ग १ (एनएच वान) मा विश्व बैंकको प्राविधिक तथा आर्थिक सहयोग रहेको छ । परियोजनाको कुल लागत ५३ अर्ब ७० करोड रहेको छ । जसमा भारत सरकार र विश्व बैंकको आधाआधा लगानी छ ।

एनवाच वानअन्तर्गत यस्तै किसिमको मल्टिमोडल टर्मिनल झारखण्डको साहिबगन्ज, पश्चिम बंगालको हल्दिया र उत्तरप्रदेशको गाजिपुर पनि निर्माण भइरहेको छ । भारतको इनल्यान्ड अथोरिटि अफ इन्डियाले सञ्चालनमा ल्याउने जलमार्ग विकास परियोजनाअन्तर्गत यी टर्मिनलहरू बनाउन लागिएको हो ।

वनारसमा मोदीले सोमबार उद्घाटन गरेको टर्मिनललाई नेपालीले पनि विशेष चासोका साथ हेरेका छन् । भारतको अन्तरदेशीय जलमार्ग विकास परियोजनाअन्तर्गत पर्ने यो टर्मिनल नेपाललाई जलमार्गले जोड्ने हिसाबले पनि निकै महत्त्वपूर्ण ठानिएको छ । वनारस टर्मिनल सञ्चालनमा आएपछि वरै पर्ने साहिबगन्ज र कालुघाट मल्टिमोडल टर्मिनलको निर्माणले पनि तीव्रता पाउने विश्वास गरिएको छ ।

र, त्यसपछि तेस्रो मुलुकबाट ल्याइएका सामान साहिबगन्जसम्म र कालुघाटसम्म पानीजहाजमा र त्यसपछि सडक वा रेलमार्गमार्फत विराटनगर र वीरगन्जसम्म पुर्‍याउन सहज हुनेछ । साहिबगन्ज टर्मिनल भने मे २०१९ मा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । तर वाणिज्य तथा पारवहन सन्धिमा जलमार्गलाई समेट्नेजस्ता काम भने बाँकी नै छन ।

भारतले सुरु गरेको जलमार्ग विकास परियोजनाअन्तर्गत नेपालको सीमासम्म गण्डक (नारायणी) नदीमा र कोसी नदीमा जलमार्ग सञ्चालन गर्न लक्ष्य राखिएको छ । जसलाई क्रमश: एन ३७ र एन ५८ नाम दिइएको छ । एन ३७ जलमार्ग साहिबगन्ज टर्मिनलमा र एन ५८ कालुघाट टर्मिनलमा जोड्ने योजना छ । यी दुवै जलमार्ग सञ्चालनमा आएको खण्डमा तेस्रो मुलुकबाट ल्याइने सामान पानी जहाजबाटै सिधै नेपालको सीमासम्म आइपुग्नेछ ।

जसले गर्दा ढुवानी सस्तो पर्नुका साथै हाल सडक र रेलमार्गबाट नेपालको सीमासम्म पुर्‍याउँदा भोग्नुपरेको सास्ती र झन्झटबाट पनि राहत मिल्ने अपेक्षा गरिएको छ । गत चैतमा भएको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला दुई मुलुकबीच जलमार्ग सञ्चालन गर्ने सम्बन्धमा सहमति भएको थियो ।

उक्त सहमतिपछि त्यससम्बन्धमा दुवै मुलुकका सम्बन्धित अधिकारीहरूबीच विभिन्न चरणमा छलफलसमेत भइसकेको छ । यसैबीच नेपाल सरकारले जलमार्गको सम्भाव्यता लगायतका विषय अध्ययन गर्नका लागि जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलबासेको नेतृत्वमा प्राविधिक समितिसमेत गठन गरिसकेको छ ।

सहसचिव बेलबासेले वाराणासीको मल्टिमोडल टर्मिनल सञ्चालनमा आउनुले भारत जलमार्ग सञ्चालनका लागि प्रतिबद्धता देखाएको बताए । ‘गंगा नदीमा जलमार्ग सम्भव छ भन्ने पनि यसले देखाएको छ,’ उनले भने, ‘साथै कामको गति हेर्दा बाँकी टर्मिनल पनि समयमै सञ्चालनमा आउने विश्वास गर्ने आधार देखिएको छ ।’

सहसचिव बेलबासेका अनुसार एन ३७ को प्राविधिक अध्ययन डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसैगरी ७ जनवरी २०१९ मा नेपाल र भारतका प्राविधिक टोलीलले नारायणी र कोसी नदीको स्थलगत अध्ययन गर्ने सहमति पनि भएको छ ।

यसअघि सहसचिव बेलबासे नेतृत्वको नेपाली टोलीले भारतले अन्तदेशीय जलमार्ग विकास परियोजनाअन्तर्गत निर्माण गरिरहेका विभिन्न परियोजनाहरूको स्थलगत अध्ययन गरेको थियो ।

‘नेपाललाई जलमार्गले जोड्ने कुरामा भारत सकारात्मक विश्वास जागेको छ,’ बेलबासेले कान्तिपुरलाई बताए ।

मोदीले सोमबारै आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको वाराणासीमा निर्माण सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटनसमेत गरेका छन् । जसअन्तर्गत चार लेनको बाबतपुर वाराणासी सडक र वाराणासीमै निर्माण गरिएको चक्रपथको पहिलो खण्डको समेत छ । यी दुवै परियोजनाको लागत १५ अर्ब ७१ करोड भारुभन्दा बढी छ ।

त्यसैगरी सोही कार्यक्रममा मोदीले भारु करिब ५ अर्ब लागतको ढल प्रशोधन परियोजनासमेत शिलान्यास गरेका छन् । गंगा नदी सफाइ परियोजनाअन्तर्गत भारु ५० अर्बभन्दा बढी लागतमा विभिन्न परियोजना सञ्चालनमा रहेका छन् । मोदीले सोमबार शिल्यान्यास गरेका परियोजना पनि त्यसैअन्तर्गतका हुन् ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?