१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उत्तर कोरियाको हतियार मोह उस्तै 

एजेन्सी

सोल — उत्तर कोरियालले बिहीबार उच्च प्रविधियुक्त अस्त्र परीक्षण गरेको जनाएको छ । सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार सर्वोच्च नेता किम जोङ उनले बिहीबार ‘उच्च प्रविधियुक्त’ एक नयाँ अस्त्रको सफल परीक्षणको सुपरिवेक्षणसमेत गरेका छन् ।

यद्यपि परीक्षण गरिएको अस्त्रको विवरण भने केसीएनएले विवरण सार्वजनिक गरेको छैन । उसले लामो समयको अन्तरालमा उत्तर कोरियामा अस्त्रको परीक्षण गरिएको मात्रै उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस वर्ष उत्तर कोरियाले परीक्षण गरेको यो पहिलो हो ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक शिखर बैठक सम्पन्न भएको थियो । सिंगापुरमा भएको बैठकमा किमले परमाणु नि:शस्त्रीकरणका लागि आफू प्रतिबद्ध रहेको जनाएका थिए । त्यसयता उत्तर कोरियाले आफ्नो महत्त्वपूर्ण परमाणु परीक्षण केन्द्र ध्वस्त पारिसकेको छ । उसले उत्तरपूर्वी क्षेत्रको पुङ्गे–रीस्थित परमाणु परीक्षण केन्द्र नष्ट पारेको हो ।

अमेरिकालगायतका पश्चिमा देशले पनि भूउपग्रह तस्बिरहरूमा उत्तरले परमाणु परीक्षण केन्द्र नष्ट गरेको देखिएको जनाएका थिए । त्यसलगत्तै किमले उक्त केन्द्र प्रयोग गर्न नमिल्ने गरी ध्वस्त गरिएको उल्लेख गर्दै आफूहरूसँग अन्य दुई परीक्षण केन्द्र निकै राम्रो अवस्थामा रहेको बताएका थिए । उनको अभिव्यक्तिसँगै दक्षिण कोरिया र अमेरिका किम परमाणु नि:शस्त्रीकरणका लागि इमान्दार नभएको आशंका व्यक्त गरेका थिए ।

सिंगापुर बैठकमा भएको सहमतिमा उत्तर कोरियाले नि:शस्त्रीकरणका काम गर्ने उल्लेख भए पनि त्यसका लागि प्रक्रिया र संयन्त्रबारे केही उल्लेख छैन । बैठकपछि दुई देशका प्रतिनिधिबीच परमाणु नि:शस्त्रीकरणका समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाबारे टुंगोमा पुग्ने जनाइएको थियो । यद्यपि हालसम्म कुनै प्रगति हुन सकेको छैन ।


ट्रम्प र किमबीच दोस्रो शिखर बैठकको मिति तोक्ने विषयमा यसै साता हुने भनिएको बैठक पनि अन्तिम समयमा स्थगित भएको थियो । बिहीबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ट्रम्प र किमबीचको दोस्रो शिखर बैठकका लागि उत्तरले परमाणु हतियार र परीक्षण केन्द्रको पूर्ण सूची सार्वजनिक गर्नुपर्ने सर्त राखेका थिए । उनले ‘परमाणु केन्द्र पहिचान, निरीक्षण र ध्वस्त पार्नु’ अत्यावश्यक भएकाले उत्तर कोरिया तयार हुनुपर्ने बताएका थिए ।

प्रकाशित : मंसिर १, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?