१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

संयुक्त घोषणापत्र बिनै टुंगियो एपेक सम्मेलन

नारायण खड्का

अस्ट्रेलिया — एसिया प्यासिफिक क्षेत्रका २१ राष्ट्रहरुको संयुक्त एपेक सम्मेलन घोषणापत्र बिनै टुंगिएको छ । पपु‍आ न्यूगिनीमा शनिबारदेखि सुरु भएर आइतबारसम्म चलेको सम्मेलनमा नेताहरुकै सहमतिमा घोषणापत्र ननिकाली सकिएको हो । 

संयुक्त घोषणापत्र बिनै टुंगियो एपेक सम्मेलन

एसिया प्यासिफिक क्षेत्रमा रहेका अस्ट्रेलिया, अमेरिका, जापान, क्यानाडा, रसिया, न्युजिल्याण्ड लगायतका विकसित मुलुकहरु समेत समेटिएको एपेकले यस क्षेत्रको विकास तथा सामूहिक व्यापार र सम्बन्ध विस्तारको लागि कार्य गर्दै आएको छ ।


सञ्चारमाध्यमहरुले चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका उपराष्ट्रपति माइक पेन्सको फरक फरक विचारका कारण अन्तिममा निकालिने संयुक्त वक्तव्य आउन नसकेको दाबी गरेका छन् । संयुक्त घोषणाको सट्टा पपुवान्युगिनीका प्रधानमन्त्रीले संयोजकको तर्फबाट वक्तव्य जारी गर्ने गरी टुङ्ग्याइएको जनाइएको छ ।


एपेक सम्मेलनको इतिहासमै पहिलोपटक नेताहरुले सम्मेलनको अन्त्यमा सामूहिक लिखित घोषणापत्र जारी गर्न नसकेको बताइएको छ । प्रत्येक वर्ष आयोजना हुने सम्मेलन पहिलोपटक पपु‍आ न्यूगिनीमा आयोजना गरिएको थियो ।


सञ्चारमाध्यमहरुले क्यानाडाका प्रधानमन्त्री जष्टिन टुडोले व्यापार सम्बन्धि विषयमा अलग अलग विचार रहेकाले संयुक्त घोषणापत्र जारी गर्न नसकिएको बताएका छन् ।


उनले त्यसको सट्टा संयोजकको तर्फबाट पपुवान्युगिनीका प्रधानमन्त्रीले वक्तव्य जारी गर्ने बताएका छन् । सम्मेलनका क्रममा व्यापारको विषयमा चीन र अमेरिकाबीच चलेको असहमतिका कारण समेत संयुक्त घोषणापत्र जारी गर्न नसकेको विश्लेषण गरिएको छ ।


सन १९८९ मा व्यवसायिक विकास र समृद्धि ल्याउने मुख्य उद्देश्य र एसिया प्यासिफिक क्षेत्रमा रहेका देशहरुसँगको सम्बन्ध विस्तारका लागि एपेक स्थापना गरिएको हो । यसका साथै एपेकले यी क्षेत्रमा रहेका देशहरुबीचका शुल्कहरु कम गर्ने र व्यापारमा रहेका व्यवधानहरुलाई न्यूनिकरण गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित : मंसिर २, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?