कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ब्रेक्जिट सम्झौता मस्यौदाः ईयूले थप छलफल नगर्ने

नवीन पोखरेल

लन्डन — जर्मनी र युरोपेली संघका अन्य मुलुकहरूले सोमबार बेलायतलाई ब्रेक्जिट सम्झौताको मस्यौदामाथि थप छलफल हुन नसक्ने जनाउ दिएका छन् ।

ब्रेक्जिट सम्झौता मस्यौदाः ईयूले थप छलफल नगर्ने

जर्मनीका कन्जरभेटिभ पार्टी नेता म्यानफ्रेड वेबरले ‘ब्रेक्जिटबारे अब थप छलफल नहुने’ बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनका अनुसार यसबारे बेलायतले अन्तिम निर्णय गर्नुपर्ने अत्यावश्यक छ । वेबरले आगामी वर्ष युरोपेली संघको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै छन् ।


बर्लिनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वेबरले ‘सम्झौताको मस्यौदा टेबलमा छ र यसबारे अब कुनै छलफल नुहुने’ बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । त्यसैगरी, जर्मनीका युरोप मामिला मन्त्री माइकल रथले ‘बेलायतको पक्षमा यो भन्दा राम्रो मस्यौदा नहुने’ दाबी गरे ।


लक्जम्बर्गका विदेशमन्त्रीले पनि सम्झौताबारे थप छलफल हुने सम्भावना नरहेको बताए । मन्त्री जिन आसेलबर्नले भने, ‘सम्झौता नहुनुभन्दा जस्तोसुकै भए पनि हुनु राम्रो हो ।’ उनले सम्झौता बेलायत र युरोपेली संघ दुवैको पक्षमा रहेको दाबी गरे । त्यसैगरी बेल्जियम, नेदरल्यान्ड र चेक रिपब्लिकका मन्त्रीहरूले पनि सम्झौता मस्यौदा अन्तिम भएको धारणा राखेको समाचार संस्था रोयटर्सले जनाएको छ ।


बेलायती प्रधानमन्त्री टेरेजा मे गत साता भएको मस्यौदा सम्झौताको पक्षमा संसद्मा समर्थन जुटाउन संघर्ष गरिरहेकी छन् । तर, उनकै दलका केही राजनीतिज्ञ र विपक्षी दलका सांसदले समेत प्रस्तावित मस्यौदाको विरोध गरिरहेका छन् । बेलायतका दुई वरिष्ठ ब्रेक्जिट मन्त्री डोमिनिक रब र श्रम तथा पेन्सन मन्त्री एस्टर मक्भेले ब्रेक्जिट सम्झौताप्रति असन्तुष्टि जनाउँदै आफ्नो पदबाट राजीनामा दिएका थिए ।


रोयटर्स समाचार संस्थासँग कुरा गर्दै युरोपेली मामिला हेर्ने जर्मनीका मन्त्री माइकल रथले भने, ‘अहिले टेबलमा रहेको सम्झौताभन्दा राम्रो अर्को सम्झौता हुन सक्दैन ।’ ५८५ पृष्ठ लामो मस्यौदामा ब्रेक्जिटपश्चात् २१ महिना संक्रमणकाल रहने उल्लेख छ । सम्झौतामा बेलायतमा रहेका ईयू देशका नागरिक र ईयू देशमा बसेका ब्रिटिस नागरिकलाई काम र अध्ययन गर्न अधिकार प्रदान गरिएको जनाइएको छ ।


बेलायतले ईयूलाई बक्यौता (३९ बिलियन पाउन्ड डिभोर्स बिल) तिर्ने प्रतिबद्धता समेत सम्झौतामा छ । प्रस्तावित सम्झौतामाथि छलफल गरी पारित गर्न आउँदो आइतबार युरोपेली संघका सदस्य मुलुकहरूको शिखर बैठक बस्दै छ । ब्रेक्जिटमा ईयू कमन मार्केट तथा भन्सार संघ छोड्ने र उत्तरी आयरल्यान्डको सीमा समस्या पेचिलो मुद्दा बनेका छन् । आउँदो मार्च २९ तारिख २०१९ का दिन ब्रिटेन युरोपेली संघबाट बाहिरिने मिति तोकिएको छ ।

प्रकाशित : मंसिर ३, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?