२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिका र चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

एएफपी

ब्युनस आयर्स — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ ।

अमेरिका र चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो ।


दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरुमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन ।


दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोज पश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनीयाँ सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ । ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ ।


यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीयाँ राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनस आयर्समा छन् ।


चिनीयाँ विदेशमन्त्री वाङ यीले भने,'यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सम्झौता भएको छ ।'


सम्झौता बमोजिम अर्को वर्षको सुरुबाटै चिनीयाँ सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ । तैपनि, यो आंशिक सम्बोधन मात्र हो ।


झण्डै ५० अर्ब डलर बराबरका चिनीयाँ सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ । साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २ सय अर्ब डलर बराबरका चिनीयाँ सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिएका छन् ।


यहीबीच, चीनले करिब १ सय १० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ ।


चीनमा रहेका व्यापारिक अबरोधहरु, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीहरुका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ । यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीन विरुद्ध थप दण्डात्मक कारबाही गरिने अमेरिकाले चेतावनी दिइआएको छ ।


अमेरिकी राष्ट्रपतिले जारी गरेको एक वक्तव्यमा चीन र अमेरिकासँग असिमित सम्भावनाहरु रहेको बताउँदै चिनीयाँ राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गरेका छन् ।


चिनीयाँ राष्ट्रपति सी जिनपिङले भने, 'हामीबीचको सहयोगात्मक कार्यहरुले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ ।'


दुवै नेताबीचको रात्रिभोज सोचिएको भन्दा लामो समय चलेको थियो । रात्रिभोजमा अमेरिका र चीनका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।

प्रकाशित : मंसिर १६, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?