आदित्यनाथको जनकपुर भ्रमण : नेपाली दूतावास बेखबर

‘यस्तो प्रवृत्तिले संस्थागत मूल्यमान्यता र गरिमा कमजोर पार्नुका साथै राज्यको संस्थागत स्मृति ह्रास गराउँछ’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह–पञ्चमीका दिन अयोध्याबाट ‘भगवान् रामको जन्ती’ लिएर जनकपुर जाने निश्चित भइसक्यो । भारतीय राजदूत मञ्जिभसिंह पुरीले दिल्लीको निर्देशनबमोजिम जनकपुर पुगेर भ्रमण तयारीबारे प्रदेश २ सरकारसँगै छलफल गरिसके ।



तर नयाँदिल्लीस्थित नेपाली दूतावासलाई यसको अत्तोपत्तो छैन । नेपाल सरकारले कुनै जानकारी गराएको छैन ।

कूटनीतिक मामिलाका जानकारहरू सरकारले आफ्नै नियोगहरूलाई उपेक्षा गर्नु गलत भएको बताउँछन् । यसले संस्थागत मूल्यमान्यता र गरिमा कमजोर पार्नुका साथै राज्यको संस्थागत स्मृति ह्रास गराउने परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईको धारणा छ । ‘आफ्ना नियोग परिचालन गर्दा नियोगका अधिकारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै उनीहरूको सम्बन्धित मुलुकका अधिकारीसँग सम्बन्ध विस्तारमा पनि सघाउ पुर्‍याउँछ,’ उनले भने ।

नेपाली पक्षको यही कमजोरीमा टेकेर कतिपय मुलुकले दूतावासलाई उपेक्षा गर्दै सिधै सिंहदरबारसँग सम्पर्क स्थापित गर्ने गरेको एक कूटनीतिक मामिला विज्ञले बताए । परराष्ट्र मन्त्रालयले २०६८ सालमा जारी गरेको कूटनीतिक आचारसंहितामा विदेशी सरकार वा संस्थासँग पत्राचार गर्दा नेपाली नियोगमार्फत गर्नुपर्ने उल्लेख छ । तर मन्त्रालयले महत्त्वपूर्ण विषयमा विदेशस्थित नियोगमार्फत पत्राचार गराउनु त परै, काठमाडौंस्थित विदेशी नियोगलाई गरिएको पत्राचारको विवरणसमेत पठाउँदैन ।

नेपाली दूतावासहरू पाखा लगाइनुमा राजनीतिक नेतृत्व बढी दोषी रहेको पछिल्ला केही घटनाबाट पुष्टि हुन्छ । कात्तिक दोस्रो भारतीय जनता पार्टीनिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालको सहभागिताबारे पनि दूतावास अनभिज्ञ रह्यो । त्यसअघि लखनउमा ‘हिन्दुस्तान दैनिक’ को कार्यक्रमको निम्तो पाएका दाहाल अन्तिम समयमा पुग्न सकेनन् ।

यसबारे पनि दूतावासलाई औपचारिक जानकारी थिएन । कतिपय सांसद तथा उच्च अधिकारीहरू दिल्ली ओर्लेपछि मात्र दूतावासमा सम्पर्क गर्छन् । त्यो पनि दूतावासको गाडी र औषधोपचारलगायत प्रयोजनका लागि आवश्यक भनसुन गराउने उद्देश्यले मात्र ।

भारतका उच्च पदस्थ सरकारी अधिकारीदेखि राजनीतिज्ञसम्मको वैदेशिक भ्रमण हुँदा सबैभन्दा पहिले विदेश मन्त्रालयबाट सम्बद्ध मुलुकका भारतीय दूतावासलाई पत्राचार गरिन्छ । कुनै भारतीय व्यक्तित्व नेपाल भ्रमणमा जाँदा पनि विदेश मन्त्रालयको नेपाल डेस्क हुँदै लैनचौरस्थित भारतीय दूतावासमा खबर गरिन्छ ।

भारतका लागि एक नेपाली पूर्वराजदूत सरकारदेखि राजनीतिक नेतृत्वसम्मले दूतावासलाई प्राथमिकतामा नराखेकामा असन्तुष्टि व्यक्त गर्छन् । ‘आफ्ना नियोगलाई सबैभन्दा पहिले खबर गर्नुपर्ने हो । यो अहिलेको
नभएर पुरानै रोग हो । कतिपय अवस्थामा त परराष्ट्र मन्त्रालयलाई समेत पाखा लगाउने गरिएको छ ।
जबकि अरू मुलुकले दूतावासलाई विशेष प्राथमिकतामा राख्छन्,’ उनले भने ।

मापदण्ड र आचारसंहिता पालनागराउन सक्ने क्षमता र हैसियत मन्त्रालयमा नहुनुलाई उनी दु:खद पक्ष बताउँछन् । आचारसंहिताले राज्यकोषबाट सुविधा लिने जोकोहीलाई जिम्मेवारी, स्तर वा ओहदासँग मेल नखाने कार्यक्रमको निमन्त्रणा स्विकार्न पनि निषेध गरेको छ । पूर्वप्रधानमन्त्रीदेखि बहालवाला सरकारी अधिकारीसम्मले यसको उल्लंघन गर्ने गरेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी विदेशस्थित नियोगको स्थापना र सञ्चालनमा हुने ठूलो लगानी र स्रोतसाधन सदुपयोग गर्न पनि सरकारले तिनलाई बढीभन्दा बढी परिचालन गर्नुपर्ने बताउँछन् ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कक्षा व्यवस्थापनको माग गर्दै तालाबन्दी 

कान्तिपुर संवाददाता

काठमाडौँ — आमसञ्चार तथा पत्रकारिताअन्तरगत स्नातकोत्तर तहको दोस्रो सेमेष्टरका विद्यार्थीहरुले त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागमा तालाबन्दी गरेका छन् ।

पहिलो सेमेष्टर देखि नै कक्षा कोठाको व्यवस्था नभएको र बेलाबेलामा कोठा परिवर्तन गर्दा पढाईमा अवरोध पुगेको भन्दै उनीहरुले बिहीबारप्रदर्शनी मार्गस्थित विभाग कार्यालयमा तालाबन्दी गरेका हुन।

पढाई हुँदै अाएकाे काेठा अारअार कलेज व्यवस्थापनले बन्द गरे पछिविद्यार्थीहरु अान्दाेलित भएका हुन ।उनीहरुले माग सम्बोधन नभएसम्म तालाबन्दी नखुल्ने चेतावनी दिएका छन्।

प्रकाशित : मंसिर २०, २०७५ ०८:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT