खसोग्गी हत्या : राजकुमारका दुई सहयोगी पक्राउ गर्न माग

एजेन्सी

इस्तानबुल — टर्कीले पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणमा राजकुमार मोहम्मद विन सलमानका निकट २ उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गर्न साउदी अरबसँग माग गरेको छ । साउद अल–कहतानी र अहमद असिरीविरुद्ध पक्राउ वारेन्ट जारी गर्न टर्कीले माग गरेको हो ।

खसोग्गी हत्या : राजकुमारका दुई सहयोगी पक्राउ गर्न माग

हत्यालगत्तै उनीहरूलाई पदबाट हटाइएकाले उनीहरूमाथि नै आशंका रहेको निष्कर्ष निकाल्दै इस्तानबुलस्थित मुख्य सरकारी वकिलको कार्यालयले मंगलबार वारेन्टका निवेदन फाइल गरेको हो ।


अमेरिकामा रहँदै आएका वासिङटन पोस्टका स्तम्भकार खसोग्गी गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी कन्सुलेटमा पसेको केही बेरमै मारिएका थिए । ‘असिरी र कहतानीविरुद्धको पक्राउ वारेन्ट जारी गर्ने अभियोक्ताको कदमले साउदी अधिकारीहरू हत्यामा संलग्न व्यक्तिविरुद्ध औपचारिक रूपमा केही पनि कारबाही गर्न चाहँदैनन् भन्ने प्रतिविम्बित गर्छ,’ टर्कीका एक अधिकारीले भने ।


उनले साउदी अरबले सबै शंकास्पदलाई सुपुर्दगी गरेर अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न सक्ने पनि बताए । एएफपीका अनुसार वारेन्ट मंगलबार नै फाइल गरिए पनि यसबारे साउदी अरबले सार्वजनिक रूपमा केही प्रतिक्रिया जनाएको छैन ।


वारेन्ट जारी गर्न माग गरिएका अल–कहतानी हत्यामा संलग्नमध्येका उच्च अधिकारी हुन् । उनी राजकुमार सलमानका दाहिने हात मानिन्छन् । ४० वर्षीय कहतानीलाई हत्यालगत्तै शाही अदालतले पदबाट हटाएको थियो । उनैले हत्याका लागि इस्तानबुलसम्म खटिएको १५ सदस्यीय टोलीको अनुगमन गरेको बताइएको छ । उनी आफू भने टर्की गएका थिएनन् ।


यस्तै, असिरी पहिले राजकुमार सलमानका सल्लाहकार थिए । त्यसपछि उनलाई यमनमा साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता बनाइएकोमा सन् २०१७ मा बढुवा गरिएको थियो । यमनमा भएको युद्धमा मानवअधिकार उल्लंघनको विषयलाई लिए मानवअधिकारवादीहरूले बेला–बेलामा उनको आलोचना गर्ने गरेका थिए ।


यसअघि टर्कीले हत्यामा संलग्न भएको भन्दै १८ व्यक्तिलाई सुपुदर्गी गर्न साउदी अरबलाई आग्रह गरेको थियो । त्यसमा कुनै प्रतिक्रिया नजनाएपछि अहिले नाम तोक्दै वारेन्ट जारी गरिएको हो । साउदी अरबले हत्यामा संलग्न भएको आशंकामा २१ व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाइएको छ ।


अमेरिकी गुप्तचर निकाय सीआईएकी निर्देशक जिना हास्पेलले अमेरिकी सिनेटरसमक्ष खसोग्गी हत्याकाण्डमा नयाँ प्रमाण रहेको जानकारी दिएको केही घण्टामा टर्कीले वारेन्टको निवेदन फाइल गरेको हो ।


रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले हत्यामा राजकुमार सलमानको संलग्नता नहुनुमा ‘शून्य सम्भावना’ रहेको बताए । तर अमेरिकी दबाबबिना साउदी अरबले टर्कीको माग मान्ने सम्भावना कम रहेको बताइएको छ ।


साउदी योजनामा खसोग्गीको हत्या भएको रियादले स्वीकार गरे पनि शव अझै कहाँ छ भन्ने थाहा छैन ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?