हुवावे कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ,चीनको विरोध

एएफपी

ओट्टावा — चीनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएपछि चीनले आपत्ति जनाएको छ ।

मेङलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन्। ओट्टावास्थित चिनीयाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।

Yamaha

मेङ वानझाउ हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत हुन्। इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान सुरु गरेको बताइएको छ।

अमेरिकी गुप्तचर अधिकारीहरुले हुवावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन्।

संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनावका सन्दर्भमा तीन महिने युद्धविराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ। दुवै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ।

मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ। साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ। मध्यान्हसम्म साङघाइ स्टक एक्सचेन्ज एक दशमलव ३ र हङकङ स्टक दुई दशमलब ६ प्रतिशतले घटेको छ।

'चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ, र संयुक्तराज्य अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरुले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्,'अमेरिकी सिनेटर बेन सास्सेले बताए।

उनले जारी गरेको एक वक्तव्यमा भनिएको छ,' कहिलेकाहिँ चिनीयाँ अतिक्रमण पूरै राज्य–प्रबन्धित देखिन्छ भने कहिलेकाहिँ चीनका तथाकथित निजी कम्पनीहरुले यो कार्य गरिरहेका छन्।'

क्यानाडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ। मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको बताएको छ। मेङका पिता एवं हुवावेका संस्थापक रेन झेङफाई चिनीयाँ जनमुक्ति सेनाका पूर्व इन्जिनियर हुन्।

हुवाएले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ।

कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ,'हुवाएले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ। राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरु एवं नियमहरुलाई पूर्ण पालना गरिएको छ।'

वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी न्याय विभागले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवाएले उल्लंघन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो।

प्रकाशित : मंसिर २०, २०७५ १५:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ को स्थायी राजधानी र नामांकनबारे सुझाव संकलन सुरु

रासस

वीरगञ्ज — प्रदेश २ को स्थायी राजधानी र नामांकनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली बिहीबार पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ । 

हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेश नं २ को आठ वटै जिल्लामा सुझाव संकलन गरी ४५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछन् ।

यसै क्रममा संवाद तथा सुझाव आयोगले आज वीरगञ्जमा प्रदेश नं २ को प्रदेश राजधानी र प्रदेशको नामांकन सम्बन्धित सुझाव संकलन कार्यको थालनी गर्दै एक कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक दृष्टिकोणले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोणले वीरगञ्ज समृद्ध भएको, अन्तर्राष्ट्रिय मापदण्ड वीरगञ्जमा भएको, मधेश आन्दोलनको उद्गमस्थल वीरगञ्ज भएको धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा विभिन्न वक्ताले प्रदेश नं २ को नाम—जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेश हुनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : मंसिर २०, २०७५ १५:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT