कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१८ वर्षपछि मर्केलको पार्टीबाट अवकाश

एएफपी

ह्यामवर्ग — करिब दुई दशक पार्टीको नेतृत्वमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केलले शुक्रबार अवकाशको घोषणा गरेकी छन् । 

१८ वर्षपछि मर्केलको पार्टीबाट अवकाश

मर्केलले सन् २०२१ देखि राजनीतिबाट संन्यास लिने घोषणा यसअघि नै गरेकी थिइन् । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका आलोचकबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धाको नतिजाले ६४ वर्षीया मर्केल सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने टुंगो लाग्नेछ ।


पछिल्लो समय आप्रवासीप्रति मर्केलले नरम नीति अख्तियार गरेको भन्दै आलोचना हुने गरेको थियो । त्यसका साथै हालै भएका चुनावमा खराब नतिजापछि उनीमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको थियो । ‘१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ । यो निकै लामो अवधि हो, र यसबीचमा सीडीयूमा धेरै उतार–चढाव आएको छ,’ हयामवर्गमा आयोजित पार्टी भेलाका क्रममा पत्रकारसँग उनले भनिन्, ‘तर हामीले मिलेरै चारवटा चुनाव जित्यौं, र म सन् २०२१ सम्म चान्सलर अवश्य रहनेछु ।’


मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहेकी छन् । उक्त अवधिमा उनले जर्मनीलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रूपमा उभ्याएकी छन् । पार्टी नेतृत्वका लागि सीडीयूका उपप्रमुख आन्निग्रेट क्राम्प–कारेन्बर (एकेके) र फ्रेड्रिक मर्जबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उनीहरूबीच मर्केल नीति पछयाउने वा त्याग्नेबारे विवाद र बहस जारी छ ।


त्यसैगरी, हालका स्वास्थ्यमन्त्री हेन्स स्पान्हलाई पनि कमजोर प्रतिस्पर्धीका रूपमा लिइएको छ । उनी चान्सलर मर्केलका कटु आलोचक हुन् । उनले जर्मनीमा दस लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई स्वागत गर्ने मर्केल नीतिको पटक–पटक आलोचना गर्दै आएका छन् ।


हयामवर्गमा भेला भएका एक हजार प्रतिनिधिले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् । एकेकेमाथि मर्केलको बलियो सहयोग र समर्थन रहेको जनाइएको छ । मर्केलका निकट मानिएका अर्थमन्त्री पिटर अल्टमायरले पार्टीलाई एकताबद्ध गराउन सक्ने व्यक्ति एकेके नै रहेको भन्दै खुलेर समर्थन गरेका छन् ।


सीडीयूले जुनसुकै धार समाए पनि सत्ता साझेदार दल सोसल डेमोक्रयाट्स (एसपीडी) ले मर्केलको भविष्य निर्धारण गर्न सक्ने अनुमान पनि गरिएको छ । एसपीडी लामो समयदेखि मर्केलको छायामा परेको भन्दै पार्टी नेर्तत्वको आलोचना भइरहेको छ ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?