कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फ्रान्समा प्रदर्शन चर्कियो

राष्ट्रपतिको राजीनामा माग
मुख्य सहर ठप्प
१ हजार ७ सय पक्राउ
एएफपी

पेरिस — फ्रान्समा राष्ट्रपति एम्यानुयल म्याक्राेंको राजीनामा माग गर्दै गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

फ्रान्समा प्रदर्शन चर्कियो

प्रदर्शनमा उत्रिएका १ हजार ७ सय २३ पहेंलो टिसर्टधारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तीमध्ये १ हजार २ सय २० लाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ ।


नोभेम्बर १७ देखि हरेक साताको अन्त्यमा गरिँदै आएको प्रदर्शनका कारण देशका प्रमुख सहरको जनजीवन प्रभावित छ । इन्धनको करमा गरिएको वृद्धिको विरोधमा ट्याक्सी चालकले सुरु गरेको आन्दोलनमा सर्वसाधारण मिसिएपछि सरकारले निकै ठूलो दबाब झेल्नुपरेको छ । सर्वेक्षणका अनुसार राष्ट्रपति म्याक्रोंको लोकप्रियता २३ प्रतिशतमा झरेको छ ।


गत साता प्रधानमन्त्री एडुवार्ड फिलिपले आगामी जनवरीदेखि लागू हुने गरी बढाइएको इन्धन कर फिर्ताको घोषणा गरेका थिए । तर प्रदर्शनकारीले दैनिक जीवनयापन निकै महँगो भएको भन्दै राष्ट्रपति म्याक्रोंको राजीनामा माग्दै प्रदर्शन झन् चर्काएका हुन् ।


आन्तरिक मन्त्रालयले आइतबार गरिएको विरोध प्रदर्शनमा भएका झडपमा परी कम्तीमा १ सय ५० घाइते भएको जनाएको छ । तीमध्ये १७ सुरक्षाकर्मी छन् । प्रदर्शनमा कम्तीमा १ लाख २५ हजार मानिस सहभागी थिए । ९० हजार सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ ।


राजधानी पेरिसमा मात्रै १० हजारभन्दा बढी विरोधमा उत्रेका थिए । आन्तरिक मामिला मन्त्रालयका अनुसार पेरिसमा ८ हजार सुरक्षाकर्मी तथा हतियारजडित १२ गाडी तैनाथ थिए ।


प्रदर्शनकारीले भवनमा आगजनी गर्नुका साथै गाडी तथा पसलहरू तोडफोड गरेका छन् । प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाउनुका साथै सर्वसाधारणलाई पैदल हिँड्न समेत रोक लगाएका थिए । यद्यपि, आइतबार गरिएको प्रदर्शन गत साताको तुलनामा केही शान्त भएको बीबीसीले उल्लेख गरेको छ ।


स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीलाई प्रहार गरिएको रबरको गोली लागि ३ पत्रकार घाइते भएका छन् । फ्रान्सको सीमाक्षेत्र बेल्जियमका युवाले पनि ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा भाग लिएको जनाइएको छ ।


प्रधानमन्त्री फिलिपले राष्ट्रिय एकताका लागि आह्वान गर्दै प्रदर्शनकारीलाई शान्तिपूर्ण विरोध गर्न आग्रह गरेका छन् । उनले समस्या समाधानका लागि छलफलको विकल्प नभएको जनाए । राष्ट्रपति म्याक्रोंले ‘वार्ताका लागि आवश्यक वातावरण तयार पार्ने’ फिलिपले बताए । म्याक्रोंले ट्वीटरमार्फत ‘साहस र व्यावसायिकता’ निर्वाह गरेको भन्दै सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।


फ्रान्समा एक वर्षयता डिजेलमा करिब २५ प्रतिशत मूल्यवृद्धि भएको छ । हालको मूल्य सन् २००० यताकै बढी भएको बीबीसीले जनाएको छ । सरकारले आगामी जनवरीदेखि डिजेलमा ६ दशमलव ५ र पेट्रोलमा २ दशमलव ९ सेन्ट मूल्य बढाउने निर्णय गरेपछि विरोध प्रदर्शन चर्केको हो ।


म्याक्रोंले देशवासीलाई सम्बोधन गर्ने

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति एम्यानुएल म्याक्रोंले सम्बोधन गर्ने भएका छन् । सरकारले राष्ट्रपतिको सम्बोधनले देशमा जारी समस्या समाधान हुने जनाएको छ ।


‘राष्ट्रपतिको सम्बोधनमा केही महत्त्वपूर्ण घोषाणा हुनेछन्,’ सरकारका प्रवक्ता बेन्जामिन ग्रिभेअक्सले भने, ‘यद्यपि, प्रदर्शनकारीका सबै समस्या भने समाधान नहुन सक्छन् ।’ उनले राष्ट्रपतिको सम्बोधनबारे विस्तृत विवरण भने बताएनन् ।


चार सातादेखि देशका मुख्य सहरमा विरोध प्रदर्शन भइरहे पनि म्याक्रोंले कुनै धारणा सार्वजनिक नगरेको भन्दै उनको आलोचना हुँदै आएको छ । यसअघि नोभेम्बर २७ मा राष्ट्रका नाममा गरेको सम्बोधनमा म्याक्रोंले ‘हिंसात्मक प्रदर्शनकारीको दबाबमा आफ्नो नीति परिवर्तन नगर्ने’ बताएका थिए ।


गतसाता जी–२० सम्मेलनबाट स्वदेश फर्केलगत्तै उनले आकस्मिक सुरक्षा बैठक गरेका थिए । उनले खनिज इन्धनसम्बधी सरकारी नीति उपयुक्त भएको दाबी गर्दै आएका छन् । तर उनको उक्त नीतिका कारण फ्रान्समा विरोध प्रदर्शन सुरु भएको हो ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?