मुराद र मुक्वेगेलाई नोबेल शान्ति

एजेन्सी

ओस्लो — युद्धका समयमा हुने बलात्कार तथा यौनहिंसाविरोधी अभियन्तालाई यसवर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । 

मुराद र मुक्वेगेलाई नोबेल शान्ति

नर्वेको ओस्लो टाउन हलमा सोमबार आयोजित समारोहमा नादिया मुराद र डेनिस मुक्वेगेलाई पुरस्कार प्रदान गरिएको हो । उनीहरुले पदकसहित संयुक्त रूपमा १० लाख स्वीडिस क्रोनर प्राप्त गरे । इराकको कुर्दिस अल्पसंख्यक समुदायकी २५ वर्षीया मुराद बलात्कारपीडित युवती हुन् ।


इस्लामिक स्टेट (आईएस) लडाकुबाट बलात्कृत भएपछि यौनदासीका रूपमा मुरादले चरम यातना भोगेकी थिइन् । उनले २०१६ मा युरोपेली परिषद्ले प्रदान गर्ने भक्लाभ हाभेल मानव अधिकार पुरस्कार पाएकी थिइन् ।


६३ वर्षीय मुक्वेगे कंगोका चिकित्सक हुन् । उनले सहकर्मीको सहयोगमा बलात्कार तथा यौनहिंसाबाट पीडित ३० हजारभन्दा बढी महिलाको उपचार गरिसकेका छन् । डाक्टर मिराकल (चामत्कारिक चिकित्सक) का रूपमा चर्चित मुक्वेगेले सामूहिक बलात्कार र दण्डहीनताका घटनाको निरन्तर निन्दा गर्दै आएका छन् ।


सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति तथा संस्था गरी ३३१ सिफारिसमा परेका थिए । सन् २०१६ मा सर्वाधिक ३७६ मनोनयनमा परेका थिए । पुरस्कार पाउनेमा हालसम्म ८९ पुरुष, २७ संस्था र १७ महिला छन् ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?