कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनद्वारा दुई क्यानेडेली पक्राउ

एएफपी

बेइजिङ — चीनले राष्ट्रिय सुरक्षामा हानि पुर्‍याएको आरोपमा २ क्यानडेली नागरिकलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा व्यवसायी माइकल स्पाभोर र पूर्व कूटनीतिज्ञ माइकल कोभरिङ छन् ।

चीनद्वारा दुई क्यानेडेली पक्राउ

उनीहरूको पक्राउलाई मेङ्ग बान्जुमाथि चलाइएको मुद्दाको प्रतिशोध रहेको जनाइएको छ । स्पाभोरले चीन र उत्तर कोरियाको सीमा क्षेत्रमा पर्ने डाङडोङ क्षेत्रमा व्यवसायमा संलग्न छन् । उनको उत्तर कोरिया सरकारसँग निकट सम्बन्ध रहेको छ । स्पाभोरले सन् २०१३ मा प्योङयाङ भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गरेका थिए ।


पूर्व कूटनीतिज्ञ कोभरिङ इन्टरनेसनल क्राइसिस ग्रुप (आईसीजी) सँग आबद्ध छन् । उनले यसअघि हङकङ तथा संयुक्त राष्ट्रसंघको मुख्यालयमा समेत काम गरिसकेका छन् । आईसीजीले उनको स्वास्थ्य र सुरक्षाबारे गम्भीर चासो व्यक्त गरेको छ ।


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले आईसीजे गैरसरकारी संस्थाका रूपमा दर्ता नरहेकाले यसका कर्मचारीले चीनमा काम गर्नु गैरकानुनी भएको बताए । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत तथा उपाध्यक्ष मेङ्ग पक्राउ परेपछि दुई देशबीच तनाव बढेको हो । क्यानडाले उनलाई अमेरिकाको आग्रहमा पक्राउ गरिएको जनाएको थियो ।


उनलाई क्यानडाको एक अदालतले मंगलबार सर्तसहितको जमानतमा रिहा गरेको थियो । उनलाई ठगी गरेको आरोपमा अमेरिका सुपुदर्गी गर्न सकिने जनाइएको छ । तर आफूले कुनै पनि गलत कार्य नगरेको मेङ्गको दाबी छ ।


अदालतले मेङ्गमाथि ७५ लाख अमेरिकी डलर जमानत जम्मा गर्न तथा क्यानडेली सरकारलाई पासपोर्ट बुझाउन आदेश दिएको थियो । गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरमा मेङ्ग पक्राउ परेपछि चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।


चीनले मेङ्गको गिरफ्तारीको भत्र्सना गर्दै बेइजिङस्थित अमेरिका र क्यानडाका राजदूतलाई बोलाएर सोधपुछ गरेको थियो । साथै अदालतबाट भएको सर्तसहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ ।


अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धलाई हुवावेले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । हुवावे प्रविधिको क्षेत्रमा चीनको विश्वव्यापी पहुँच रहेको मुख्य कम्पनी हो । तर हुवावेले उपलब्ध गराएका कतिपय सेवामाथि अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतले सुरक्षाको कारण दर्साउँदै प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?