१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

केसीआर पुन: तेलांगनाका मुख्यमन्त्री

सुरेशराज न्यौपाने

नयाँदिल्ली — तेलांगना राष्ट्र समिति (टीआरएस) प्रमुख के चन्द्रशेखर राव (केसीआर) ले भारतकै सबैभन्दा कान्छो राज्यको मुख्यमन्त्रीको शपथ लिएका छन् ।

केसीआर पुन: तेलांगनाका मुख्यमन्त्री

७ डिसेम्बरमा भएको चुनावमा टीआरएसले अत्यधिक बहुमत हासिल गरेपछि राव दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्न सफल भएका हुन् ।


मंगलबारको मतगणनामा केसीआरले १९९ विधानसभा सिटमध्ये ८८ जितेका हुन् । भारतीय राष्ट्रिय कंग्रेस र तेलगुदेशम पार्टी (टीडीपी) को गठनबन्धन २१ सिटमा विजयी भयो । टीआरएसको ऐतिहासिक जितका पछाडि केसीआर नेतृत्वको सरकारले विगत ५ वर्षमा लिएको जनमुखी कार्यक्रमको सुखद परिणामका रूपमा लिइएको छ ।


भारतीय अंग्रेजी दैनिक द हिन्दुका तेलांगना ब्युरो प्रमुख रवि रेड्डी पनि टीआरएसको जितमा विशेषगरी कल्याणकारी कार्यक्रमहरूकै हात रहेको बताउँछन् । ‘अरू राजनीतिक समीकरणभन्दा पनि वृद्ध र गरिब भत्ता, कृषकलाई अनुदान, किसान बिमा आयोजना लगायतका कल्याणकारी कार्यक्रमले नै टीआरएसलाई जित दिलाएको हो,’ रेड्डीले भने ।


तेलंगनासहित विभन्न पाँच राज्यमा भएको हालै भएको विधानसभा चुनावमा भारतीय जनता पार्टीले नमीठो हार बेहोरेको छ । भाजपाको बलियो आधार क्षेत्र मानिएका राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा उसले बिर्सने नसकिने पराजय बेहोरेको छ ।


भाजपाको नेतृत्व तहदेखि प्रदेशका नेतृत्व तहसम्मले पार्टीको नमीठो हारको पछाडि उल्लेखनीय काम गर्दागर्दै पनि सरकारविरुद्धको जनमत (एन्टिइन्केम्बसी) प्रमुख कारण दाबी गरेका छन् । तर, टीआरएसले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने जनपक्षीय कार्यक्रम लागू गरेको खण्डमा जनताको अभिमत जित्न सक्ने प्रमाणित गरेको छ ।


जब कि विधानसभाको पूर्णकार्यकाल सकिनु ६ महिनाअघि नै चुनावको घोषणा गरेकाले त्यसले टीआरएसलाई नोक्सान हुने विश्लेषकले दाबी गरेका थिए । त्यसका साथै कंग्रेस र टीडीपीबीचको चुनावी गठबन्धनले अप्ठ्यारो पार्ने अनुमान गरिएको थियो । तर ती सबै अनुमानलाई गलत सावित गर्दै आफ्नो सिट संख्या ५ वर्ष अघिभन्दा पनि उल्लेख्या मात्रा वृद्धि गर्न सफल भएको छ ।


भारतको सबैभन्दा कान्छो राज्य घोषणापछि सन् २०१४ मा भएको पहिलो विधानसभा चुनावमा टीआरएसले ६३ सिट मात्र जितेको थियो ।


टीआरएसको ऐतिहासिक सफलताका पछाडि विगत पाँच वर्षमा लागू गरिएका विभिन्न कल्याणकारी योजनाका साथै कृषि क्षेत्र र किसान लक्षित कार्यक्रमको भूमिका महत्त्वपूर्ण मानिएका छन् । केसीआर सरकारले विभिन्न योजना र कार्यक्रममार्फत समाजका हरेक तप्कालाई छुने प्रयास गरेको थियो ।


ठूला आश्वासन र घोषणाभन्दा पनि केसीआर सरकारले लागू गरेका किसान पेन्सन, चौबिसै घण्टा पानी, सुपथ आवास योजना, छोरीको बिहेमा एक लाख रुपैयाँ नगद अनुदानजस्ता कार्यक्रमले मतदाता रिझाएको मतपरिणामबाट पनि प्रस्ट हुन्छ ।


साथै बहुसंख्यक जनता कृषिमा आाश्रित तेलांगनामा कालेश्वरम सिँचाइजस्ता महत्त्वाकांंक्षी योजनाले पनि टीआरएस मतदाताको छनोटमा परेको विश्लेषकको दाबी छ । करिब ८० हजार करोड भारु लगानीमा निर्माण हुँदै गरेको यो योजनाले करिब १८ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?