इन्डोनेसियामा फेरि सुनामीको खतरा

मृतकको संख्या ३७३ पुग्यो
बीबीसी

जाकार्ता — इन्डोनेसियाको अनक क्रकटाउ ज्वालामुखी क्षेत्र वरपरका तटीय स्थानमा थप सुनामी आउने चेतवानी जारी गरिएको छ । अधिकारीले मानिसलाई तटीय क्षेत्रभन्दा पर रहन भनेका छन् ।

इन्डोनेसियामा फेरि सुनामीको खतरा

अनक क्रकटाउ ज्वालामुखीबाट सोमबार फेरि खरानी तथा धुवाँका मुस्लो निस्किएपछि पुन: सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको हो । गत शुक्रबार राति अनक क्रकाटाउ ज्वालामुखी विस्फोटपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ३ सय ७३ पुगेको अधिकारीले जनाएका छन् ।


उद्धारकर्ताहरूले सुनामीका कारण फसेका मानिसको खोजी जारी राखेका थिए । शुक्रबार सुमात्रा तथा जाभा टापुका तटीय नगरमा दुई शक्तिशाली छाल आएका थिए । सुनामीका कारण १ हजार ४ सय ५९ घाइते छन् । अधिकारीका अनुसार अझै १ सय २८ हराइरहेका छन् ।


ज्वालामुखीका कारण समुद्रमुनि पहिरो गएपछि सुनामी उत्पन्न भएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रमुख सुटोपो पुर्वो नुग्रोहोले जाभामा सोमबार आयोजित पत्रकार सम्मेलनमा फेरि पनि सुनामी आउने सम्भावना कायमै रहेको बताए । उनले भने, ‘अनक क्रकटाउमा ज्वालामुखी निरन्तर विस्फोट निरन्तर भइरहेकाले सुनामीको खतरा बाँकी छ ।’


नुग्रोहोले ‘मौसम, जलवायु तथा भूगर्भसम्बन्धी निकायको सुझावका आधारमा अझै केही दिन मानिसलाई तटीय क्षेत्रमा नरहन सूचना जारी गरिएको’ बताए । क्रकाटाउ सन् १९२७ देखि सक्रिय ज्वालामुखी हो ।


नुग्रोहोले सोमबार सुनामीको पूर्वचेतावनी दिन नसकिएको प्रस्ट पार्दै विभिन्न टीट गरेका थिए । उनले भूकम्पपछिको सुनामीबारे चेतावनी दिए पनि समुद्रमुनिको भूक्षय तथा ज्वालामुखीको संकेत दिने प्रविधि नभएको बताए ।


उनले विश्वमा सक्रिय ज्वालामुखीमध्ये १३ प्रतिशत इन्डोनेसियामा रहेकाले त्यस्तो प्रविधि जडान गर्नु महत्त्वपूर्ण रहेको धारणा राखे । इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने प्रशान्त महासागरको तटीय इलाकामा पर्ने भएकाले भूकम्प तथा ज्वालामुखीको उच्च जोखिमको क्षेत्र हो ।


समुद्रमुनि हुने ठूलो हलचलका कारण उत्पन्न हुने छाललाई सुनामी भनिन्छ । सुनामी खासगरी भूकम्पका कारण उत्पन्न हुने गर्छन् ।

प्रकाशित : पुस १०, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?