उत्तर कोरियालाई ५० करोड डलर तिर्न आदेश 

एपी

वासिङटन — अमेरिकाको एक अदालतले एक मुद्दाको फैसला गर्दै उत्तर कोरियालाई ५० करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । 

ओट्टो वार्मवियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै वासिङटनस्थित जिल्ला अदालतले उक्त फैसला गरेको हो । उत्तर कोरियामा पक्राउ परेका अमेरिकी विद्यार्थी वार्मवियरको मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष मृत्यु भएको थियो ।


अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वार्मवियरको मृत्यु हुनुमा उत्तर कोरिया दोषी देखिएको उल्लेख छ । वार्मविरका बाबुआमाले उत्तर कोरियामा उनलाई पक्राउपछि चरम यातना दिइएको भन्दै क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेका थिए ।


अमेरिकाको भर्जिनिया विश्वविद्यालयका विद्यार्थी वार्मवियर घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया गएका थिए । कोरियाली अधिकारीले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वार्मवियरलाई १५ वर्षको जेल सजाय दिइएको थियो ।


उत्तर कोरियामा उपचारका लागि कोमामा राखिएका उनलाई जुन २०१७ मा अमेरिका फर्काइएको थियो ।


५ दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वार्मवियरको स्वास्थ्य अवस्थामा कुनै खराबी नभएको जनाइएको छ ।


उनको मृत्युका समय अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध निकै तनावपूर्ण थियो । खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुई मुलुकबीचको सम्बन्ध बिग्रेको थियो ।


अदालतले मंगलबार गरेको आदेश सांकेतिक भएको जनाइएको छ किनकि उत्तर कोरियाले मुद्दाको सुनुवाइका क्रममा आफ्नो पक्ष राखेको छैन ।


अदालतको आदेशबमोजिमको क्षतिपूर्ति दिलाउन तत्काल सम्भव नभए पनि अदालतको आदेशका कारण वार्मवियरका परिवारले अमेरिकी सरकारबाट क्षतिपूर्ति रकम प्राप्त गर्ने बाटो खुलेको छ


साथै, अदालतले तोकिए बमोजिमको रकम अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट समेत जफतका लागि अमेरिकाले पहल गर्न सक्ने जनाइएको छ ।

प्रकाशित : पुस १०, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?