भारतकै लामो पुल सञ्चालनमा

नयाँदिल्ली — भारतका उत्तरपूर्वी राज्यहरू असम र अरुणाचल प्रदेशलाई आर्थिक र सामाजिक हिसाबले जोड्न महत्त्वपूर्ण मानिएको बोगिबिल पुल मंगलबारदेखि सञ्चालनमा आएको छ ।

भारतकै लामो पुल सञ्चालनमा

ब्रह्मपुत्र नदीमाथि निर्माण गरिएको ४.९४ किलोमिटर लामो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उद्घाटन गरेका हुन् । उद्घाटनपछि मोदीले बोगिबिल पुल मात्र नभई ‘अरुणाचल र असाम राज्यका जनताका लागि जीवनरेखा भएको’ बताए ।

भारतको सबैभन्दा लामो बोगिबिलमा रेल तथा सवारीसाधान चल्ने गरी बनाइएको छ । राजधानी नयाँदिल्ली र उत्तरपूर्वी राज्यबीचको भौगोलिक दूरी घटाएको पुल चीनको सीमानजिकै भएकाले पनि रणनीतिक र सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण ठानिएको छ । भारत र चीनबीचको करिब ४ हजार किलोमिटर लामो सीमामध्ये करिब ७५ प्रतिशत अरुणाचलका सात जिल्लामा पर्छ ।

ती जिल्ला पूर्वाधारका हिसाबले कमजोर मानिन्छन् । भारतको तुलनामा चीनले आफ्नो क्षेत्रमा पूर्वधारमा उल्लेख्य सुधार ल्याएको छ । मोदी नेतृत्वको सरकारले आफ्नो पूर्व हेर्ने नीति (लुक इष्ट पोलिसि) अन्तर्गत पूर्वोत्तर राज्यमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ ।

चीनसँग विगत लामो समयदेखि कायम सीमा विवादका कारण पनि भारतले पूर्वोत्तर राज्यहरूमध्ये पनि अरुणाचल प्रदेशलाई संवेदनशील ठान्दछ । त्यस कारण पनि दुई मुलुकबीच हुने सम्भावित सीमा विवादका बेला आफ्नो सुरक्षा उपस्थिति बलियो पार्न पनि बोगिबिल पुल महत्त्वपूर्ण हुने ठानिएको छ ।

पुल सञ्चालनमा आएसँगै असम र अरुणाचल प्रदेश आर्थिक र सामाजिक हिसाबले निकट हुने अपेक्षा गरिएको छ । असमको डिब्रुगढ सहरबाट १७ किमि तल निर्मित पुलले असम र अणाचलका तुलनात्मक रूपले पिछडिएका क्षेत्रबीच सम्पर्क स्थापित गरेको जनाइको छ । ५ हजार ९ सय करोड भारु खर्चिएर बनाइएको दुईतले पुलमा तल्लो भागमा रेलका दुई लाइन छन् । माथिल्लो भागमा ३ लेनको सडक छ । भूम्पकप्रतिरोधी प्रविधिअनुसार निर्माण पुलको आयु करिब १२० वर्ष हुने दाबी गरिएको छ ।

प्रकाशित : पुस ११, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?