३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

२०१८ का बिर्सन नहुने विश्व-घटनाहरु

गोविन्द पोखरेल

काठमाडौँ — सन् २०१८ भएका थुप्रै घटनाहरुका कारण यो इतिहासमा अविष्मरणीय वर्षका रुपमा दर्ज हुन सफल रह्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका नेताहरु माझ मचाएको कोकोहोलोदेखि इण्डोनेसियामा वर्षको अन्तिम महिना आएको सुनामीसम्मका कारण यो अंग्रेजी वर्षलाई धेरैले आफ्नो सुविधा अनुसार याद गर्ने छन् ।

२०१८ का बिर्सन नहुने विश्व-घटनाहरु

विश्व राजनीतिमा अमेरिका र चीनबीचको व्यापार युद्ध, रुस र बेलायतबीच नोकझोक, पाकिस्तान र भारतबीचको पुरानै झगडा, यूरोपीयन यूनियनबाट बेलायत बाहिरिने विषय र उत्तर कोरियाली नेता किम अनि सिरियाली युद्धका बारे चर्चा भए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्ता, उत्तर र दक्षिणी कोरियाली नेताहरुको मिलन, पत्रकार जमाल खसोग्गीको हत्या, चिनियाँ वैज्ञानिकले जीन सम्पादन गरेर बच्चा जन्माएको दाबी, विश्वको सबैभन्दा लामो र अग्लो मूर्तिको उद्धघाटनले पनि यो वर्ष चर्चा पाए । रुसको सैन्य प्रर्दशनदेखि दुई पूर्व रुसी कुटनीतिज्ञमाथि बेलायतमा गरिएको हमलाले रुसमाथि धेरै प्रतिबन्धहरु पनि थपिए ।

प्राकृतिक प्रकोप र आतांककारी हमलाबाट यो वर्ष पनि मुक्त हुन सकेन । सन् २०१८ लाई बिदा गर्नुअघि वर्षमा भएका प्रमुख घटनाहरुलाई संक्षिप्तिकरण गर्ने प्रयास गरिएको छ ।

मीटू

महिलामाथि भएको यौन दुर्व्यवहारका साथै शारीरिक र मानिसक शोषणको विषयलाई लिएर उठेको आवाज सन् २०१८ मा जोडका साथ उठ्यो । जनवरी १ तारिखका दिन हलिउडका करिब ३ सय महिलाहरुले ‘टाइम्स अप’भन्दै दशकौँ अगाडि देखिको यौन दुर्व्यवहारको विषयलाई लिएर आवाज उठाए । अभियान अन्तर्गत जनवारी ११ तारिखका दिन चीनको बेइजिङस्थित बेइहाङ विश्वविद्यालयका एक प्रोफेसर माथि यौन दुर्व्यवहारको आरोप लाग्यो ।

सन् २००४ मा एक महिलामाथि गरेको यौन दुर्व्यवहारका कारण सेम्टेम्बर २५ तारिखका दिन हलिउडका कमेडियन कलाकार बिल कोस्बीलाई तीनदेखि १० वर्षसम्मको जेल सजाय तोकियो । सिएनएनले हलिउड स्टार मोर्गेन फ्रिमेनले धेरै महिलाहरुलाई यौन दुर्व्यवहार गरेको कुराको पर्दाफास समेत गरिदियो ।

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले गरेका यौन हिंसाका घटना पनि मीटू अभियान अन्तर्गत सार्वजनिक भयो । उनले पदबाट राजिनामा दिनुपर्‍यो । भारतका धेरै मिडिया हाउसहरुमा यसको आवाज उठ्यो । कतिले माफी मागे त कतिले राजिनामा दिए । नेपालमा यो अभियान खासै प्रभावकारी भएन । काठमाडौं महानगरापालिकाका पूर्व मेयर एवं प्रदेश नम्बरका ३ मा मन्त्री पदबाट हटाइएका केशव स्थापितलाई पनि यौन दुर्व्यवहारको आरोप लाग्यो ।

बेलायती राजपरिवार

मिडिया र सामाजिक सञ्जालमा बेलायती राजपरिवारको यो वर्षको सुरुवात देखि नै चर्चा भयो । फेब्रूअरी २० तारिखका दिन बेलायती महारानी एलिजाबेथ लन्डन फेसन सप्ताहमा अचानक देखा परिन् । यो विषय धेरै भाइरल बन्यो । अप्रिल २० तारिखका दिन कमन वेल्थ राष्ट्रहरुले एलिजाबेथपछि राष्ट्रप्रमुखको जिम्मेवारी प्रिन्स चार्ल्स लाई दिने निर्णय गर्‍यो ।


बेलायती राजपिरवार अर्को कारण पनि चर्चामा आयो । त्यो थियो प्रिन्स ह्यारी र मेघन मार्केलको बिहे । मे १९ तारिखका दिन अमेरिकी कलाकार मेघन मार्केलसँग बेलायती राजकुमार प्रिन्स ह्यारीको विवाह भयो । महारानी एलिजाबेथले ह्यारी र मार्केललाई सोही दिन ड्यूक र डचेस अफ सक्सेसको उपाधि प्रदान गरेकी थिइन् ।

व्यपार युद्ध

अमेरिका र चीनबीच यो वर्ष व्यापार युद्ध सुरु भएर केही साम्य अवस्थामा रहेको छ । मार्च १ तारिखका दिन अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले अयातित स्टिलमा २५ प्रतिशत र अल्मनियममा १० प्रतिशत कर बढाउने निर्णय लिए । मार्च ८ तारिख उनले करको प्रतिशत वृद्धि गरिदिए । २२ तारिखमा उनले ६० बिलियन डलर बराबरको चिनियाँ सामान आयत गर्दा लाग्ने कर बढाइदिए । यसले व्यपार युद्धको प्रारम्भ गरिदियो ।


अमेरिकाले सेप्टेम्बर १७ मा ६० बिलियनबाट बढाएर दुईसय बिलियन बराबरको चिनियाँ सामानमा कर लगाउने निर्णय लियो । सेप्टेम्बर १८ ताखिरका दिन चीनले ६० बिलियन अमेरिकी सामानाहरुमा अतिरिक्त कर लगाइदियो । व्यापार युद्धमा अमेरिका चीनसँग हार्ने विश्लेषणहरु आउन थाले । वर्षको अन्तिम महिना डिसेम्बर २ तारिखका दिन अर्जेन्टिनामा भएको जी–२० सम्मेलनमा अमेरिका र चीनले व्यापार युद्धलाई साम्य गर्ने सहमति गरे ।

पूर्व रुसी गुप्तचरमाथि आक्रमण र ध्रुवीकृत विश्व

मार्च ४ तारिखका दिन पूर्वरुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी २२ वर्षीया छोरी युलियामाथि स्नायू प्रणालीमा असर पार्ने विषालु ग्यास हमाला भयो । हमालाको विरोध गर्दै मार्च १४ मा बेलायतले २३ जना रुसी कूटनीतिज्ञत्रहरुलाई देश निकाला गर्‍यो । यसको विरोधमा अमेरिका, यूरोपीयन यूनियन र युक्रेनले सयजनाभन्दा बढी रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गरे ।

उत्तर र दक्षिण कोरियाको मिलन

जनवरीबाट सुरु भएको दुईदेशबीचको मिलनको सम्बन्ध पुरै वर्ष कायम नै रह्यो । मार्चमा ५ मा उत्तरी कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग प्योङयोङमा भेटवार्ता गरे । खुसीयालीमा उनले रात्रीभोज दिए ।

अप्रिलमा ऐतिहासिक कोरिया शिखर सम्मेलन भयो । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले कोरियाली युद्ध अन्त्यको घोषणा गरे । दुवैले कोरियाली प्रायद्विपलाई आणविक हतियार मुक्त बनाउने घोषणा गरे ।

शक्तिशाली बन्दै सी जिनपिङ

चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक सम्मेलनले राष्ट्रपति सी जिनपिङको विचारधारालाई अनुमोदन गर्दै राष्ट्रपति हुने म्यादलाई नै हटाइदियो । राष्ट्रपतिको कार्यकालको सीमा नै तोकिएन । जीवनभर राष्ट्रपति बन्न पाउने गरी सीका लागि विधान संशोधन नै भयो ।

स्टेफन हकिंग्सको निधन

यो वर्ष २१ शताब्दीकै चर्चित वैज्ञानिक, शोधकर्ता एवं विचारक स्टेफन हकिंग्सको मार्च १४ तारिखका दिन निधन भयो । ब्ल्याक होल पत्ता लगाएका वैज्ञानिक हकिंग्सको निधन खगोल शास्त्रका अध्यताका लागि ठूलो क्षति हो ।


फेसबुक विवाद

क्याम्ब्रिज एनालाटीकाको विषयलाई लिएर फेसबुकका संस्थापक मार्क जुगरबर्गले अमेरिकाको संसदीय सुनुवाई समिति, बेलायतको संसद र यूरोपेली संसदमा उपस्थित हुनुपर्‍यो । फेसबुकमााथि विभिन्न प्रश्नहरु तेर्साइयो । उनले सुनुवाईका क्रममा माफीसमेत मागे । गत सेप्टेम्बरमा करिब ५ करोड फेसबुक एकाउन्टहरु ह्याक भएको रिपोर्ट आएपछि अहिले पनि फेसबुकबारे विभिन्न टिप्पणीहरु भइरहेको छ । कतिपयले फेसबुक संकटमा परेको समेत भने ।

अमेरिकी संसदीय सुनावाईका क्रममा मार्च २१ तारिखका दिन जुगरबर्गले गल्ती भएको स्वीकार्दै करोडौं प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरिएको स्वीकारे ।

पुटिन, मार्केल र हसीनाको कार्यकाल थप

यो वर्ष रुसी राष्ट्रपति भलादमिर पुटिन ७६ प्रतिशत बहुमत ल्याउँदै चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए । मार्च १८ मा भएको चुनावले पुटिनको ६ वर्षे कार्यकाल थप गरिदियो । मे ७ गते पुटिनले सपथ लिए ।

यस्तै जर्मन चान्सलर एन्जेला मार्केल पनि चाथौ कार्याकालका लागि चान्सलरमा निर्वाचित भइन् । आम चुनाव भएको एक सय ७१ दिनपछि उनी गठबन्धनको तर्फबाट चान्सलरमा निर्वाचित भएकी हुन् । अक्टोबर २९ तारिखका दिन जर्मन चान्सलर एन्जेला मार्केलले सन् २०२१ देखि पार्टी नेतृत्व र सत्तामा नरहेने घोषणा गरिन् । यस्तै नयाँ वर्षको पूर्व सन्ध्या बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाको पार्टीले पनि लगातार तेस्रो पटक आम निर्वाचनमा भारी बहुमतले विजयी भयो ।

बहुमत प्राप्त भएसँगै लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हसीनाको सत्तारोहण सुनिश्चित भएको छ ।

जिनपिङ र किमको भेटवार्ता

सत्तामा आएपछि उत्तर कोरियाली नेता किमजोङ उन पहिलोपटक विदेश भ्रमणमा निस्किए । उनले यसको सुरुवात चीनबाट गरे । रेल यात्रा गरेर उनले मार्च २५ तारिखका दिन चीन भ्रमण गरे । २८ गते उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए । उनी भेटवार्ता गरेर कोरिया फर्किएपछि मात्रै उनको भ्रमण बारे मिडियालाई जानकारी दिइएको थियो ।

इरानसँगको अणविक सम्झौताबाट अमेरिका बाहिरियो

सन् २०१५ मा इरानसँग विश्वका शक्ति राष्ट्रहरु बेलायत, फ्रान्स, अमेरिका, रुस र चीनले आणविक सम्झौता गरेका थिए । ट्रम्पले मार्च ८ मा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे । यसले ठूलो हलचल ल्यायो ।

मलेसियाको चुनाव

मे महिनामा मलेसियामा आम–चुनाव भयो । महाथिर बिन मोहम्मदको पार्टीले भारी बहमुतसहित चुनाव जित्यो । प्रधानमन्त्री नाजिव रजाकको पार्टीले नराम्रोसँग हार ब्यहोर्‍यो । ९२ वर्षीय मोहम्मदले मे १० तारिखमा ७ औँ प्रधानमन्त्रीको रुपमा सपथ लिए । जुलाईमा रजाक भ्रष्टाचार अभियोगमाा पक्राउ परे ।

किम–ट्रम्प भेटवार्ता

जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमजोङ उनबीच भेटवार्ता भयो । सिंगापुरमा भएको उक्त शिखर वार्ता ऐतिहासिक रह्यो । १२ जुनमा भएको उक्त वार्तामा उत्तरले आफ्नो आणविक कार्यक्रम बन्द गर्ने सहमति जनायो । शिखर वार्ताका क्रममा किमको सुरक्षार्थ खटिएका बडिगार्डहरुको धेरै चर्चा भएको थियो ।

विश्वकप फुटबल

जुन १४ देखि जुलई १५ सम्म ऐतिहास २१ औँ विश्वकप फुटबल रुसमा सम्पन्न भयो । प्रत्येक ४ वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिता उक्त संस्करणलाई पश्चिमेलीहरुले रुसमा भएको रुचाएका थिएनन् । रुसले उक्त प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेर इतिहास रच्यो । विश्वका करिब आधा मानिसहरुले विभिन्न माध्यमबाट प्रतियोगिता हेरेका थिए । प्रतियोगितामा पहिलोपटक भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग पनि गरियो थियो । प्रतियोगिताको विजेता फ्रान्स बन्यो भने उपविजेतमा क्रोएसिया बन्यो ।



थाइल्याण्डको गुफामा फसेकाको उद्धार

२३ जुनदेखि हराइरहेका थाइलेन्डका १२ जना विद्यार्थी र उनीहरुको एकजना कोचलाई जुलाई २ तारिखका दिन उद्धार दलले थाइल्याण्डको उत्तरी प्रान्तको चियाङराई गुफामा फेला पारे । १० जुलाईका दिन उनीहरु सबैको उद्धार भयो । उनीहरुको उद्धारका लागि १० हजार मानिस, सय जना उद्धारकर्ता, सयवटा सरकारी संस्था, ९ सय पुली, २ हजार सेना, १० वटा हेलिकप्टर, ७ वटा एम्बुलेन्स र ७ सय ग्यास सिलिन्डर प्रयोग भएका थिए । उनीहरुको उद्धारका क्रममा खटिएका एकजना उद्धारकर्ताको ज्यान समेत गएको थियो ।

पाकिस्तानको निर्वाचन : इमरानको उदय

जुलाई १३ तारिख पाकिस्तानको बुलिचस्तानमा निर्वाचन अभियानलाई लक्षित गरी आक्रमण भयो । आक्रमणमा परी १ सय २८ जनाको मृत्यु भयो । इस्लामिक स्टेटले उक्त घटनाको जिम्मेवारी लियो । जुलाई २५ मा पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानले धेरै मतले चुनाव जिते । उनको दलले बहुमत हासिल गर्‍यो अगस्ट २८ तारिखमा उनले पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको रुपमा सपथ लिए ।

डिसेम्बर २४ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री नजाव सरिफलाई भ्रष्टचारको मुद्दामा अदालतले ७ वर्षको जेल सजाय सुनायो ।


रुसको सैन्य अभ्यास

सेप्टेम्बरमा रुसले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गर्‍यो । सेप्टेम्बर ११ मा उसले शीतयुद्ध पछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास प्रदर्शन गरेको थियो । चिनियाँ सेनाको समेत सहभागीता भएको उक्त सैन्य अभ्यासमा ३ लाख सैनिक सहभागी थिए ।

पत्रकार जमाल खसोग्गीको हत्या

अक्टोबरमा पत्रकार जमाल खसोग्गीको हत्याले विश्व राजनीतिमा तरंग ल्याइदियो । अक्टोबर २ तारिखका दिन पत्रकार खसोग्गी इस्तानबुलस्थित साउदी काउन्सुलेट अफिसमा छिरेपछि त्यहाँबाट कहिल्यै बाहिर निस्केनन् । उनको हत्या भएको आंशका गरियो ।

नोभेम्बर १६ मा अमेरिकी गुप्तचर संस्था सीआईएले साउदी राजकुमारको निर्देशनमा पत्रकार जमाल खसोग्गीको हत्या भएको निष्कर्ष निकाल्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआईएको रिर्पोटलाई अपरिपक्व रहेको दाबी गरे । उनले साउदी विरुद्ध कुनै कडा कदम चालेनन् । टर्कीले साउदीको उच्च अधिकारीहरुको निर्देशनमा पत्रकार खसोग्गीको हत्या भएको बताए । विभिन्न मुलुकहरुका पत्रकारहरुले सीसीटिभीको फुटेज सार्वजनिक गर्न माग गरे । खसाोग्गी हत्या रहस्मय बन्यो । हत्यारा अझै पत्ता लागेको छैन ।

श्रीलंकामा राजनीति संकट

अक्टोबरमा श्रीलंका राजनीतिक संकटका कारण चर्चामा रह्यो । राष्ट्रपति मैत्रीपाल सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गर्दै दुई हप्ताका लागि संसद स्थगित गरिदिए । विक्रमासिंघेको स्थानमा राष्ट्रपति सिरीसेनाले विपक्षी नेता महेन्द्र राजपेक्षलाई प्रधानमन्त्रीलाई नियुक्त गरे । त्यसको विरोधमा सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । राजपाक्षेको नियुक्तलाई सर्वोच्चले असंबैधानिक भनिदियो । उनको नियुक्ती खारेज भयो । राजपाक्षेले राजिनामा दिए । पुन: सिरीसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरे ।

अन्तरिक्ष सेना निर्माण घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा सिरिया र अफगनास्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे । वर्षको अन्त्यतिर ट्रम्पले अचानक इराक भ्रमण पनि गरे । जुन १८ मा उनले अमेरिकी सेनाको छठौं दस्ताको रुपमा अन्तरिक्ष सेनाको आवश्यकता देखे । उनले अन्तरिक्षको सुरक्षाका लागि अन्तरिक्ष सेनाको आवश्यकता रहेको औंल्याउदै सेना निर्माणको घोषणा गरेका छन् ।


अन्य केही रोचक घटनाहरु

  • चिनियाँ वैज्ञानिकहरुले जनवरी २३ तारिखका दुईवटा बाँदर क्लोन गरेर जन्मिएको बताए । ‘डली’ नामक भेडालाई क्लोन गर्न प्रयोग गरिएको प्रविधिबाटै क्लोन गरिएको चिनियाँ वैज्ञानिकहरुले बताएका थिए ।
  • इलोन मस्कको कम्पनी स्पेस एक्सले विश्वको साबैभन्दा शक्तिशाली ‘फाल्कोन ह्याभी’रकेटको प्रक्षेपण गर्‍यो ।
  • फेब्रुअरीमा बंगालदेशको एक अदालतले पूर्व प्रधानमन्त्री खलिदा जियालाई भ्रष्टचार अभियोगमा ५ वर्षको जेल सजाय सुनायो ।
  • मार्च १२ मा यूएस बंग्लाको विमान काठमाडौंमा दुर्घटना हुँदा ५१ जनाको ज्यान गयो ।
  • मार्च १९ मा ‘नर्दन राइनो’ प्रजातिको अन्तिम भाले गैंडाको निधन भयो ।
  • अप्रिलमा साउदीले ३५ वर्षपछि पहिलो व्यवसायिक चलचित्र सिनेमा हलमा देखायो ।
  • अप्रिल मै क्यूबाको नयाँ राष्ट्रपतिा मुगेल डियास क्यानेल निर्वाचित भए । राउल क्यास्ट्रोपछि उनी राष्ट्रपति बने ।
  • अप्रिलमा अफगानस्तानको काबूलमा भएको दुईवटा आत्माघाती आक्रमणमा परी ३६ जनाको मृत्यु भयो । जसमा ९ जना पत्रकार थिए ।
  • मे २८ तारिखका दिन कोकाकोलाले आफ्नो पहिलो मदिरा लेमन–डूको लन्च जापानमा गर्‍यो ।
  • जुनमा विश्वको सबैभन्दा शक्तिशाली सपुरकम्प्युटरको प्रदर्शनी भयो । एक सेकेन्टमा करिब दुई सय हजार ट्रिलियन क्यालकुसेन गर्ने उक्त कम्पयुटर ओक रिज राष्ट्रिय प्रयोशालामा प्रदर्शनी गरिएको थियो ।
  • क्यानडाको सिनेटले गाँजाको प्रयोगलाई वैधानिकता दिए ।
  • जुलाईमा २१ औँ शताब्दीको सबैभन्दा लामो ब्लड मुन ग्रहण लाग्यो ।
  • अगस्टमा अमेरिकी कम्पनी एप्पल १ ट्रिलियन डलर कम्पनीको भएको इतिहास रच्यो ।
  • इन्डोनेसियामा आएको ६ दशमलव ९ म्याग्निच्युटको भूकम्पमा परी ४ सय ६० जनाको मृत्यु भयो । तीन लाख ४० हजार जना विस्थापित बने ।
  • मनसुनी वर्षाका कारण भारतको केराला राज्यमा ३ सय ५० जनाको मृत्यु भयो ।
  • अगस्टमा भारतको चन्द्रयानले चन्द्रमामा वाटर आइस भएको पत्ता लगायो ।
  • संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नाको अगस्ट १८ मा निधन भयो ।
  • सेप्टेम्बरमा विश्वको सबैभन्दा पुरानो मध्येको एक ब्राजिलको प्राकृतिक विज्ञान संग्राहलयमा आगलागी हुँदा दुई करोड नमुनाहरु नष्ट भए ।
  • अक्टोबर १ मा अमेरिका, क्यानडा र मेक्सिकोबीच नयाँ व्यपार सम्झौता भयो ।
  • हङकङ र मकाउलाई जोड्ने विश्वकै सबैभन्दा लामो पुलको उद्धघाटन चिनियाँ राष्ट्रपतिले अक्टोबरमा गरे ।
  • गुजरातमा भारतले सरदार बल्लाभाइ पटेलको सबैभन्दा अग्लो मूर्तिको उद्धघाटन गर्‍यो ।
  • नोभेम्बरमा नासाको सोलार प्रोभ सौर्यमण्डलमा प्रवेश गर्ने दोस्रो मानव निर्मित वस्तु बन्यो ।
  • नोभेम्बरमा तेलमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा ठूलो प्रदर्शन भयो ।
  • नोभेम्बरमा नासाको इन्साइट ल्याण्डर ७ महिना लामो यात्रापछि मार्स ग्रहमा टेक्यो ।
  • नोभेम्बर महिनामै चिनियाँ वैज्ञानिकले जीन सम्पादन गरी बच्चा जन्माएको दाबी गरे ।
  • ब्राजिलमा पाठेघर ट्रान्सप्लान्ट गरिएकी महिलाले पहिलो पटक बच्चा जन्माइन् ।
  • इन्डोनेसियामा भएको ज्वालामुखी विष्फोटनका कारण आएको सुनामीका कारण दुईसय भन्दा बढीले ज्यान गुमाए ।

एजेन्सीको सहयोगमा

तस्बिरहरु : राेयटर्स


प्रकाशित : पुस १६, २०७५ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?