१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘सीमा पर्खाललाई बजेट दिँदैनौं’

एपी

वासिङ्टन — अमेरिकी विपक्षी दल डेमोक्रयाटिकले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खाल निर्माण गर्ने प्रस्तावका लागि बजेट दिन नसकिने प्रस्ट पारेको छ । कंग्रेसको माथिल्लो सदन सिनेटमा उक्त दलले सीमा पर्खाल निर्माणबाहेकको बजेट मात्र पारित गर्ने प्रस्तावसमेत राखेको छ । 

‘सीमा पर्खाललाई बजेट दिँदैनौं’

राष्ट्रपति ट्रम्पका लागि ‘प्रतिष्ठाको विषय’ बनेको सीमा पर्खाल निर्माणका कारण बजेट पारित नहुँदा अमेरिकी संघीय निकाय डिसेम्बर २२ देखि आंशिक बन्द छन् । ट्रम्पले पर्खाल निर्माणका लागि जुनसुकै हालतमा बजेट पारित हुनुपर्ने अडान लिँदै आएका छन् । उनले भने, ‘बरु सरकारी कार्यालय बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुटयाउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा मेरो पहिलो प्राथमिकता हो ।’

अमेरिकी कंग्रेसका दुवै सदनको यसअघिको बहुमत रिपब्लिकन पार्टीले गत नोभेम्बरमा भएको चुनावमा गुमाएको हो । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बहुमत गुमेसँगै ट्रम्पका कैयौं महत्त्वाकांक्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित भइसकेको छ ।

आंशिक बन्द रहेका संघीय कार्यालयको बजेट व्यवस्थाका लागि डेमोक्रयाट्सले मंगलबार दुइटा विधेयक अगाडि सारेका छन् । नयाँ सत्र प्रारम्भ हुनासाथ उक्त बजेट पारित गर्ने योजना डेमोक्रयाटस्को छ । डेमोक्रयाटस्ले तल्लो सदनमा बहुमत हासिल गरेयता पहिलो कार्यसूचीका रूपमा बजेट विधेयकको अनुमोदन रहेको छ ।

सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलका प्रवक्ता डोनाल्ड स्टेवार्टले ट्रम्पको समर्थनबेगर सिनेटमा रिपब्लिकनले कुनै कारबाही नगर्ने बताए । ‘कुरा प्रस्टै छ, राष्ट्रपतिले हस्ताक्षर नगर्ने किसिमको कुनै पनि कुरा सिनेटले राष्ट्रपतिकहाँ पठाउने छैन,’ स्टेवार्टले भने । सांकेतिक रूपमा भए पनि तल्लो सदनले विधेयक पारित गरे राष्ट्रपतिमाथि थप दबाब सिर्जना गर्नेछ । एक अधिकारीले ‘ट्रम्पले सीमा पर्खाल निर्माणबारे जनमत पक्षमा रहेको विश्वास लिएको’ जनाए ।

ट्रम्पले ट्वीट गर्दै ‘डेमोक्रयाटस्हरू वार्तामा आउनुको विकल्प नरहेको’ बताएका छन् । सोमबार ट्वीटरमा उनले लेखेका छन्, ‘सिमेन्ट र गिटीको पर्खाल बनाउनुको विकल्प छैन । मैले पर्खाल बनाउने प्रस्ताव त्यागेको छैन । सीमा सुरक्षासग सम्बन्धित केही विज्ञले वारपार देखिने पर्खाल उपयुक्त हुने प्रस्ताव गरे पनि म बलियो सिमेन्टको पर्खाल निर्माणको पक्षमा छु ।’


प्रकाशित : पुस १८, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?