अमेरिकी प्रतिबन्ध कायम रहे परमाणु नि:शस्त्रीकरणको बाटो फेर्ने किमको चेतावनी

बीबीसी

सोल — उत्तर कोरियाली नेता किम जोङ उनले आफू परमाणु अस्त्र नि:शस्त्रीकरणप्रति प्रतिबद्ध रहे पनि अमेरिकाले नाकाबन्दी कायम राखे ‘बाटो परिवर्तन गर्ने’ चेतावनी दिएका छन् ।

अमेरिकी प्रतिबन्ध कायम रहे परमाणु नि:शस्त्रीकरणको बाटो फेर्ने किमको चेतावनी


हजुरबुबा किम इल सङको परम्परा कायम राख्दै नयाँ वर्षको अवसरमा गरेको सम्बोधनमा उनले उक्त चेतावनी दिएका हुन् । किमले यसअघि पटकपटक अमेरिकी नाकाबन्दीको विरोध गर्दै आएका छन् ।

मंगलबार बिहान राज्य नियन्त्रित टेलिभिजनमा प्रसारण गरिएको घोषणामा किमले भने, ‘यदि अमेरिकाले संसारसामु व्यक्त गरेको आफ्नो प्रतिबद्धता पालना नगरी हामीमाथि नाकाबन्दी र दबाब जारी राख्छ भने हाम्रो सार्वभौमसत्ता र हाम्रो स्वार्थको सुरक्षाका लागि नयाँ बाटो लिनुको विकल्प छैन ।’

किमको गतवर्षको घोषणाले उत्तर कोरियालाई दक्षिण कोरिया र अमेरिकासँग अभूतपूर्व अन्तराष्ट्रिय कूटनीतिक सम्बन्ध स्थापित गर्न सघाउ पुगेको थियो । किमले सन् २०१८ को जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै परमाणु नि:शस्त्रीकरणबारे सहमति गरेका थिए । तर त्यसको ठोस नतिजा भने हालसम्म देखिएको छैन ।

उत्तर कोरियाले अमेरिकी मुख्य भूभागसम्म मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेपछि सन् २०१७ मा वासिङटन र प्योङयाङ आरोपप्रत्यारोपमा उत्रेका थिए । तर नयाँ वर्षको पहिलो दिनमै किमले फेरि पुरानो भाषा दोहोर्‍याउँदै अमेरिकालाई चेतावनी दिए ।

किमको सम्बोधनलाई सन् २०१९ मा अमेरिकाले परमाणु नि:शस्त्रीकरणका लागि ठोस कदम चालोस् र आफू विरुद्धको नाकाबन्दी अन्त्य गरोस् भन्ने चाहनाको रूपमा अथ्र्याइएको छ । प्योङयाङले प्रतिबन्धित परमाणु तथा अन्तरमहादेशीय क्षेप्यास्त्र कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, युरोपेली संघ तथा अन्तर्राष्ट्रिय समुदायको नाकाबन्दी झेलिरहेको छ ।

ट्रम्पसँगको शिखर बैठकपछि किमले आणविक हतियार उत्पादन तथा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले परमाणु नि:शस्त्रीकरणलाई निष्कर्षमा पुर्‍याउन ट्रम्पसँग दोस्रो भेटवार्ताका लागि पनि तयार रहेको बताइसकेका छन् । यद्यपि, भेटवार्ताको मिति र स्थान भने उल्लेख गरिएको छैन् । गतवर्ष जनवरी १ को सम्बोधनमा किमले आफ्नो देश दक्षिण कोरियाले आयोजना गर्ने हिउँदे ओलम्पिकमा सहभागी हुने घोषणा गरेका थिए । उक्त कदमपछि दुई कोरियाबीचको सम्बन्ध सुधार भयो ।

उच्च अधिकारीसहितका केही कूटनीतिक भेटवार्तापछि गतवर्षको अप्रिलमा किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच कोरियाली सीमा क्षेत्रमा भेटवार्ता भयो । जसका कारण किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता सम्भव भयो । २०१८ को जुनमा सिंगापुरमा भएको भेटवार्ता उत्तर कोरियाली नेता र बहालवाला अमेरिकी राष्ट्रपतिबीचको पहिलो थियो । भेटमा दुवै नेताले परमाणु नि:शस्त्रीकरणको सहमतिमा हस्ताक्षर गरे पनि त्यसयता किम र ट्रम्प टाढिएका देखिन्छ ।

उत्तर कोरियाले केही परीक्षण केन्द्र बन्द गरिसकेको छ । अमेरिका लगायतले उसको हतियार कार्यक्रम निरन्तर रहेको आरोप लगाउँदै आएका छन् । ट्रम्पले यसै वर्षको जनवरी वा फेब्रुअरीमा दोस्रो शिखर बैठक हुने सार्वजनिक घोषणा गरिसकेको भए पनि मिति निर्धारण भएको छैन । किमले भने गत वर्ष सोल भ्रमण गर्न नपाएकोमा दु:ख व्यक्त गर्दै २०१९ मा सोलमा दुई कोरियाबीच शिखर सम्मेलन गर्ने जनाएका छन् ।

प्रकाशित : पुस १८, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?