१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अमेरिकी तल्लो सदनद्वारा बजेट पारित

बीबीसी

वासिङ्टन — अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले शुक्रबार संघीय सरकारमा भएको खर्च अभाव अन्त्य गर्ने पक्षमा मतदान गरेको छ । 

अमेरिकी तल्लो सदनद्वारा बजेट पारित

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाअनुसार मेक्सिकोमा पर्खाल लगाउनका लागि बजेट नछुटयाइएका कारण उनले भिटो लगाउने निश्चित भएको छ । ट्रम्पले पर्खाल बनाउनका लागि बजेट उपलब्ध नगराए अस्वीकार गर्ने बताउँदै आएका छन् ।


हाउस अफ रेप्रिजेन्टेटिभ्समा डेमोक्रयाटको बहुमत छ । सदनकी नवनिर्वाचित सभामुख नान्सी पेलोसीले ट्रम्पको पर्खाल योजना ‘अनैतिक’ भएको बताएकी छन् ।


हाउस अफ रेप्रिजेन्टेटिभ्सले शुक्रबार आगामी फेब्रुअरी ८ सम्मका संघीय निकायलाई आवश्यक पर्ने सीमा सुरक्षा लगायतका शीर्षकमा खर्च गर्न लागि १ अर्ब ३ करोड डलरको बजेटमा पारित गरेको हो । यद्यपि, यो बजेट माथिल्लो सदन सिनेटबाट पारित भई राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।


सिनेटमा हाल रिपब्लिकनको बहुमत छ । रिपब्लिकन नेता मिच म्याककोनेलले राष्ट्रपति ट्रम्पले समर्थन नगर्ने कुनै पनि कदम नचाल्ने बताएका छन् । उनले डेमोक्रयाटको कदम ‘राजनीतिक चटक’ भएको प्रतिक्रिया दिएका छन् ।


नान्सी पेलोसी बिहीबार तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा निर्वाचित भएकी हुन् । क्यालिफोनिर्या राज्यकी डेमोक्रयाट सांसद पेलोसी दोस्रो पटक सभामुखमा निर्वाचित भएसँगै उनी अमेरिकाको तेस्रो शक्तिशाली राजनीतिज्ञ बनेकी छन् ।

यसअघि उनी सन् २००७ देखि २०११ सम्म सभामुख बनेकी थिइन् । उनी हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुख बन्ने एक मात्र महिला हुन् ।


ट्रम्पले आफ्नो चुनावी घोषणा कार्यान्वयनका लागि सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि तत्काल ५ अर्ब ७० लाख डलर छुट्याउनुपर्ने बताउँदै आएका छन् । तर विपक्षी दलले उनको योजनाको कडा आलोचना गर्दै आएका छन् ।


ट्रम्पको अडानका कारण गत डिसेम्बर २३ देखि अमेरिकाका विभिन्न सरकारी निकाय जस्तै होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, गृह तथा न्यायलगायत क्षेत्र आंशिक रूपमा बन्द छन् । त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा जंगलसमेत प्रभावित भएको जनाइएको छ ।

अमेरिकामा ३ महिनाको अवधिका लागि संसद्ले खर्च बजेट पारित गर्न नसकेपछि सरकारी निकाय बन्द हुने अवस्थालाई सरकार बन्द भन्ने गरिन्छ ।


अमेरिकी राष्ट्रपति ट्रम्पले पद सम्हालेयता उनले आप्रवासीप्रति कठोर नीति अख्तियार गर्दै आएका छन् । तर उनको कतिपय नीतिप्रति डोमोक्रयाटहरू असहमति जनाएपछि बजेट पारित नहुँदा सरकार बन्दको अवस्था सिर्जना हुने गरेको ।

प्रकाशित : पुस २१, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?