यूएईका राजकुमारलाई पाकिस्तानमा भव्य स्वागत

एएफपी

इस्लामाबाद — पाकिस्तान सरकारले यूएईका राजकुमार शेख मोहम्मद बीन जायद अल-नाहयानलाई इस्लामाबादमा भव्य स्वागत गरेको छ । पाकिस्तानको कमजोर अर्थतन्त्रलाई मद्दत गर्न यूनाइटेड अरब इमिरेट्स(यूएई)ले हालै मात्र तीन अर्ब अमेरिकी डलर उपलब्ध गराएको थियो । 

प्रधानमन्त्री इमरान खानले राजकुमार अल–नाहयानलाई पाकिस्तान हवाई अखडामै पुगेर स्वागत गरेका थिए । पाकिस्तानी सशस्त्र सैन्य बलको एक टुकडीले राजकुमारलाई सम्मान अर्पण गरेको थियो ।

यूएई मध्यपूर्वका मुलुकमा पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीकर्ता मुलुक हो । राजकुमारको भ्रमणअघि पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा कामको सिलसिलामा यूएईमा १५ लाखभन्दा बढी पाकिस्तानीहरु रहेको उल्लेख छ ।

यूएईले गत डिसेम्बरमा पाकिस्तानको मौद्रिक 'तरलता सुदृढ' गर्न पाकिस्तानी केन्द्रीय बैंकमा ३ अर्ब अमेरिकी डलर निक्षेप राखेको थियो । तरलता अभावकै कारण पाकिस्तानको भुक्तानी सन्तुलनमा संकट उत्पन्न भएको थियो ।

गत नोभेम्बरको अन्त्यमा पाकिस्तानी मुद्रा रुपीमा झण्डै पाँच प्रतिशतले गिरावट आएको थियो । यही कारण गत वर्ष पाकिस्तानको केन्द्रीय बैंकले छैटौँ पटक रुपीको अवमूल्यन गर्नुपरेको थियो ।

पाकिस्तानले साउदी अरेबियाबाट पनि ६ अर्ब डलर प्राप्त गरेको छ । इस्लामाबादले महत्वाकांक्षी पूर्वाधार परियोजनाका लागि चिनीयाँ ऋण बापत अर्बौं डलर प्राप्त गरिसकेको छ ।

गत वर्ष नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गरी अर्थतन्त्र सुधारका बारेमा वार्ता गरे पनि कुनै सम्झौता हुन सकेको थिएन ।

प्रकाशित : पुस २२, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

केरलामा विरोध प्रदर्शन चर्कियो

२ हजारभन्दा बढी पक्राउ 
एएफपी

नयाँदिल्ली — भारत केरलास्थित सबरीमाला मन्दिरमा महिला प्रवेशपछि गरिएको विरोध प्रदर्शन जारी रह्यो । केरलाका विभिन्न स्थानमा प्रहरी तथा प्रदर्शनकारीबीच झडपहरू भएका छन् ।

भारत केरलास्थित कोचीमा गरिएको विरोधका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी ।तस्बिर : एफपी

झडपमा परी दर्जनौंघाइते छन् । प्रहरीले राज्यका विभिन्न स्थानमा शनिबार हिंसात्मक गतिविधिमा संलग्न २ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । अधिकारीहरूले हालसम्म पक्राउ गरिएकाको संख्या ३ हजार नाघेको छ ।

अधिकारीहरूले शनिबार भारतीय जनता पार्टीका राज्यसभा सदस्य भी मुरलीधरनको पुख्र्यौली घरमा बम विस्फोट गराइएको छ । विस्फोटपछि घर क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी राष्ट्रिय स्वंयसेवक संघको कान्नुरस्थित कार्यालयमा आगजनी गरिएको छ ।

गत बुधबार केरालास्थित सबरीमाला मन्दिरमा दुई महिला प्रवेश गरेपछि स्थानीय हिन्दु संगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । घटनाको विरोधमा हिन्दुवादी समूहहरूको छाता संगठन सबरीमाला कर्मा समितिले प्रदर्शनको नेतृत्व गर्दै आएको छ । भारतीय जनता पार्टी (भाजपा) ले विरोध प्रदर्शनको समर्थन गर्दै आएको छ ।

सबरीमाला मन्दिरमा करिब ८ सय वर्ष अघिदेखि रजश्वला हुने उमेरका महिलालाई रोक लगाइँदै आएको थियो । तर सर्वोच्च अदालतको आदेशअनुसार बुधबार २ महिलालाई प्रवेश गराइएपछि विरोध सुरु भएको हो ।

हिन्दुवादी संगठनले मन्दिरको परम्परा बचाउन महिलालाई मन्दिर प्रवेशमा रोक लगाउनुपर्ने बताउने गरेको छ ।

प्रकाशित : पुस २२, २०७५ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्