१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गैरकानुनी आप्रवासीले बेलायत आजित

नवीन पोखरेल

लन्डन — गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्ने आप्रवासीको संख्या बढ्दै गएपछि बेलायती अधिकारीलाई चिन्ताको विषय बनेको छ।

गैरकानुनी आप्रवासीले बेलायत आजित

बेलायत ईयूबाट बाहिरिएपछि असम्भव हुने भन्दै मानव तस्करहरू अहिले नै अफ्रिका तथा एसियाका आप्रवासीलाई गैरकानुनी रूपमा बेलायत र युरोप छिराउन उद्यत भइरहँदा बेलायतलाई यो टाउको दुखाइ बनेको हो।


क्रिसमस इभ रमझम भइरहेका बेला विभिन्न दसवटा साना डुंगामार्फत इंग्लिस च्यानल हुँदै बेलायत छिर्न खोज्ने करिब ८२ आप्रवासीलाई सीमा सुरक्षा बलले समात्योरु। ७१ जना त बेलायत छिर्न सफल भएरु। यसअघि लरीमा लुकेर आउने आप्रवासीलाई अहिले तस्करहरूले सानो डुंगामा ल्याउने गरेका छन्।


उक्त घटनालाई गम्भीर रूपमा लिँदै बेलायती गृहमन्त्री साजिद जाभिद परिवारसँग क्रिसमस होलिडे छोट्याएर स्वदेश फर्किन बाध्य भए। गृहमन्त्री इंग्लिस च्यानलमा धमाधम आप्रवासी चढेर आएका डुंगा समातिएको खबरबाट आक्रोशित भए। उनको गैरकानुनी आप्रवासीप्रतिको प्रतिक्रियालाई लक्षित गर्दै प्रतिपक्षी दल खरो आलोचनामा समेत उत्रियो।


गत नोभेम्बरदेखि नयाँ वर्ष आसपाससम्म बेलायत आउन खोज्ने झन्डै २ सय ३९ गैरकानुनी आप्रवासीलाई बेलायत र फ्रान्सका अधिकारीहरूले समातेका बताइएको छ। पर्वका बेला जाँच गर्ने जनशक्ति कम हुने आकलन गर्दै मानव तस्करहरूले त्यो समय रोजेका हुन्। क्रिसमसका बेलामात्र गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने १३९ आप्रवासी समातिए।


बेलायतको रोयल नेभीले यूके बोर्डर फोर्स र फ्रान्सेली अधिकारीको सहयोगका लागि डोभरमा भेसल (पानी जहाज) परिचालन गर्ने सहमति भएपछि फ्रान्सले साना डुंगामार्फत इंग्ल्यान्ड छिर्न खोज्ने आप्रवासी नियन्त्रणका लागि नयाँ योजना बनाएको समाचारमा जनाइएको छ। ल इन्फोर्समेन्ट एजेन्सीबीच सहकार्य र बेलायत तथा फ्रान्सको सामुद्रिक तटमा सीसीटीभी, राडार, ड्रोन र सुरक्षा बल बढाउने तयारी छ।


फ्रान्सका गृहमन्त्री क्रिस्टोफ कासटेनरले उक्त योजनाबाट गैर कानुनी आप्रवासी प्रवेश नियन्त्रण मात्र नभई, जोखिमपूर्ण यात्रा अन्त्य गर्न समेत सघाउ पुग्ने बताएरु। बेलायती गृहमन्त्री जाचिदले फ्रान्सेली अधिकारीको उक्त सहकार्यको स्वागत गर्दै इंग्लिस च्यानलको अवस्था नियन्त्रणको सहकार्य महत्त्वपूर्ण हुने बताए।


डेली मेलका अनुसार मानव तस्करहरूले सामाजिक सञ्जालमै दस हजार पाउन्ड तिरे बेलायत लगायत पश्चिम युरोप सजिलै पुग्न सकिने विज्ञापन गर्ने गरेका छन्।


आप्रवासीका लागि स्पेन युरोपेली देश छिर्ने प्रमुख द्वार बनेको छ। अन्य युरोपेली देशले कडाइ गरेपछि आप्रवासी मेडिटेरेनियन हुँदै स्पेन प्रवेश गरेका हुन्। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१८ मा मात्र ६२ हजार आप्रवासी स्पेन पुगे।


माइग्रेसन वाच यूकेले गत सेप्टेम्बरमा बेलायतमा बर्सेनि ७० हजार आप्रवासी गैरकानुनी हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो। बेलायतको गृह मन्त्रालय (होम अफिस) ले जनाएअनुसार बेलायतमा सन् २००१ मा करिब चार लाख तीस हजार गैरकानुनी आप्रवासी रहेकामा अहिले यो संख्या झन्डै दस लाख छ।


गत शुक्रबारमात्र नर्थउम्ब्रिया पुलिसले बेलायतको न्युकासलस्थित एक घरमा छापा मारेर गैरकानुनी बसिरहेका १० चिनियाँ नागरिकलाई गिरफ्तार गरी स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित : पुस २३, २०७५ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?