२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अमेरिका–चीन व्यापार युद्ध अन्त्य गर्न बेइजिङमा वार्ता 

एएफपी

बेइजिङ — अमेरिका र चीनबीच बढ्दै गएको व्यापार विवाद अन्त्य गर्न सोमबारदेखि दुई देशका अधिकारीले बेइजिङमा वार्ता सुरु गरेका छन् ।

अमेरिका–चीन व्यापार युद्ध अन्त्य गर्न बेइजिङमा वार्ता 

गतवर्ष दुई देशबीचको व्यापार विवादपछि चीन तथा अमेरिकाले अर्बौं डलरबराबरको सामानमा कर लगाएका थिए । गत वर्षको अन्त्यमा ९० दिनका लागि करवृद्धि स्थगित गर्ने सहमतिपछि दुई देशका अधिकारी वार्तामा जुटेका हुन् ।


वार्तामा सहभागी अधिकारीहरूबीचको वार्ता दुई देशबीच जारी व्यापार युद्ध सदाका लागि अन्त्य गर्ने विषयमा केन्द्रित हुनेछ । वार्ता दुई दिनसम्म चल्ने जनाइएको छ ।


वार्तामा अमेरिकी टोलीको नेतृत्व अमेरिकी व्यापार उपप्रतिनिधि जेफ्री गेरिसले गरेका छन् । वार्ताका विषय तथा उपलब्धिबारे भने कुनै पनि पक्षले जानकारी दिएका छैनन् ।


यद्यपि, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारहरूसँग कुराकानी गर्दै ‘आपसी सम्मान र समानताका आधारमा द्विपक्षीय व्यापार समस्या समाधानका लागि ठोस निर्णय हुनेमा आफू विश्वस्त रहेको’ प्रतिक्रिया दिए ।


९० दिनका लागि स्थगित गरिएको करवृद्धिले तत्कालका लागि दुवै देशलाई राहत दिएको भए पनि बेइजिङ वार्ताबाट ठोस उपलब्धि हासिल हुनेमा आशंका गरिएको छ । ‘दुई पक्षबीचको मुख्य जड औद्योगिक नीति र बौद्धिक सम्पत्तिको मुद्दा हो,’ क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री जुलियन इभान्स प्रिटचार्डले भने ।


दुई साताअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले दुवै पक्षले ‘प्रविधिको विस्तार, बौद्धिक सम्पत्तिको संरक्षण, साइबर अतिक्रमण तथा चोरीलगायतका मद्दाबारे कुराकानी हुने’ जनाएको थियो । अमेरिकाले चीनको अस्वस्थ व्यापार अभ्यासले ठूलो व्यापार घाटा भएको तथा बौद्धिक सम्पत्तिको चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ । तर चीनले उक्त आरोप निराधार भएको दाबी गर्दै आएको छ ।


त्यसैगरी, युरोपेली देशहरूले समेत कतिपय चिनियाँ कम्पनी आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा भएको दाबी गर्दै आएका छन् । कतिपयले दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई विश्वको नेतृत्व लिने लडाइँका रूपमा समेत अथ्र्याएका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा २ सय ५० अर्ब डलर बराबरको उपभोग्य तथा औद्योगिक चिनियाँ सामानमा कर वृद्धि गरेका थिए । त्यसको प्रतिउत्तरमा चीनले पनि अमेरिकाविरुद्ध १ सय १० अर्ब डलर बराबरको सामानमा करवृद्धि गरेको थियो । उक्त कदमपछि रुष्ट ट्रम्पले थप २ सय ६७ अर्ब डलर बराबरको सामानमा कर लगाउने घोषणापछि दुई देशबीच वार्ता भएको थियो ।


गत डिसेम्बरमा अर्जेन्टिजनाको राजधानी ब्युनस आयर्समा भएको जी २० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङले ९० दिनका लागि एकअर्का देशका सामानमा करवृद्धि नगर्ने सहमति गरेका थिए । वार्ताका क्रममा चीनले कृषि, उद्योग तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित ठोस सामग्री खरिद गर्ने सहमतिसमेत भएको अमेरिकाले जनाएको थियो ।


अमेरिका र चीनबीच सन् २०१८ को सुरुदेखि चलेको व्यापारिक युद्धपछि दुई देशका शीर्ष नेताबीच भएको त्यो पहिलो प्रत्यक्ष वार्ता हो । उनीहरूबीच करिब ३ घण्टासम्म चलेको वार्तामा दुवै मुलुकबीच व्यापार सहजीकरणका लागि आगामी दिनमा थप वार्ता गर्ने सहमति भएको थियो ।


वार्तालगत्तै चिनियाँ विदेशमन्त्री वाङ यीले ‘सम्झौताले दुई मुलुकबीच जारी आर्थिक तनाव थप चर्कन रोकिएकाले दुवै देशले जितेको’ प्रतिक्रिया दिएका थिए । चिनियाँ राष्ट्रपति सीले ‘दुई देशबीचका सहयोगी कदमले मात्र दुवै देशको शान्ति र समृद्धिको सपना पूरा हुन सक्ने’ दाबी गर्दै आएका छन् ।

प्रकाशित : पुस २४, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?