ट्रम्पको टेलिभिजन सम्बोधन : सीमामा पर्खाल आवश्यक

संघीय कार्यालय बन्द राखेर नागरिकलाई बन्धक बनाइयो : डेमोक्रयाट
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा सुरक्षा र मानवीय संकट बढेको बताएका छन् । बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 

ट्रम्पको टेलिभिजन सम्बोधन : सीमामा पर्खाल आवश्यक

अमेरिकी संसद्ले पर्खाल निर्माण ‘अनावश्यक र बढी खर्चिलो’ भन्दै राष्ट्रपति ट्रम्पले माग गरेको ५ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ । राष्ट्रपतिले बजेट पारित नभए स्वीकृत नै नगर्ने अडान राखेका छन् । संसद् र राष्ट्रपतिको अडानका कारण १८ दिनदेखि संघीय कार्यालय बजेट अभावमा आंशिक बन्द भएका छन् ।

करिब ८ लाख कर्मचारीलाई बिदामा पठाइएको छ । मंगलबार राष्ट्रपति कार्यालय ओभल अफिसबाट देशवासीका नाममा दिएको टेलिभिजन सम्बोधनमा ट्रम्पले भने, ‘यो संकट समाधानको उचित उपायको विकल्प छैन, यो सबैको संकट हो ।’


दक्षिणी सीमाबाट प्रवेश गर्ने आप्रवासीका कारण अमेरिकी समाजमा विकृति र विसंगति निम्तिएको, हत्याहिंसा बढेको, अमेरिकी नागरिकको रोजगारी खोसिएको लगायतका समस्या देखिएको राष्ट्रपति ट्रम्पको भनाइ छ । उनले हरेक वर्ष कैयौं अमेरिकीको मृत्युको कारण बनेको लागूऔषध प्रवेश रोक्न पनि सीमामा पर्खाल आवश्यक भएको दोहोर्‍याएका छन् ।

‘हरेक साता ३ सय नागरिक हेरोइनका कारण मात्र मरिरहेका छन्, ९० प्रतिशत हेरोइन दक्षिणी सीमाबाट भित्रन्छन्, भियतनाम युद्धमा मारिनेभन्दा बढी अमेरिकीको मृत्यु यस वर्ष लागूऔषधका कारण हुनेछ,’ उनले भने ।


आफूले संसदका नेतालाई छलफलका लागि आमन्त्रण गरेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका सन्दर्भमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्षम हुने आशा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनु नै उत्तम हुने कुरामा जोड दिँदै ट्रम्पले त्यसबाट मात्रै अमेरिकी सीमाको सुरक्षा हुने दाबी गरे ।

यसअघि उनले पर्खालका विषयमा संसदमा सहमति नभए राष्ट्रिय संकटकाल नै घोषणा गर्ने चेतावनी दिएका थिए । मंगलबारको सम्बोधनमा भने उनले संकटकालको विषय उल्लेख गरेनन् । ट्रम्पले संघीय कार्यालय बन्दमा डेमोक्रयाटस्लाई दोषी ठहर्‍याएका छन् ।


राष्ट्रपतिको सम्बोधनलगत्तै विपक्षी डेमोक्रयाटिक पार्टीका नेताले संघीय कार्यालय बन्द राखेर नागरिकलाई बन्धक बनाइएको आरोप लगाएका छन् । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटमा अल्पमतका नेता चुक समरले पर्खालका लागि राष्ट्रपतिले माग गरेको रकम अनावश्यक रहेको दाबी गरे ।

दुवै नेताले राष्ट्रपतिले तत्काल संघीय कार्यालय खुला गर्नुपर्ने पनि माग गरेका छन् । रिपब्लिकन सांसदको बहुमत भएको सिनेटबाट पर्खालको बजेटसम्बन्धी विधेयक पारित भए पनि डेमोक्रयाटको नियन्त्रणमा रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्सले सहमति दिएको छैन ।


प्रकाशित : पुस २५, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?