ट्रम्पले बाईबाई भन्दै वार्ता छोडे 

एएफपी

वासिङटन — अमेरिकी संघीय सरकार बन्द खुलाउने प्रयासका लागि भएको वार्ता निष्कर्षहीन बन्न पुगेको छ । डेमोक्रयाटिक पार्टीका नेताहरूसँग बिहीबार भएको बैठक कक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिरिएपछि १९ औं दिनदेखि जारी सरकार बन्द थप लम्बिएको छ । 

वार्ताबाट सहमति नहुने दाबी गर्दै ट्रम्प बाईबाई भन्दै अचानक बाहिरिएका हुन् । राष्ट्रपति ट्रम्पले डेमोक्रयाट नेताहरुसँगको वार्ता ‘समयको बर्बादी’ भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘चक र नान्सी सहभागी बैठकमा समय पूरै खेर गयो ।’

ट्रम्पले बैठकमा ‘सरकारी खर्च खोलिदिए सीमामा स्टिलको पर्खाल बनाउने बजेट छुटयाउन अनुमति दिनुहुन्छ ?’ भनेर सोधेको बताए । तर सकारात्मक प्रतिक्रिया नआएकोले आफू बैठकबाट बिदा भएको ट्रम्पको भनाइ छ । उनले भने, मसँग त्यसो गर्नुको कुनै विकल्प थिएन ।’
अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसी र विपक्षी नेता चक सुमरले मेक्सिको–अमेरिका सीमामा प्रस्तावित पर्खाल निर्माणका लागि बजेट थप्न नसकिने बताएपछि राष्ट्रपति चुनिएका ट्रम्पले वार्ता छोडेका हुन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सीमामा पर्खाल निर्माणको प्रतिबद्धता जनाएका थिए ।

डमोक्रयाटहरुले राष्ट्रपति आवेगमा आएको आरोप लगाएका छन् । ‘उनले टेबल ठटाए, त्यसपछि उठे र हिँडे,’ सुमरले पत्रकारहरुसँग भने । ‘उनले सभामुख नान्सीलाई सोधे तपाईंहरू सहमत हुनुहुन्छ । उनले भनिन् छैनौं,’ डेमोक्रयाटिक नेता सुमरले बैठकबारे भने, ‘त्यसपछि उनी उठे र बैठकको कुनै अर्थ छैन भन्दै हिँडे । उनले फेरि रिस र घुर्की देखाए ।’ बीबीसीका अनुसार दुई पक्षबीचको वार्ता केवल १४ मिनेट मात्र चलेको थियो ।

सुमरले ट्रम्पलाई सोधे, ‘तपाईंले सर्वसाधारणलाई किन प्रयोग गरिरहनुभएको छ । तपाईं किन सरकार बन्द फिर्ता लिएर मानिसलाई दु:ख दिन किन रोक्नुहुन्न ?’ ह्वाइटहाउसका एक अधिकारीका अनुसार ट्रम्पले भने, ‘म देशका लागि राम्रो काम गर्ने प्रयास गरिरहेको छु । यो राजनीतिको मात्र विषय होइन ।’

तर सुमरका अनुसार ‘त्यसलगत्तै राष्ट्रपतिले टेबल ठटाए, जुरुक्क उठे र वार्ताबाट बाहिरिए ।’ उपराष्ट्रपति माइक पेन्सले भने सुमरको भनाइलाई खण्डन गर्दै राष्ट्रपतिले टेबल नठटाएको दाबी गरे ।

सरकार बन्द सुरु भएपछि करिब ८ लाख संघीय कर्मचारी यो साता पहिलो पटक बेखर्ची बन्ने निश्चित भएको छ । राष्ट्रपति ट्रम्पले सीमाक्षेत्रमा स्टिल पर्खाल निर्माण गर्न तत्कालका लागि ५ अर्ब ७ करोड डलर बजेट माग गर्दै आएका छन् । तर हाउस अफ रेप्रिजेन्टेटिभ्समा बहुमत कायम रहेको विपक्षी दल डेमोक्रयाटले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको छ ।

ह्वाइटहाउस बाहिर दुवै पक्षका नेताहरूले गतिरोध लम्बिनुको दोष एकअर्कोलाई लगाइरहेका थिए । सभाभुख नान्सी पेलोसीले कर्मचारीको खर्च बन्द गर्ने कदमले ट्रम्पलाई ठूलो क्षति पुगेको दाबी गरिन् ।

राष्ट्रपतिले बुधबार ओभल अफिसबाट राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा मानवीय र सुरक्षा संकटका कारण सीमा पर्खाल निर्माण गर्नु अत्यावश्यक भएको बताएका थिए । यद्यपि, विपक्षीहरुले राष्ट्रपतिको भनाइको प्रतिक्रिया दिँदै ‘झूटो जोखिम’ को संज्ञा दिएका छन् ।

प्रकाशित : पुस २६, २०७५ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

समाचारमा आज : पोखराबाट श्रम स्वीकृतिदेखि वाइडबडी जहाज भ्रष्टाचारका दोषीलाई तत्काल कारबाही नगरिनेसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — बलियो बहुमतसहित बनेको नेकपा नेतृत्वको सरकारलाई वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार प्रकरणले ठूलो झट्का दिएको छ । संसद्को लेखा समितिले वहालवाला पर्यटनमन्त्रीसहितका अधिकारीहरुलाई कारबाही सिफारिस गरेपछि सरकारको चौतर्फी आलोचना भएको छ भने दोषीलाई उम्काउन खोजिएको आरोप पनि लगाइएको छ । त्यसलाई नै बल पुग्ने गरी सरकारले संसदीय समिति सर्वेसर्वा होइन भन्दै आफै आयोग गठन गर्‍यो । बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले झनै जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई सरकारले तत्काल कारबाही नगर्ने जनाए ।

नवलपुरको पिठौलीका ३७ वर्षीय खड्कबहादुर गुरुङलाई मकाउ जानका लागि पुन: श्रम स्वीकृतिसहित राहदानी हस्तान्तरण गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट । पोखराबाट पुन: श्रम स्वीकति पाउने गुरुङ पहिलो हुन् । तस्बिर : लालप्रसाद शर्मा/कान्तिपुर ।

वाइडबडी भ्रष्टाचार काण्डमा मुछिएकालाई तत्काल कारबाही नगरिने :थप...

बम्जनका अनुयायी प्रहरी नियन्त्रणमा :यौन हिंसा र हत्या अभियोग लागेका तपस्वी भनिने रामबहादुर बम्जनको आश्रममा प्रहरीले केही हप्तादेखि निगरानी बढाएको छ। बम्जनलाई नै पक्राउ गर्नुपर्ने संसद्‌माआवाज उठाइरहेको बेलाबिहीबार प्रहरीले सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि भन्दै उनका दुई अनुयायी नियन्त्रणमा लियो। थप...

पोखराबाट श्रम स्वीकृति सुरु :नयाँ संविधान जारी पछि देश नयाँ संरचनामा लागिएकाे छ, त्यो हो संघीयता । यो व्यवस्था लागू गरिए पनि स्थानीय तह र प्रदेशले अधिकार, कर्मचारी नपाएको गुनासो गरिरहेकै छन् । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिए बमोजिम काम नभए पनि विस्तारै विस्तारै सेवा, सुविधा विकेन्द्रिकृत भएको पनि देखिन्छ । जसकारण सर्वसाधारणले काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै जाने छ। बिहीबार गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति दिन थालिएको छ ।थप...

ठगीको अनेक चाल : सरकारले देशमा शान्ति सुरक्षाको अवस्था मजबुत भएको दाबी गरिरहेको छ । तर, हत्या, हिंसा, बलात्कार र चोरी डकैतीका घटना कम भएका छैनन् । सतही ढंगले अनुसन्धान गर्ने प्रचलनले हरेक क्षेत्रका अनियमितता र संलग्नको पहिचान गर्न सकेको देखिँदैन । जसका कारण पेशेवर ठगी, लुटपाट र गलत कार्यमा लाग्नेहरुले आफ्नो धन्दा चलाइरहेकै छन् । त्यस्तै घटनामा संलग्नमध्ये तीनवटा नागरिकता बोक्ने ‘नटवरलाल’ को ठगी धन्दा बिहीबार सार्वजनिक भयो ।थप...

मन्त्रिपरिषद् निर्णय सार्वजनिक ।सरकारले प्रत्येक बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न भनी पत्रकार सम्मेलन गर्दै आएको छ। बिहीबारको पत्रकार सम्मेलनमा सरकारले ७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको,१३ जना महसेनानीलाई सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिइयो। यस्तै सरकारले नयाँ मर्यदाक्रम समेत सार्वजनिक गरेको छ।थप...

प्रकाशित : पुस २६, २०७५ २०:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT