२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

ट्रम्पले बाईबाई भन्दै वार्ता छोडे 

एएफपी

वासिङटन — अमेरिकी संघीय सरकार बन्द खुलाउने प्रयासका लागि भएको वार्ता निष्कर्षहीन बन्न पुगेको छ । 
डेमोक्रयाटिक पार्टीका नेताहरूसँग बिहीबार भएको बैठक कक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिरिएपछि १९ औं दिनदेखि जारी सरकार बन्द थप लम्बिएको छ । 

ट्रम्पले बाईबाई भन्दै वार्ता छोडे 

वार्ताबाट सहमति नहुने दाबी गर्दै ट्रम्प बाईबाई भन्दै अचानक बाहिरिएका हुन् । राष्ट्रपति ट्रम्पले डेमोक्रयाट नेताहरुसँगको वार्ता ‘समयको बर्बादी’ भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘चक र नान्सी सहभागी बैठकमा समय पूरै खेर गयो ।’


ट्रम्पले बैठकमा ‘सरकारी खर्च खोलिदिए सीमामा स्टिलको पर्खाल बनाउने बजेट छुटयाउन अनुमति दिनुहुन्छ ?’ भनेर सोधेको बताए । तर सकारात्मक प्रतिक्रिया नआएकोले आफू बैठकबाट बिदा भएको ट्रम्पको भनाइ छ । उनले भने, मसँग त्यसो गर्नुको कुनै विकल्प थिएन ।’

अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसी र विपक्षी नेता चक सुमरले मेक्सिको–अमेरिका सीमामा प्रस्तावित पर्खाल निर्माणका लागि बजेट थप्न नसकिने बताएपछि राष्ट्रपति चुनिएका ट्रम्पले वार्ता छोडेका हुन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सीमामा पर्खाल निर्माणको प्रतिबद्धता जनाएका थिए ।


डमोक्रयाटहरुले राष्ट्रपति आवेगमा आएको आरोप लगाएका छन् । ‘उनले टेबल ठटाए, त्यसपछि उठे र हिँडे,’ सुमरले पत्रकारहरुसँग भने । ‘उनले सभामुख नान्सीलाई सोधे तपाईंहरू सहमत हुनुहुन्छ । उनले भनिन् छैनौं,’ डेमोक्रयाटिक नेता सुमरले बैठकबारे भने, ‘त्यसपछि उनी उठे र बैठकको कुनै अर्थ छैन भन्दै हिँडे । उनले फेरि रिस र घुर्की देखाए ।’ बीबीसीका अनुसार दुई पक्षबीचको वार्ता केवल १४ मिनेट मात्र चलेको थियो ।


सुमरले ट्रम्पलाई सोधे, ‘तपाईंले सर्वसाधारणलाई किन प्रयोग गरिरहनुभएको छ । तपाईं किन सरकार बन्द फिर्ता लिएर मानिसलाई दु:ख दिन किन रोक्नुहुन्न ?’ ह्वाइटहाउसका एक अधिकारीका अनुसार ट्रम्पले भने, ‘म देशका लागि राम्रो काम गर्ने प्रयास गरिरहेको छु । यो राजनीतिको मात्र विषय होइन ।’


तर सुमरका अनुसार ‘त्यसलगत्तै राष्ट्रपतिले टेबल ठटाए, जुरुक्क उठे र वार्ताबाट बाहिरिए ।’ उपराष्ट्रपति माइक पेन्सले भने सुमरको भनाइलाई खण्डन गर्दै राष्ट्रपतिले टेबल नठटाएको दाबी गरे ।


सरकार बन्द सुरु भएपछि करिब ८ लाख संघीय कर्मचारी यो साता पहिलो पटक बेखर्ची बन्ने निश्चित भएको छ । राष्ट्रपति ट्रम्पले सीमाक्षेत्रमा स्टिल पर्खाल निर्माण गर्न तत्कालका लागि ५ अर्ब ७ करोड डलर बजेट माग गर्दै आएका छन् । तर हाउस अफ रेप्रिजेन्टेटिभ्समा बहुमत कायम रहेको विपक्षी दल डेमोक्रयाटले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको छ ।


ह्वाइटहाउस बाहिर दुवै पक्षका नेताहरूले गतिरोध लम्बिनुको दोष एकअर्कोलाई लगाइरहेका थिए । सभाभुख नान्सी पेलोसीले कर्मचारीको खर्च बन्द गर्ने कदमले ट्रम्पलाई ठूलो क्षति पुगेको दाबी गरिन् ।


राष्ट्रपतिले बुधबार ओभल अफिसबाट राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा मानवीय र सुरक्षा संकटका कारण सीमा पर्खाल निर्माण गर्नु अत्यावश्यक भएको बताएका थिए । यद्यपि, विपक्षीहरुले राष्ट्रपतिको भनाइको प्रतिक्रिया दिँदै ‘झूटो जोखिम’ को संज्ञा दिएका छन् ।


प्रकाशित : पुस २६, २०७५ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?