२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘व्यापार विवाद चाँडै समाधान हुन्छ’

एएफपी

बेइजिङ — चीनले अमेरिकी प्रतिनिधिमण्डलसँग भएको वार्तामा उल्लेख्य प्रगति भएको जनाउँदै व्यापार विवाद चाँडै समाधान हुने बताएको छ । बेइजिङमा भएको वार्तामा दुई देशबीच जारी व्यापार विवाद समाधान गर्ने आधार तयार भएको चीनले बिहीबार जनाएको छ ।

‘व्यापार विवाद चाँडै समाधान हुन्छ’

अमेरिका र चीनबीच लामा समयदेखि जारी व्यापार विवाद अन्त्यका लागि वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार बेइजिङ पुगेको थियो । गत डिसेम्बरमा जी–२० सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई देशले गरेको करवृद्धि ९० दिनका लागि नबढाउने सहमति गरेका थिए ।


उनीहरूबीच समस्या समाधानका लागि वार्ता गर्ने निर्णय भएबमोजिम अमेरिकी प्रतिनिधिमण्डल चीन पुगेको हो । ‘दुवै देशका वार्ता टोलीले ‘सविस्तार, गहिराइमा पुगेर र सावधानीपूर्वक’ विचारहरूको आदानप्रदान गरेका छन् । जसले आपसी समझदारी बढेको छ र आपसी चासोका विषय समाधान गर्ने आधार तयार भएको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षले निकट सम्बन्धलाई स्थापित गर्दै अघि बढ्ने विषयमा सहमति भएको छ ।’


दुई देशबीचको वार्तामा आगामी मार्चयता व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धि रोक्ने विषयमा दुवै पक्ष सकारात्मक भएको जनाइएको छ । वार्तामा अमेरिकी पक्षले आफ्ना प्रविधि र बौद्धिक सम्पत्तिको बलजफती रूपान्तरण र चोरी गरेको आरोप लगाउनुका साथै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धराशयी पार्ने प्रवृत्ति रोक्न माग गरेको छ । यसबारे सोधिएको प्रश्नमा चीनका वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, ‘वार्तामा संरचनागत विषयलाई केन्द्रित गरिएको छ ।’


बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककिन्नीले भने, ‘वार्ता निकै सकारात्मक भएको छ ।’ गत मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए ।

अमेरिकाले व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको र चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन आग्रह गरेको छ ।


अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई बुधबार दिएको अन्तर्वार्तामा दुवै मुलुकबीच सम्झौता हुने प्रवल सम्भावना रहेको बताएका थिए । ‘व्यापार युद्धबाट चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरू मुलुकको भन्दा बढी सामान अमेरिकामै बिक्री गर्दछ ।’

प्रकाशित : पुस २७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?