कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

फेलिक्स कंगोका राष्ट्रपति 

एएफपी

किन्सासा — प्रजातान्त्रिक गणतन्त्र कंगोका विपक्षी नेता फेलिक्स सिसेकेडी राष्ट्रपति पदमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

फेलिक्स कंगोका राष्ट्रपति 

‘चुनावमा खसेको मतको सबैभन्दा बढी अर्थात् करिब ३९ प्रतिशत मत ल्याएर फेलिक्स सिसेकेडी कंगोको राष्ट्रपतिमा चयन हुनुभएको छ,’ स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले भने ।


बिहीबार बिहान निर्वाचन परिणाम घोषणा भएलगत्तै प्रतिस्पर्धी मार्टिन फायुलुले ‘चुनावी कु’ भएको प्रतिक्रिया दिएका छन् । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरे । ‘चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,’ फायुलुले रेडियो फ्रान्स इन्टरनेसनलसँग भने ।


उनको प्रतिक्रियासँगै कंगोमा थप हिंसा भड्कने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले ‘सबै पक्षलाई शान्त रहन तथा हिंसात्मक गतिविधिबाट टाढै रहन’ आग्रह गरेका छन् ।


गृहयुद्धको मार खेपिरहेको कंगोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटकका ढिलाइका कारण कंगोमा हिंसात्मक घटनामा वृद्धि हुँदै आएका थिए । निर्वाचित भएलगत्तै फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।


उनले हत्या हिंसाको शृखंलाबीच मुलुकको नेतृत्वमा रहेका राष्ट्रपति जोसेफ काबिलालाई ‘लोकतान्त्रिक परिवर्तनका साझेदार’ का रूपमा हेर्न आमजनतासमक्ष आग्रह गरे । विगत १८ वर्षदेखि राष्ट्रपति रहेका काबिलाले भने उम्मेदवारी दिएका थिएनन् । सन् १९६० मा बेल्जियमबाट स्वतन्त्र भएयता कंगोमा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुन सकेको छैन । चुनावी नतिजा सार्वजनिक हुनासाथ सिसेकेडीका समर्थकहरूले खुसियाली मनाएका थिए ।


‘म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञ छु । हामीले उहाँलाई कहिल्यै बैरीका रूपमा हेर्ने छैनौं,’ सिसेकेडीले समर्थकलाई सम्बोधन गर्दै भने । राष्ट्रपति जोसेफ काबिलाको समर्थनमा प्रतिस्पर्धा गरेका इम्मानुएल रामाजानी साडारीले तेस्रो स्थानमा चित्त बुझाए ।


उनले २४ प्रतिशत मत प्राप्त गरे । चुनावी अभियानका क्रममा सिसेकेडीले कंगोमा कानुनी शासन स्थापित गर्ने, भ्रष्टाचारविरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने बताएका थिए । तर आलोचकहरूले उनमा अनुभवको कमी रहेको बताउने गरेका छन् ।

प्रकाशित : पुस २७, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?