३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उत्तर प्रदेशमा चुनावी गठबन्धन : भाजपा र कंग्रेसलाई झड्का

अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र मायावतीको बहुजन समाज पार्टीबीचको चुनावी गठबन्धनले भाजपा र कंग्रेस निराश

नयाँदिल्ली — जनसंख्याका हिसाबले भारतको सबभन्दा ठूलो राज्य उत्तरप्रदेशमा परम्परागत राजनीतिक प्रतिस्पर्धी समाजवादी र बहुजन समाज आगामी लोकसभा चुनावमा गठबन्धन बनाएर जाने घोषणाले भारतको राजनीतिमा तरंग उत्पन्न भएको छ ।

भारतमा लोकसभा चुनावलाई लक्षित गर्दै नयाँ गठबन्धन बन्ने र पुराना भत्कने सिलसिला एक वर्षयता जारी देखिन्छ । भारतको ५४५ (दुई जना मनोनीत) सदस्यीय लोकसभामा उत्तर प्रदेशबाट ८० जना चुनिन्छन् । उत्तर प्रदेशको चुनावी परिणामले दिल्लीमा बन्ने सरकारको तस्बिर कोर्ने अनुमान गरिन्छ । त्यसकारण पनि उत्तर प्रदेशमा देखिएको परिदृश्यले केन्द्रीय राजनीतिमा विशेष महत्त्व राख्छ ।


२०१४ मा भारतीय जनता पार्टी (भाजपा) ले ७१ सिट जितेको थियो । समाजवादी र बहुजन समाजवादीबीच ३८/३८ सिटको बाँडफाँडसहित चुनावी गठबन्धन बनेको हो । राजधानी लखनउमा शुक्रबार आयोजित कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले संयुक्तरूपमा त्यस्ता घोषणा गरेका हुन् ।


बाँकी सिटमा कंग्रेस र अन्य साझेदार दललाई सहयोग गर्ने घोषणा उनीहरूले जनाए । दुई दलबीचको गठबन्धनले सत्तारूढ भाजपाका लागि टाउको दुखाइ बन्ने निश्चित छ । कार्यक्रममा बोल्दै मायावतीले ‘अमित शाह र प्रधानमन्त्री मोदी’ को निद्रा हरण गर्न नयाँ गठबन्धन बनाइएको बताइन् । समाजवादी र बहुजन समाजवादीको गठबन्धनले मुलुकमा नयाँ राजनीतिक क्रान्ति ल्याउने उनको दाबी छ ।


दुई दलबीचको उतारचढावपूर्ण सम्बन्धका कारण पनि पछिल्लो गठबन्धनलाई रोचक मानिएको छ । कहिले निकट त कहिले शत्रुवत् सम्बन्ध रहँदै आएका दलबीच १९९३ को विधानसभा चुनावमा चुनावी गठबन्धन भएको थियो । चुनावमा समाजवादीले १०९ र बहुजनले ६८ सिट जितेका थिए । भाजपा १७७ सिटसहित पहिलो भए पनि दुई दल मिलेर सरकार बनाए । तर, डेढ वर्ष नबित्दै मायावती नेतृत्वको बहुजन गठबन्धन सरकारबाट बाहिरियो ।


सरकार छाड्ने निर्णय गरेको भोलिपल्ट लखनउको मीराबाई गेस्ट हाउसमा आफ्ना सांसदहरूसँग छलफल गरिरहेका बेला समाजवादी पार्टी कार्यकर्ताले मायावातीमाथि सांघातिक हमला गरे । उक्त घटना ‘गेस्टहाउस प्रकरण’ले चर्चित छ । २०१४ को चुनावमा नमिठो हार व्यहोरेपछि भने दुई दल मन माझ्ने प्रयासमा थिए । समाजवादी प्रमुख अखिलेश यादवले सार्वजनिक कार्यक्रममा मायावतीलाई बुआ (फुपू) भन्दै सम्मान प्रकट गर्छन् भने मायावातीले अखिलेश आफ्नो प्यारो बौआ (भदा) भएको बताउँछिन् ।


तर दुई दलको जनाधार भिन्न रहेकाले गठबन्धनले यसअघि जस्तो जनसमर्थन पाउने सम्भावना छैन । समाजवादीको प्रमुख जनाधार यादव जाति हो भने बहुजनको दलित र पिछडा वर्ग । दुई जातिबीचको सम्बन्ध त्यति सुमधुर छैन । मुस्लिम समुदायमा भने दुवै पार्टीको आआफ्नै दाबी छ । त्यसैले गठबन्धनले मतदाताबीचको दूरी कम गर्दै सत्तारूढ भाजपालाई पराजित गर्न त्यति सहज देखिँदैन ।


दुई दलको गठबन्धनले प्रमुख विपक्ष भारतीय राष्ट्रिय कंग्रेसलाई पनि निराश बनाएको छ । किनकि गठबन्धनले यूपीमा कांग्रेसलाई अध्यक्ष राहुल गान्धीको चुनावी क्षेत्र अमेठी र सोनिया गान्धीको चुनावी क्षेत्र रायबरेलीको सिट मात्र छाड्ने घोषणा गरेका छन् । बाँकी सिट क्षेत्रीय दलका लागि छाडिएको छ ।


चुनावी गठबन्धनपूर्व अखिलेश र मायावतीले आफूहरूसँग सल्लाह नगरेको भन्दै कंग्रेसका कतिपय नेता रुष्ट छन् । तर गान्धीले चुनावी गठजोड सामान्य भएको बताए । उनले अखिलेश र मायावातीप्रति आफ्नो अगाध सम्मान रहेको बताएर भाजपाविरुद्ध विपक्षीको देशव्यापी गठबन्धनका लागि अझै पनि बाटो खुला रहेको संकेत गरे ।


यद्यपि, कंग्रेसले भने उत्तर प्रदेशका सबै ८० सिटमा प्रतिस्पर्धा गर्ने जनाएको छ । आइतबार आयोजित कार्यक्रममा कंग्रेस नेता गुलाम नाबी आजदले उक्त घोषणा गरेका हुन् । आजदले उत्तर प्रदेश कंग्रेस प्रमुख राज बब्बरले स्थानीय नेताहरूसँगको छलफलपछि उक्त टुंगोमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


समाजवादी र बहुजन समाजले २०१४ को चुनाव ल्याएको मतका आधारमा सिट बाँडेको जनाएका छन् । चुनावमा भाजपाले ८० मध्ये ७१ सिट जितेको थियो भने भाजपाकै गठबन्धन दलले बाँकी २ सिट । २०१७ को विधानसभा चुनावमा समाजवादी र बहुजनले २२/२२ प्रतिशत मत पाएका थिए । भाजपा एक्लैले ४२.६ प्रतिशत ल्याएको थियो ।


चुनावमा समाजवादीले ४७ र बहुजनले १९ सिट मात्र जिते । भाजपा नेतृत्वको गठबन्धनले ३२५ सिट जितेको थियो । दुई दलले अघिल्ला चुनावकै हारहारीमा भोट पाएको खण्डमा उत्तरप्रदेशमा मात्रै भाजपाले ५० लोकसभा सिट गुमाउने भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । उनीहरूका अनुसार ५७ सिटको भाजपा २३ सिटमा खुम्चिनेछ ।


समाजवादी र बहुजन गठबन्धनप्रति सत्तारूढ दलका नेताले दिएको प्रतिक्रियाबाट पनि भाजपा दबाबमा पर्न थालेको प्रस्ट हुन्छ । बहुजन प्रमुख मायावतीले ‘राजनीतिक क्रान्ति’ दाबी गरेको गठबन्धनप्रति यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले तिखो प्रहार गरेका छन् । नयाँदिल्लीमा भएको भाजपा राष्ट्रिय परिषद् भेलामा योगीले गठबन्धन स्वार्थ प्रेरित रहेको भन्दै आलोचना गरे । योगीको टिप्पणीबाट पनि गठबन्धनले भाजपाको ढुकढुकी बढाएको प्रस्ट हुन्छ ।

प्रकाशित : पुस ३०, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?