१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्यास्ट्रो र गवार्ड राष्ट्रपतिका प्रत्याशी 

एजेन्सी

वासिङ्टन — अमेरिकी विपक्षी दल डेमोक्रयाटिकका तर्फबाट दुई शीर्ष राजनीतिज्ञले सन् २०२० मा हुने राष्ट्रपतीय चुनावको उम्मेदवारका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । 

क्यास्ट्रो र गवार्ड राष्ट्रपतिका प्रत्याशी 

जुलियन क्यास्ट्रोले आइतबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने तुल्सी गबार्डले यसै साता औपचारिक घोषणा गर्ने जनाएकी छन् । क्यास्ट्रो राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा उत्रने पहिलो ल्याटिन अमेरिकी मूलका हुनेछन् भने गबार्ड पहिलो हिन्दु महिला ।

यसअघि राष्ट्रपतिको प्रत्याशीमा जोन डिलानीले करिब १ वर्ष अघिदेखि नै आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । त्यसैगरी, गत महिना सिनेटर एलिजाबेथ वारेनले चुनावमा प्रतिस्पर्धा गर्ने जनाएकी थिइन् ।


क्यास्ट्रोले टेक्सासको सान एन्टोनियोस्थित आफ्नो घरमा उम्मेदवारीका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् । उनी सन् २००९ देखि २०१४ सम्म सान एन्टोनियको मेयर थिए ।


४४ वर्षीय क्यास्ट्रो पार्टीमा उदाउँदो नेताका रूपमा चिनिन्छन् । उनी बाराक ओबामाको राष्ट्रपति कार्यकालमा हाउजिङ मन्त्री समेत थिए । अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई ओबामाको दह्रो समर्थन रहेको जनाएका छन् ।


उनकी हजुरआमा मेक्सिकोकी हुन् । उनी मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको योजनाको कट्टर विरोधी हुन् । चुनावी स्पर्धाको घोषणा गर्दै उनले भने, ‘हामी पर्खाल निर्माणलाई भन्दा समुदाय निर्माणलाई स्वीकार गर्छौं ।’ यद्यपि, उनी पार्टीबाहिर खासै लोकप्रिय नभएकाले उम्मेदवारी आफ्नो पक्षमा पार्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।


त्यसैगरी, हवाई राज्यबाट निर्वाचित तुल्सी गबार्डको जन्म १९८१ मा अमेरिकी समोआमा भएको हो । उनी २१ वर्षको उमेरमा अमेरिकाकै कम उमेरको निर्वाचित प्रतिनिधि बनेकी थिइन् ।


राज्यका सिनेटर माइक गबार्डकी छोरी तुल्सीले आफ्नो पहिलो कार्यकालमा स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्दै स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनलाई कर छुट दिने कानुन बनाउने विषयलाई समर्थन गरेकी थिइन् ।


त्यसपछि उनी हवाई आर्मी नेसनल गार्ड सर्भिसमा सामिल भएर एक वर्षसम्म इराक युद्धमा होमिइन् । सन् २०१५ मा अमेरिकी सेनाको मेजर पदमा पुगेकी उनको वर्तमान समयमा पनि सेनासँग राम्रो सम्बन्ध छ ।


उनले राष्ट्रपतिका लागि दाबेदारी प्रस्तुत गरेलगत्तै ट्वीटर मार्फत उनी भारतभर चर्चित बनिन् । तर उनको भारतसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन । तर हिन्दु धर्मावलम्बी भएका कारण अमेरिकाको भारतीय समुदायले उनको समर्थन गर्छ । उनी अमेरिकी संसद्मा पुग्ने पहिलो हिन्दु महिला पनि हुन् ।


उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी समर्थक पनि हुन् । २०१४ मा प्रधानमन्त्री हुनु अघिदेखि नै गबार्ड मोदीको समर्थन गर्थिन् । उनले सन् २००२ मा गुजरातमा भएका साम्प्रदायिक दंगाका कारण तत्कालीन मुख्यमन्त्री मोदीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्धको खुलेरै आलोचना गरेकी थिइन् ।


केही वर्ष पहिले हिन्दु रीतिरिवाज अनुसार विवाह गरेकी तुल्सी गबार्डलाई रिपब्लिकन दलका मानिसले पनि मन पराउँछन् । सन् २०१६ मा उनले राष्ट्रपतीय चुनावताका डेमोक्रयाटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टनको साटो बर्नी सेन्डर्सको उम्मेदवारीको समर्थन गरेकी थिइन् ।


अमेरिकाको राष्ट्रपतीय चुनावमा सामान्यतया पहिलो कार्यकाल चलाएका राष्ट्रपति नै उनको दलको तर्फबाट पुन: उमेद्वार हुने प्रचलन छ । त्यसकारण तुल्सी डेमोक्रयाटिक दलको आधिकारिक उम्मेदवार हुन सके ट्रम्पको सामना गर्नुपर्ने प्राय: निश्चित छ ।

प्रकाशित : पुस ३०, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?