१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अत्यधिक गर्मीका कारण अस्ट्रेलियामा लाखौँ माछा मरे

सरकारद्वारा ५० लाख डलरको सहयोग घोषणा
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा भएको अत्यधिक गर्मीका कारण न्यू साउथ वेल्स राज्यमा लाखौँ माछाहरू मरेका छन् । अस्ट्रेलियाको केही क्षेत्रहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ ।

अत्यधिक गर्मीका कारण अस्ट्रेलियामा लाखौँ माछा मरे

अस्ट्रेलियाको न्यू साउथ वेल्स, साउथ अस्ट्रेलिया, पश्चिम अस्ट्रेलिया, भिक्टोरिया तथा तास्मानिया राज्यका केही क्षेत्रहरूमा केहीदिन तापक्रम अत्यधिक हुने यहाँस्थित तापक्रम मापन केन्द्रले पूर्वानुमान गरेको छ ।


तापक्रम ४५ डिग्रीभन्दा माथि पुगेपछि न्यू साउथ वेल्सको मेनिन्डिमा १० लाखबढी माछाहरू मृत भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । अत्यधिक गर्मीकै कारण यो समस्या अझ बढ्न सक्ने अस्ट्रेलियाका कृषिमन्त्री डेभिड लिटल प्राउडले बताएका छन् । लाखौँको सङ्ख्यामा माछाहरू मरेपछि सरकारले ५० लाख डलर (करिब ४० करोड रुपैयाँ) सहयोगको घोषणा गरेको छ । जुन मृत माछाहरू सफा गर्न र माछाहरूलाई पुनस्थापना गर्न प्रयोग गरिने बताइएको छ ।


अत्यधिक गर्मीकै कारण दक्षिण अस्ट्रेलियामा सुरु भएको विश्वस्तरीय साइक्लिङ प्रतियोगिता (टुर डाउन अन्डर) समेत प्रभावित भएको छ भने सोमबारदेखि मेलबर्नमा सुरु भएको वर्षकै पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन प्रतियोगितामा समेत आवश्यकता अनुसार १० मिनेटको ‘हिट स्ट्रस ब्रेक’ दिने नियम यसवर्षदेखि लागू गरिएको छ ।


तापक्रम वृद्धिलाई लिएर यहाँका वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यो चिन्ताजनक इकोलोजिकल अवस्था भएको बताएका छन् । स्थानीय बासिन्दाहरूले मृत माछाहरू तत्काल नहटाइए यो समस्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।


अस्ट्रेलिया हरेक वर्ष प्रकृतिको फरक फरक समस्यामा पर्ने गरेको छ । हरेक वर्ष यहाँ बाढी, सुख्खा तथा आगोले समस्या सृजना गर्ने गरेको छ । विभिन्न राज्यहरूमा गर्मीको समयमा हरेक वर्ष आगलागीका घटनाहरू हुने गरेका छन् । आगलागीका कारण लाखौँ डलरको क्षति हुने गरेको छ । बाढीले पनि धेरै क्षति हुने गरेको छ । एकवर्षअघि मात्र सुख्खाका कारण सरकारले केही राज्यहरूमा सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्दै दसौँ लाख डलरको सहयोग दिएको थियो ।

प्रकाशित : पुस ३०, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?