१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कुम्भ मेला : १२ करोड सहभागीका लागि तयारी 

एजेन्सी

अलाहवाद, भारत — भारतमा आयोजना आजदेखि हुने कुम्भ मेलाका लागि अधिकारीहरुले तयारी पूरा भइसकेको जनाएका छन् ।

कुम्भ मेला : १२ करोड सहभागीका लागि तयारी 

संसारकै सबैभन्दा ठूलो मानिने मेलाका अवसरमा करिब १२ करोड मानिसले गंगा, जमुना तथा पुराणहरुमा वर्णित सरस्वती नदीको संगम स्थलमा स्नान गर्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


हिन्दू धर्मावलम्बीहरूले भारतमा पवित्र मानिने नदीको संगममा स्थान गर्दा पापमोचन हुने र मोक्ष प्राप्त हुने विश्वास गर्छन् । मेला भारतको उत्तरी सहर अलाहवादमा हुँदै छ । पौराणिक समयदेखि नै ठूलो तीर्थस्थल मानिँदै आएको अलाहवादलाई हालसालै प्रयागराज नामकरण गरिएको छ ।


मकर (माघे) संक्रान्तिका दिनबाट सुरु हुने मेला आगामी मार्च ४ सम्म चल्नेछ । तर फ्रेब्रुअरी ४ मा स्नान गर्नु सबैभन्दा उत्तम हुने बताइएको छ । उक्त दिन करिब ३ करोड तीर्थालु मेलामा पुग्ने अनुमान छ । अन्य दिनमा भने औसतमा डेढदेखि २ करोडले मेलाको भ्रमण गर्ने जनाइएको छ ।


मेलामा आउनेहरुलाई बस्न नदी किनारमा पालको एक विशाल अस्थायी नगर स्थापना गरिएको छ । ‘हामी एक वर्षभन्दा लामो समयदेखि यहाँ काम गरिरहेका छौं,’ वरिष्ठ प्रशासकीय अधिकारी राजीव राईले बताए ।

उनका अनुसार करिब ६ हजार धार्मिक तथा सांस्कृतिक संघसंस्थालाई पाल टाँगेर सहर बनाउन विभिन्न भू–भाग छुट्याइएको बताए । राईले मेला आयोजना हुने क्षेत्र करिब ३२ वर्ग किलोमिटरमा फैलिएको छ ।


तीर्थालुहरुको सुविधाका लागि १ लाख २२ हजार शौचालय तथा ४ हजार २ सय उच्च स्तरका टेन्ट लगाइएको छ । त्यसैगरी १ हजार ५ सय रिक्सा तथा ५ सय बसहरु निरन्तर चलाइनेछ । सुरक्षाका लागि १० हजार प्रहरी खटाइएको छ । भित्रबाहिर गर्ने द्वारमा कडाइ गर्न ५ हजार कर्मचारीको व्यवस्था गरिएको छ ।


मेलाको आयोजना तथा व्यवस्थापनका लागि २८ अर्ब भारतीय रुपैयाँ खर्च हुने जनाइएको छ । भारतको राजधानी नयाँदिल्लीबाट करिब एक घण्टामा पुग्न सक्ने गरी मेला स्थलमा नयाँ विमानस्थल समेत निर्माण गरिएको छ । त्यसैगरी, एक हजार सीसीटीभी क्यामेरामार्फत तीर्थालुको भीड निगरानी गरिने जनाइएको छ ।


अलाहवादमा करिब ३ सय किलोमिटर नयाँ सडक निर्माण गरिएको छ भने कतिपयलाई फराकिलो बनाइएको छ । अधिकारीका अनुसार कम्तीमा ५ लाख गाडी रोक्न मिल्ने गरी पार्किङ क्षेत्रको व्यवस्था गरिएको छ । दैनिक ३५ लाख तीर्थालुले रेलबाट यात्रा गर्ने अनुमान गरिएको छ । रेलवे सेवाका प्रवक्ता अमित मालवियले नयाँ रेल सेवाको घोषणा गरिएको जनाए ।


खानाका लागि ५ ठूला अन्नभण्डार र १ सय ६० सुपथ मूल्य पसलहरू सञ्चालनमा छन् । खानेपानीको लागि मेला क्षेत्रमा १६० डिस्पेन्सर राखिएका छन् । कोही बिरामी वा घाइते भए औषधोपचारको समेत व्यवस्था छ ।


गत डिसेम्बर १ देखि सञ्चालन गरिएका सय शय्याको केन्द्रीय अस्पताल र १० साना अस्पतालमा १ सय ९३ चिकित्सक, करिब २ हजार पारामेडिकल र ८० आयुर्वेद चिकित्सकको व्यवस्था गरिएको छ ।


मेलाका दौरान हुने भागदौडका कारण दर्जनौं मानिसको मृत्यु हुनुका साथै सयौं घाइते हुने गरेका छन् । यसअघिको मेलाका क्रममा भएको भागदौडका कारण ४० जनाको ज्यान गएको थियो ।

प्रकाशित : पुस ३०, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?