२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

क्यानाडेलीलाई चीनमा मृत्युदण्ड 

दुई देशको सम्बन्ध थप तनावपूर्ण
गैरजिम्मेवार अभिव्यक्ति नदिन क्यानाडेली प्रधानमन्त्रीलाई चीनको चेतावनी
एएफपी

बेइजिङ — चीनको एक अदालतले लागूऔधष ओसारपसार मुद्दामा क्यानाडेली नागरिकलाई मृत्युदण्डको सजाय सुनाएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । चिनियाँ अदालतले रोबर्ट ल्योड सेलेनवर्गलाई लागूऔषध मुद्दामा दोषी ठहर गर्दै सोमबार मृत्युदण्डको फैसला सुनाएको हो । 

क्यानाडेलीलाई चीनमा मृत्युदण्ड 

क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले अदालतको फैसलाप्रति गम्भीर आपत्ति जनाएका छन् । ‘चीनले मनलागी ढंगले मृत्युदण्डको सजाय सुनाइरहेको विषयप्रति क्यानडा सरकार गम्भीर रूपमा चिन्तित छ । यो प्रवृत्ति हाम्रा अन्तर्राष्टि मित्रशक्तिका लागि पनि चिन्ताको विषय हुनु पर्दछ,’ उनले भने ।


ट्रुडोले भनाइलगत्तै चिनियाँ विदेश मन्त्रालयले उनको कडा अलोचना गरेको छ । मन्त्रालयले ट्रुडोले ‘दोहोरो मापदण्ड अपनाएको’ आरोप लगाउँदै ‘गैरजिम्मेवार अभिव्यक्ति नदिन’ चेतावनी दिएको छ ।


रोबर्ट ल्योड सेलेनवर्गलाई गत नोभेम्बरमा १५ वर्षको कैदसजाय सुनाइएको थियो । तर सोमबार एउटा अदालतले उनलाई लागूऔषध ओसारपसारको मुद्दामा दिइएको सजाय निकै कम भएको बताएको छ ।


सेलेनसवर्गका परिवारका सदस्यहरुले ‘आफूहरूको भयानक त्रास सत्यमा परिणत भएको’ प्रतिक्रिया दिएका छन् । ‘यो निकै दुर्भाग्यपूर्ण, डरलाग्दो र दु:खद स्थिति हो,’ सेलेनवर्गकी काकी लोरी नेल्सन जोन्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


पछिल्लो फैसलाको पुनरावेदनका लागि सेलेनवर्गसँग १० दिनको मात्र समय रहेको उनका वकिलले बताएका छन् ।


अमेरिकी अनुरोधपछि चिनियाँ टेलिकम कम्पनी हुवावेकी वरिष्ठ अधिकारी मङ्ग वान्जू क्यानडामा पक्राउ गरिएपछि सेलेनवर्गविरुद्धको मुद्दा चीनमा अनपेक्षित रूपमा पुनरावलोकन गरिएको हो ।

चीनले सेलेनवर्गको मुद्दाको सुनुवाइको समाचार संकलन गर्न अदालतमा विदेशी संवाददातालाई समेत बोलाएको थियो । सेलेनवर्गले आफू निर्दोष रहेको बताए पनि एक दिने सुनुवाइमै अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।


३६ वर्षीय सेलेनवर्गलाई सन् २०१४ मा चीनबाट २ सय २७ केजी एम फेटामाइन नामक लागूऔषध अस्ट्रेलिया ओसारपसार गर्ने योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो । गत नोभेम्बरमा १५ वर्षको जेल सजाय सुनाइएको भए पनि पुरावेदनपछि उत्तरपूर्वी सहर डालियानको उच्च अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।


अदालतले उनका नामको सबै सम्पत्ति जफत गर्ने फैसलासमेत गरेको छ । अदालतले पछिल्लो फैसला सुनाउनपूर्व सेलेनवर्गले भनेका थिए, ‘म लागूऔषध तस्कर होइन । म पर्यटकको रूपमा चीन आएको थिएँ ।’


हुवावे कम्पनीका संस्थापककी छोरीसमेत रहेकी मङ्ग पक्राउ परेलगत्तै चीनले २ क्यानाडेली नागरिकहरू पक्राउ गरेको थियो । पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र व्यापारी माइकल स्पेभरविरुद्ध चीनविरुद्ध जासुसी गरेको आरोप लगाइएको छ । चीनले उक्त घटना मङ्गको पक्राउसँग सम्बन्धित नरहेको बताए पनि विश्लेषकहरूले त्यो कदम बदलापूर्ण भएको दाबी गरेका छन् ।


क्यानडाको भ्यान्कुभरमा डिसेम्बर १ मा पक्राउ परेकी मङ्गलाई अदालतले धरौटीमा छाडिसेको छ । उनीविरुद्ध प्रतिबन्धको बेवास्ता गर्दै इरानलाई टेलिकम सामान बेच्ने कम्पनीसँग साँठगाँठ गरेको आरोप लागाइएको छ ।

प्रकाशित : माघ १, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?