कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायती प्रधानमन्त्रीलाई ब्रेक्जिट निल्नु न ओकल्नु

लन्डन — बेलायतको राजनीतिमा बितेका केही दिन अनपेक्षित घट्नाक्रम आइलाग्यो । बेलायत ईयूबाट बहिगर्मन (ब्रेक्जिट) राजनीतिक सरगर्मी निम्त्याउने मुख्य कारक थियो ।

बेलायती प्रधानमन्त्रीलाई ब्रेक्जिट निल्नु न ओकल्नु

बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदमा एक दिन अघि लज्जास्पद हार बेहोरिन् तर भोलिपल्ट विश्वासको मत जितेर आफ्नो पद जोगाएकी छन् । मेले बुधबार साँझ संसदमा भएको मतदानमा ३२५ मत पाइन् भने अविश्वास प्रस्तावको पक्षमा ३०६ सांसद उभिए ।


विश्वासको मत पाएसंगै प्रधानमन्त्री मेको पद जोगिएको छ यद्यपि उनलाई ब्रेक्जिट प्रक्रिया टुंगो लगाउन सहज छैन् ।


मेले एक दिन अघि मंगलबार सांझ बेलायती संसदमा प्रस्तुत गरेको ईयूबाट बहिगर्मन (ब्रेक्जिट) प्रस्ताव बहुमतले अस्वीकृत भए लगत्तै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मंगलबार मेको प्रस्तावको पक्षमा जम्मा २०२ मत परेको थियो भने विपक्षमा ४३२ सांसदले मत हालेका थिए ।


सत्तारुढ कन्जर्भेटिभ पार्टीकै ११८ सांसद र डियूपीका सांसदले समेत मेको प्रस्ताव विपक्षमा मत हालेका थिए । तर, बुधबार भने सत्तारुढ दलका सांसदहरु सबैले समर्थन गरेर मेले १९ मत बढिले जितिन् ।


विश्वासको मत जिते लगत्तै मेले प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिटमा एक वक्तव्य दिंदै अब अगाडिको बाटो पहिल्याउने बेला आएको बताइन् । सबै पार्टीका सांसदहरुलाई एकै ठाँउमा आएर ‘ब्रेक्जिट’ मुद्दा किनारा लगाउन आव्हान गर्दै उनले यो समय आफ्नो स्वार्थ पन्छाएर देश र जनताको हितमा लाग्ने बेला भएको धारणा समेत राखिन् ।


मेले आफ्नो ब्रेक्जिट प्रस्ताव सांसदहरुले नचाहेको स्पष्ट भइसकेको बताउंदै अब सबैको इच्छा र स्वीकार हुने रचनात्मक कार्य मिलेर गर्नुपर्नेमा जोड दिएकी छन् । ‘ईयू छाड्न बेलायती जनताले दिएको निर्देशन शिरोपर गर्नु मेरो कर्तव्य हो र मैले त्यो गरेँ’, मेले भनेकी छन् । जनमतसंग्रहपछि बेलायती जनता समक्ष गरेको प्रतिज्ञा पुरा गर्न आफू निरन्तर लागिरहने र ईयू छाड्ने उनले बताएकी छन् ।


मेले ब्रेक्जिट डिलबारे आफ्ना पार्टीका र डियूपी नेताहरुसंग छलफल गरिसकेको जनाइन् । उनले विपक्षी दलका नेता कोर्बिन वार्ताका लागि सहमत नहुनु दु:खद भएको धारणा राख्दै वार्ताको ढोका भने सधैं खुल्ला रहेको बताएकी छन् । कोर्बिनले भने सरकारले विश्वास गुमाइसकेको धारणा राखेका छन् ।


ब्रिटेन युरोपेली संघ (ईयू) बाट आउँदो मार्च २९ तारिख बाहिरिने तय भइसकेपनि यो अझै अन्यौलको घेरामा छ । मेले अब सबैले

स्वीकार्ने कस्तो ब्रेक्जिट सम्झौता ल्याउने हुन् चासोको विषय छ ।


यसअघि ५२४ दिन लामो छलफलपछि गत २५ नोभेम्बरमा ब्रसेल्समा आयोजित ईयू समिटमा प्रधानमन्त्री मेले प्रस्तुत गरेको ५८५ पृष्ठ लामो ब्रेक्जिट प्रस्ताव ईयूका २७ राष्ट्र प्रमुखले स्वीकारेका थिए । पछि २६ पेजको राजनीतिक घोषणामा सैद्धान्तिक सहमतिसमेत बनेको थियो ।


ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) को ५८५ पृष्ठ लामो दस्तावेजमा ब्रिटेनले ईयू छोड्दा डिभोर्स डिल अन्तर्गत ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, ईयू र यूके नागरिकका हक अधिकार सुनिश्चितता गर्नुपर्ने र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्डबीचको सीमा नरोकिने जस्ता कुरा उल्लेख गरिएको छ । यद्यपि यो प्रस्ताव संसदबाट भारी मत अन्तरले अस्वीकृत भइसकेको छ ।

प्रकाशित : माघ ३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?