१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

एएफपी

वासिङटन — अमेरिकी अधिकारीहरुले चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । 

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी कम्पनीको गोपनीयता, प्रविधि र रोजगारी खासेको आरोप लगाउँदै आएका छन् । उनले चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २ सय अर्ब डलर बराबरका चिनीयाँ सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन् । चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सामानमा करवृद्धि गरेको छ ।


अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोगमार्फत सूचना चोरी गरेको आरोपमा अमेरिकी नेतृत्वमा विश्वभर नै दबाब सिर्जना गरिएको छ ।


हुवावे र न्याय विभाग दुवैले उक्त समाचारका बारेमा कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।


तर, हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुंगिएको जनाएको छ । अमेरिकी जुरीको आदेशमा दुई कम्पनीबीच भएको व्यवसायिक साझेदारीमा कुनै नोक्सानी नभएको तथा जानाजान कुनै उपकरण हात नपारेको उल्लेख छ । तर, टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको छ ।


अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अरु बढाउने चर्चा सुरु भएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमै तिक्तता आएको छ ।

प्रकाशित : माघ ३, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?