१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भाजपा अध्यक्षलाई स्वाइन फ्लु

भाजपा नेतृत्वको सरकारविरुद्ध विपक्षी दल आक्रामक बनिरहेका बेला प्रमुख नेताहरू बिरामी पर्न थालेपछि त्यसको असर चुनावी प्रचारप्रसारमा समेत परेको छ

नयाँदिल्ली — भारतको संघीय संसद् लोकसभाको चुनावको नजिकिँदै गर्दा सत्तारूढ दलका प्रमुख नेताहरू एकपछि अर्को गर्दै अस्पताल भर्ना हुन थालेका छन् ।

भाजपा अध्यक्षलाई स्वाइन फ्लु

सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा अर्थमन्त्री अरुण जेटली उपचाररत रहेका बेला पार्टी अध्यक्ष अमित शाह पनि बिरामी परेका छन् ।


पार्टीलाई पुन: सत्तासीन गराउन चुनावी रणनीति र प्रचारप्रसारमा खटिरहेका बेला शाह नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टियुट अफ मेडिकल साइन्स (एम्स) मा भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई स्वाइन फ्लु (एचवानएनवान भाइरस) को संक्रमण देखा परेको छ ।


ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखा परेपछि बुधबार उनको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य परीक्षण रिपोर्टले स्वाइन फ्लु पुष्टि गरेपछि उनलाई बिहीबार बिहान अस्पताल भर्ना गरिएको हो ।


शाह निकट स्रोतका अनुसार हाल उनलाई चिकित्सकको निगरानीमा ‘आइसोलेसन’ वार्डमा राखिएको छ । भाजपा अध्यक्ष शाह बुधबार मात्रै गुजरातबाट दिल्ली आएका थिए ।


अस्पताल भर्ना भएपछि शाह स्वयंले ट्वीटरमा लेखेका छन्, ‘मलाई स्वाइन् फ्लु भएको छ, त्यसको उपचार चलिरहेको छ, भगवान्को कृपा र तपाईंहरूको सबैको प्रेम तथा शुभकामनाले म छिट्टै स्वस्थ्य हुनेछु ।’


भाजपाका अर्का वरिष्ठ नेता एवं भारतीय अर्थमन्त्री अरुण जेटलीको उपचार अमेरिकामा चलिरहेको छ । दस महिनाअघि एम्समै मृगौला प्रत्यारोपण गरेका जेटलीलाई क्यान्सर देखिएपछि उपचारका लागि अमेरिका पुगेका हुन् । भाजपा नेतृत्वको सरकारविरुद्ध विपक्षी खनिएका बेला प्रमुख नेता एकपछि अर्को गर्दै बिरामी पर्न थालेपछि त्यसको असर चुनावी प्रचारप्रसारमा पर्ने आँकलनसमेत गरिएको छ । पार्टी अध्यक्ष शाह चुनावी रणनीति निर्माण र कार्यान्वयनमा पोख्त मानिन्छन् ।


प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले जेटलीको स्वास्थ्यलाभको कामना गरेका छन् । राफल लडाकु विमान खरिद प्रकरणमा जेटलीसँग वाक्युद्ध चलिरहेका बेला गान्धीले ट्वीटरमार्फत् भनेका छन्, ‘अरुण जेटलीजी बिरामी परेको सुन्दा मलाई दु:ख लागेको छ । दैनिकजसो हामीबीच विभिन्न विषयमा लडाइँ चलिरहेको छ । तैपनि म र मेरो पार्टी उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं ।’


एकपछि अर्को गर्दै भाजपाका वरिष्ठ नेताहरू बिरामी पर्नेमा शाह र जेटली मात्र होइनन्, अर्की वरिष्ठ नेता तथा विदेशमन्त्री सुषमा स्वराज पनि मृगौला प्रत्यारोपणपछि चिकित्सककै निगरानीमा औषधि सेवन गरिरहेकी छन् । उनलाई पटकपटक स्वास्थ्य जाँच (फलोअप) का लागि अस्पताल धाइरहनुपरेको छ । त्यस्तै गोवाका मुख्यमन्त्री मनोहर पारिकरसमेत प्यांक्रियाजको क्यान्सरबाट ग्रस्त छन् । पारिकरले पनि एम्समै उपचार गरेका थिए ।


आगामी मे महिनामा हुने भनिएको भारतीय तल्लो सदन लोकसभाको चुनावमा सत्तारूढ र प्रतिपक्षबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । ७४३ सदस्यीय (२ मनोनीत) लोकसभामा सबैभन्दा बढी सिट प्रतिनिधित्व गर्ने उत्तरप्रदेशमा विपक्षी समाजवादी पार्टी (सपा) र बहुजन समाजवादी पार्टी (बसपा) ले गत साता चुनावी गठबन्धन घोषणा गरेपछि भाजपालाई ५ वर्षअघिको चुनावी सफलता दोहोर्‍याउन प्राय: असम्भव नै छ ।


सन् २०१४ को लोकसभा चुनावमा भाजपा एक्लैले उत्तरप्रदेशको ८० मध्ये ७१ सिट जितको थियो । तर, भारतीय सञ्चारमाध्यमले सपा र बसपाको गठबन्धनले भाजपालाई ३० सिट जित्न पनि कठिन हुने आँकलन गरेका छन् ।

प्रकाशित : माघ ४, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?